काठमाडौं । गिरीबन्धु टी–इस्टेटले सातबुँदे स्पष्टीकरण सार्वजनिक गर्दै अदालतको फैसलाले टी–इस्टेटको जग्गाको सट्टापटा नरोकिएको तर्क गरेको छ ।
बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी टी–इस्टेटका अध्यक्ष छत्र गिरीले जग्गा आफूहरूको निजी भएको भन्दै राज्यले दिएको छुट प्रयोग गरेको दाबी गरे ।
उनले अब अदालतले भनेका सर्त पूरा गरेर नै टी–इस्टेट स्थानान्तरण गर्ने बताए ।
यस्तो छ सातबुँदे दाबी पत्र
१. गिरीबन्धु टी–इस्टेटले भूमिसम्बन्धी ऐन र नियम मिचेर जग्गा सट्टापट्टाको लागि निवेदन गरेको र नेपाल सरकार, मन्त्रिपरिषद्ले समेत कानुनविपरीत निर्णय गरेको होइन तर मन्त्रिपरिषद्बाट निर्णय गर्दा माथि उल्लेख भए अनुसारको प्रक्रियासम्म नपुर्याइएको भन्ने फैसला⁄आदेशमा उल्लेख भएको देखिन्छ ।
२. नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि प्रचलित ऐन कानुन र नियमको परिधिभित्र बसेर निर्णय गरेको हुनाले सो गर्दा सर्वोच्च अदालतले गिरीबन्धुले पेस गरेको निवेदनमा आवश्यक पूर्वाधारहरू नदेखाएको भनि प्राविधिक कारणहरूले मात्र त्रुटिपूर्ण भएको भनी ठहर गरेको छ ।
३. मिति २०३० सालमा मात्र पूर्व–पश्चिमराजमार्ग निर्माण सम्पन्न भएको हो । यो कम्पनी २०२० मा नै स्थापित कम्पनी हो । यो कम्पनी गिरीबन्धु परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको हो (यो जग्गा हाम्रो परिवारको निजी भएको प्रमाण हामीसँग सुरक्षित छ) ।
कम्पनी स्थापना हुँदा (६० वर्ष अगाडि) राजमार्गको अवधारणा समेत नबनेको हुँदा अहिले आएर महंगो जग्गा बेचेर सस्तो जग्गा खरिद गर्ने चलखेल भयो भन्दै झुठ्ठा र भ्रामक समाचार केही प्रिन्ट, मिडिया तथा अनलाइन खबरहरूबाट प्रचार भइरहेको साथै सरकारले नै चियाखेतीको लागि गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएकोजस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोच–पेचहरूमा तथा सामाजिक सञ्जालहरुमा सम्प्रेषण भइरहेको हुनाले यस कुराको वास्तविकता नबुझी उल्लेख भएको देखिन्छ । यस्तो गलत तथ्य र अफवाहमा नलागी दिनुहुन अनुरोध छ।
४. २०२० सालमा कम्पनी स्थापना गरी सञ्चालनमा आएको कारण सो ठाउँमा वस्ती विस्तार भई बिर्तामोड बजारको विकास भएको र यसरी बजारको विकास भएको कारण चिया बगान क्षेत्रमा समेत जबरजस्ती प्रवेश गर्ने चियाका बुट्टाहरू नास्ने मास्ने कार्य भएकाले चिया उत्पादनमा ह्रास आएको व्यहोरा जानकारी गराइन्छ।
५) हाल आएर तीव्र गतीमा बिर्तामोड बजारको विकास भएको तथा बजार पूर्वतर्फ फैलिँदै गएको, बगानसँगै अस्पताल, विद्यालय र तीव्र्र बजारीकरणको कारण चिया बगान क्षेत्रमा फोहोरमैला फाल्ने भएको, चियाका बुट्टाहरू काटी दाउराको रूपमा लैजाने गरेको, आत्महत्याको प्रकरण हुने गरेको, मृत जनावरहरू फाल्ने ठाँउ बनेको, किटनासक औषधि छर्नु परेको कारण स्थानीय मानिसहरूको स्वस्थ्यमा असर परेको र अन्ततः गाई बस्तु चराउने ठाउँ बन्न पुगेको अवस्थामा परिणत भएका कारण र एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको अवस्था छ।
६. उल्लेखित अवस्था र परिस्थितीको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको र स्थानीय जनताहरूसँग राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहवरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुंगोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागि निवेदन गरिएको हो ।
७. सम्मानित अदालतबाट समेत चिया बगानको लागि सट्टा–भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट बञ्चित नगर्ने, सट्टा–भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनको लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्छ भनिएकाले आवश्यक प्रक्रिया पूरा गरेर यो सबै विषयको सुनिश्चतता गरेर नै उपयुक्त निर्णयमा यस गिरीबन्धु टी–इस्टेट पुग्ने कुराको जानकारी गराउँदछौँ ।