site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
मैले देखेको छाउपडी 

पहिलोपल्ट रजस्वला (छाउ) हुँदा ७ दिन बुवा, दाजुभाइको मुख हेर्न हुँदैन भनेर दिदीबहिनीहरूले छाउगोठमा लगेर राख्छन् ! त्यसपछि क्रमश: कम्तीमा ५ दिन र बढीमा ७ दिन त्यसरी नै बस्नुपर्छ । यो पुर्खाले छाउ भएकी नारीलाई ५–७ दिन आरामको लागि दिएको समय हो कि ! किनभने त्यस अवधिमा रगत बग्ने र तल्लो पेट दुख्ने र गरुङ्गो वस्तु उचाल्न नमिल्ने हुन्छ ।

दुर्भाग्य, त्यस्तो पीडा भोक्दै गरेको नारीलाई अछुत बनाइयो गाई, फलफुललगायत केही वस्तु छुन नमिल्ने भनियो । चुलोचौका, पानीपधेरो र मन्दिर जाने त परको कुरा । हाम्रो गाउँमा छाउपडी नुहाउने धारो नै बेग्लै छ–तल्लो धारो । 

त्यसपछि छाउगोठ नै घर बन्छ । सर्प वा कुनै नरपिचासको नजर जब पर्छ अनि कतिपय नारीका लागि त्यही छाउगोठ अन्तिम घर बन्छ । त्यो ५ –७ दिनपछि छाउगोठबाट फर्किनु एक प्रकारको मृत्यु लाई जित्नु हो । मेरो समाज र सरकारले भने छाउगोठमा बलात्कृत र सर्पले डसेर मृत्यु भएकी नारीको समाचार न पढ्छ न त सुन्छ नै ! 

Dabur Nepal
NIC Asia

मैले जब यस विषयमा थोरै मात्रामा बुझ्न थालेँ अनि मैले एउटा प्रतिज्ञा गरेको थिएँ –मेरी दिदीलाई त छाउगोठमा बस्न मैले रोक्न सकिन तर मेरो वा दाजुकी छोरीलाई रोक्नुपर्छ । अहिले मेरो दाजुकी छोरी रजस्वला हुँदा सधैँ सुत्ने ओछ्यानमा नै सुत्छिन् ।

रजस्वला हुनु आमा बन्न सक्ने भएको सङ्केत हो । यो नारीलाई प्रकृतिले दिएको वरदान हो । के आमा बन्न सक्षम हुनु पाप हो ? यसलाई त हामीले उत्सवका रूपमा लिनुपर्ने हो । आखिर कहिलेसम्म नारी छाउगोठमा बलात्कार हुने ? कहिलेसम्म एक्लो घरमा सुत्दा सर्पको डसाइबाट मर्नुपर्ने ?

विश्वविद्यालय वा क्याम्पसमा पढ्दै गएको युवा घरमा जाँदा यस विषयमा के र कति बोल्छ ? उसमा आफ्ना दिदीबहिनीलाई रजस्वलाको समयमा एउटा सेनेटरी प्याड किनेर दिने सोचको विकास भयो कि भएन ? विडम्बना, त्यस्ता अधिकांश युवा बाहिर त हो तर घरमा यो मान्नुपर्छ भन्ने मानसिकता पो पाइन्छ । 

किन हामी यस विषयमा घरका अरू सदस्यसँग खुलेर बोल्न र समन्वय गर्न सकिरहेका छैनौ ? यो हामीले नगरे कसले गर्ने ? 

कहिलेकाहीँ लाग्छ, हाम्रो शिक्षा प्रणाली यति किन कमजोर भएको होला ? किन अहिलेसम्म महिनावारीबारे बुझाउन सकेको छैन, हाम्रो शिक्षाले ।

म वर्षमा कम्तीमा एकपटक गाउँ जान्छु । तर, अवस्था फरक देख्दिनँ । चेलीहरूलाई छाउगोठमै भेटाउँछु । र, उनीहरूलाई प्रश्न गर्छु– तिमीहरू अझै छाउगोठमा बस्छौ ?

उनीहरूको जवाफ हुन्छ– घरमा बस्दा देउता रिसाउँछन् । देउता रिसाएपछि घरभित्र सर्प आउँछ । मबाट सन्तान जन्मिदैनन्, माइती देउताले श्राप दिन्छन् ।

अनि सोच्छु, दुनियाँ कहाँ पुगिसक्यो, किन हामी यस्तै कुरामा अल्झिरहेका छौँ । हामीले कहिले बुझाउने ? कहिले बोल्ने ?

विश्वविद्यालयले त हामीलाई यस्ता कुप्रथा र विसङ्गतिप्रति जागरूक बनाउनुपर्ने हो । तैपनि, किन यो विषय हाम्रो चासो र प्राथमिकतामा पर्दैन ! यो समस्या महिलाको मात्र नभएर कहिले पुरुषको चासोको मामिला पनि बन्छ ? यो विषय हाम्रो साझा सवाल बन्न नसक्दासम्म समाजमा डरलाग्दो खाडलको रूपमा छाउपडी प्रथा रहिरहनेछ । यही ठानेर मैले सयौं वर्षदेखि हाम्रो समाजमा जरा गाडी बसेको छाउपडी नामको कुप्रथा मैले मेरो घरबाट सफाइ गरेको छु । अब तपाई आफ्नो घरबाट सफाइ गर्ने कि नगर्ने ? 

एउटै चाहना हो अब कुनै रजस्वला भएकौ नारी छाउगोठमा सर्पको टोकाइबाट मरेकी र बलात्कृत भएकी घटना/समाचार पढ्न र सुन्नु नपरोस् !

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro