काठमाडौं । युरो–२०२४ अन्तर्गत शनिबार राति भएका खेलमा पोर्चुगल र बेल्जियमले जित निकालेका छन् ।
शनिबार रातिको पहिलो खेलमा पोर्चुगलले टर्कीयाविरुद्ध ३–० को सहज जित निकालेको हो । पोर्चुगललाई जित दिलाउन बर्नार्डो सिल्भा र बु्रनो फर्नान्डेजले गोल गरे । पोर्चुगलले अर्को एक गोल भने टर्कीयाका समेत अकायदिनबाट आत्मघाती उपहार पाएका थिए ।
खेलको २१औँ मिनेटमा सिल्भाको गोलमा पोर्चुगलले अग्रता बनाएको थियो । २८औँ मिनेटमा अकायदिनबाट आत्मघाती गोल पाएपछि पोर्चुगलले अग्रता दोब्बर बनायो । यस्तै, ५५औँ मिनेटमा फर्नान्डेजले गोल गरेपछि पोर्चुगलले ३–० को जित सुनिश्चित गरेको हो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको टर्कीया दोस्रो स्थानमा छ । यो समूहमा पोर्चुगल र टर्कीयासँग चेक गणतन्त्र र जर्जिया छन् ।
यस्तै, शनिबार राति नै भएको अर्को खेलमा बेल्जियमले रोमानियाविरुद्ध २–० को जित निकालेको हो । बेल्जियमको जितमा युरी तेइलेमान्स र केभिन डी ब्रुयनाले गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै तेइलेमान्सको गोलमा बेल्जियमले अग्रता बनाएको थियो । ७९औँ मिनेटमा डी ब्रुयनाले गोल गरेपछि बेल्जियमले २–० को जित पक्का गरेको हो । जितसँगै दुई खेलबाट तीन अंक जोडेको बेल्जियम समूह ‘इ’ दोस्रो स्थानमा छ । समान खेलबाट तीन अंक नै जोडे पनि रोमानिया भने शीर्ष स्थानमा यथावत् छ ।