site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौमती बाजा बजाउन तालिम

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुर्ख्यौली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो । 

असार १ गते शनिबार सुरु भएको तालिम सोमबार सकिएको वडासचिव बेदनाथ सुवेदीले जानकारी दिए । 

संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुर्ख्यौली नाच्ने कलाकार अभाव हुन थालेपछि युवायुवतीलाई तालिम दिइएको उनले बताए । मल्कवाङ अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको बस्ती हो । यहाँ मगर र दलित समुदायको पनि बसोबास छ ।

पुर्ख्यौली नाच्ने र सोरठी गाउने छन्त्याल र मगर समुदायको मौलिक परम्परा हो । पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुर्ख्यौली नाच सञ्चालन गर्न कलाकारको अभाव हुन थालेपछि नयाँ पुस्तालाई सिकाइएको धवलागिरि–५ का वडाध्यक्ष अमर छन्त्यालले बताए ।  

एघारजना सहभागी नौमती बाजा तालिमको दीपेन्द्र परियार र जीवन परियारले सहजीकरण गरेका थिए ।  उनीहरूले दमाह, कर्णाल, ढोलकी, सहनै, ट्याम्को, झ्याली, नरसिंगालगायत बाजा बजाउने सीप सिकाएका हुन् ।   

सोह्र जना सहभागी पुर्ख्यौली नाच तालिममा दिलीप छन्त्यालले सोरठी गाउने, सरस्वती जगाउने, सुख र दुःखको अवस्थामा नाच्ने तरिका सिकाएका थिए । कछाड, सर्ट, पेटी, भांग्रा, टोपीमा सजिएर कम्मरमा मादल भिरेर नाच्नेलाई मादले भनिन्छ । महिला र पुरुषको समूहले सोरठी गीत गाउँछन् । 

मादलेसँगै नाच्ने मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुंग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् । मौलिक कला, संस्कृति संरक्षण गर्न गत वर्ष मल्कवाङका नौमती बाजा खरिद गरेर उपलब्ध गराइएको थियो । यसपटक पोशाक उपलब्ध गराइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro