काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् ।
उनले सञ्चारकर्मीमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोसिस गरिरहेको जिकिर गरे । सरकारमा गएको सय दिन भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जबले मन्त्रालय चलाउने आधार बनेको बताए ।
उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस् भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे । रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभूति भएको उल्लेख गरे ।
“आज हामीले यसो समीक्षा पनि गरेर हेर्यौँ–कस्तो रहेछ, के रहेछ ? भनेर । समग्र रूपमा असाध्यै धेरै जिम्मेवारीपूर्ण भूमिकामा आइपुगिएछ भन्ने कुराको महसुस भएको छ । र, दुई वर्ष बितिरहँदाखेरी र आज जुन ठाउँमा रास्वपा राष्ट्रिय राजनीतिमा उभिएको छ । यसले हामीलाई असाध्यै धेरै जिम्मेवार बनाएको रहेछ भन्ने कुराको महसुस गराएको छ । जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । अपेक्षा नै असाध्यै धेरै छ,” उनले भने ।
उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठूलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए ।