कास्की । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने बताएका छन् ।
पार्टीको गण्डकी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले महाधिवेशनका लागि एउटै दस्तावेज आएको र नेतृत्व पनि सर्वसम्मतरूपमा चयन गरिने र सर्वसम्मतका लागि आफू बाधक नबन्ने बताए ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि काठमाडौंमा हुँदै छ ।
“पार्टीको तल्ला कमिटी तथा सातवटै प्रदेश कमिटीहरूले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूलाई आग्रह गरेका छन् । हामी कार्यकर्ताहरूको भावना अनुसार सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नेछौँ,” उनले भने ।
अध्यक्ष नेपालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमको सान्दर्भिकता अझै पनि उत्तिकै रहेको बताए ।
“कम्युनिस्ट पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने, कामको श्रेष्ठताको आधारमा नेतृत्वमा पुग्ने लगायतका विषय सान्दर्भिक छन् । जबज पार्टीको कार्यक्रम हो,” अध्यक्ष नेपालले भने । रासस