site stats
बाह्रखरी :: Baahrakhari
कला
युट्युब ट्रेन्डिङमा सर्ट्स हाबी, बालबालिका मुख्य कारण 

काठमाडौं । केही समयअघिसम्म गायक–गायिका, चलचित्रकर्मी र कलाकार आफ्नो गीत, ट्रेलर, टिजर, चलचित्र ट्रेन्डिङको यति नम्बरमा भन्दै फेसबुकमा पोस्ट गर्थे । आजकाल यस्तो पोस्ट विरलै देखिन्छ ।

किन ? 

पछिल्लो केही समययता युट्युबको ट्रेन्डिङमा ठूलो परिवर्तन देखिन्छ । युट्युबको ट्रेन्डिङमा अधिकांश सर्ट्स भिडियो छन् । चलचित्र, गीत र सिनेमाका अरू कन्टेनलाई ट्रेन्डिङमा छिर्नै कठिन छ ।

Argakhachi Cement Island Ad

सोमबार मध्याह्न १२ बजे युट्युब ट्रेन्डिङ हेर्दा आठ नम्बरसम्म सर्ट्स भिडियो छन् । ट्रेन्डिङको नवौँ नम्बरमा टेलिचलचित्र ‘भुन्टी’ छ ।

१० देखि २४ नम्बरसम्म पुनः सर्ट्स भिडियो छन् । ट्रेन्डिङको २५औँ नम्बरमा हिन्दी मुभी ‘कल्की’को ट्रेलर छ ।

२५ देखि ३६ सम्म ट्रेन्डिङमा सर्ट्स भिडियो नै छन् । ३७औँ नम्बरमा स्मार्ट टीभीको भिडियो छ । त्यसपछि ४० सम्म सर्ट्स भिडियो नै ट्रेन्डिङमा छन् ।

केही महिनाअघिसम्म युट्युबको ट्रेन्डिङमा लामा–लामा कन्टेन हुन्थे । गीत, चलचित्र, सिनेमाका ट्रेलर, टिजरजस्ता सामग्री ट्रेन्डिङमा आउँथे । यस्ता कन्टेनलाई सर्ट्स भिडियोले कसरी पछि पारे ?

पछिल्लो समय युट्युबले सर्ट्स भिडियोलाई प्राथमिकता दिएको युट्युब म्यानेजर राजेन्द्र अर्याल बताउँछन् । सर्ट्स भिडियोलाई प्राथमिकतामा राख्दै युट्युबले त्यसलाई पनि मोनिटाइज गर्ने व्यवस्था गरेको छ । सर्ट्स भिडियोलाई मोनिटाइज गर्दै सर्चका आधारमा रेभिन्यु दिन थालेपछि यसतर्फ कन्टेन क्रिएटर पनि केन्द्रित हुन थालेका अर्यालको भनाइ छ ।

सर्ट्स भिडियोबाटै राम्रो आम्दानी हुन थालेपछि युट्युबले पनि यसमै लगानी बढाएको छ । समकालीनसँगको प्रतिस्पर्धा युट्युबले सर्ट्समा लगानी बढाउनुको अर्को कारण हो ।

नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइनु पनि सर्ट्स भिडियो धेरै हेरिनु र रुचाइनुको कारण हो । “नेपालमा टिकटक बन्द भयो । टिकटकमा प्रतिबन्ध लागेपछि त्यताका कन्टेन क्रिएटर पनि अहिले युट्युबको सर्ट्स भिडियोतिर नै सिफ्ट भएको देखिन्छ,” उनी भन्छन्, “टिकटकले धेरै रेभिन्यु दिँदैन थियो । लाइभ बसेर केही कमाउनेलाई छुट्टै कुरा भयो । तर, यसमा सर्चकै आधारमा रेभिन्यु आउँछ ।”

फेसबुक पेजबाट पनि भिडियोलाई आकर्षक रेभिन्यु दिने भएपछि यसतर्फ धेरै कन्टेन क्रिएटर केन्द्रित भएका हुन् । सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि युट्युबमा सिफ्ट भएका दर्शकलाई लक्षित गर्दै कन्टेन ल्याइएकाले यसले चाँडै बजार लिएको हो ।

सर्ट्स भिडियोमा अधिकांश कन्टेन बालबालिकालाई लक्षित गरेर बनाएको देखिन्छ । “लगइन गरेर कन्टेन खोज्ने उमेर भइनसकेका बालबालिकालाई स्क्रोल गर्न सहज हुने भएकाले यस्ता सामग्री ट्रेन्डिङमा आउने गरेका छन्,” राजेन्द्र भन्छन्, “आजकाल हरेक बालबालिकालाई भुलाउन अभिभावकले एन्ड्रोइड मोबाइल दिन्छन् । उनीहरू सर्च गर्न जान्दैनन्, त्यसैले स्क्रोल गरेर हेर्ने भएकाले उनीहरू एकैपटकमा धेरै सर्ट्स भिडियो हेर्छन् ।”

बालबालिकाले एकै बसाइमा दर्जनौँ भिडियो हेर्ने भएकाले युट्युबमा सर्ट्स भिडियो ट्रेन्डिङमा आउनुको मुख्य कारण हो । सर्च, कमेन्ट र लाइकका आधारमा युट्युबको ट्रेन्डिङ निर्धारण हुन्छ ।

बालबालिका हेर्ने भएकाले क्रिएटरले पनि उनीहरूलाई नै लक्षित गरेर कन्टेन बनाउने गरेका छन् । जुन फोनबाट जस्तो भिडियो वा सामग्री हेरिएको वा सर्च गरिएको हुन्छ, युट्युबको अल्गोरिजमले पनि त्यस्तै कन्टेन सिफारिस गर्छ ।

“बच्चाले जस्तो सर्ट्स भिडियो हेरिरहेका छन्, युट्युबको अल्गोरिजमले पनि त्यस्तै भिडियो नै सिफारिस गरिरहेको हुन्छ,” नेपालका सयौँ कलाकारका युट्युब च्यानलको म्यानेज गर्दै आएका राजेन्द्र अगाडि थप्छन्, “त्यसैले युट्यब सर्ट्समा बच्चाका कन्टेन नै ट्रेन्डिङमा बढी आएको देखिन्छ ।”

जे कुरा बढी रुचाइयो र रेभिन्यु धेरै आयो कन्टेन क्रिएटर पनि त्यसमै केन्द्रित भएको उनको भनाइ छ । “१२÷१५ सेकेन्डको भिडियो बनाउन सजिलो र धेरै हेरिने भएपछि त्यसमा कन्टेन क्रिएट हुनु स्वाभाविक पनि हो,” राजेन्द्र भन्छन्, “हेर्नेलाई पनि छोटो समयमा धेरै भिडियो हेर्न सकिने भएपछि यसमा धेरैको ध्यान खिचिएको छ ।”

युट्युब च्यानल ओएसआर डिजिटलका व्यवस्थापक रुपेन्द्र खड्गी पछिल्लो समय युट्युबले सर्ट्समा ठूलो लगानी गरेको बताउँछन् । टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्न युट्युबले सर्ट्समा ठूलो लगानी गरेको उनी सुनाउँछन् ।

“छोटो भिडियोमा दर्शकको आकर्षण देखियो । धेरै भ्युअर्स छोटा भिडियोमा आउन थालेपछि युट्युब पनि टिकटक र फेसबुक रिल्ससँग प्रतिस्पर्धा गर्न लाग्यो,” रुपेन्द्र स्पष्ट पार्छन्, “त्यसैले युट्युब अहिले प्रतिस्पर्धामा आफूलाई खरो उतार्न सर्ट्समा लगानी गरिरहेको छ ।”

लगानीअनुसार सर्ट्समा प्रतिफल पनि देखिइरहेको उनको भनाइ छ । त्यसैले लामा कन्टेनलाई अगाडि आउन अहिले कठिन रहेको उनी बताउँछन् ।

म्युजिक, गेमिङ र स्पोर्टसको छुट्टै ट्रेन्डिङ छ । गीत अहिले क्याटागोरिकल ट्रेन्डिङमै सीमित छन् । “युट्युब ट्रेन्डिङमा अहिले गीत, चलचित्रलाई आउन निकै कठिन छ,” रुपेन्द्र भन्छन् ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्