काठमाडौं । भारतको आम निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो चुनावमा पाएको ६३ सिट गुमाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल २४० सिटमा सीमित हुँदा भारतीय राष्ट्रिय कांग्रेसले ९९ सिट जितेको छ, जुन अघिल्लो चुनावभन्दा ४७ ले बढी हो ।
भाजपा आफ्नै प्रक्षेपण, एक्जिट पोल र अन्य सर्वेक्षणले भाजपासहितको गठबन्धन एनडीएले तीन सयदेखि चारसयसम्म सिट जित्ने अनुमान गरेका थिए । कांग्रेससहितको गठबन्धन इन्डियाले करिब डेढसय आसपासका लोकसभा निर्वाचन क्षेत्रमा जित्ने अनुमान थियो ।
तर, ५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ र इन्डियाले २३२ सिट जितेको छ । यो चुनावी नतिजाले भाजपालाई ठूलो झड्का लागेको छ । चार सयभन्दा बढी सिट जित्ने लक्ष्य र भारतीय प्रधानमन्त्री मोदीको विशेष प्रचारसहित भाजपाले चुनावी अभियान सुरु गरेको थियो ।
भाजपाले ठूलो संख्यामा सिट गुमाउनुको पछाडि विपक्षी दलका अभियान बराबरकै वा कम्तिमा सामाजिक सञ्जालमा त्यसभन्दा बलियो अभियान ‘युट्युबर’हरुले चलाए । अप्रिल १९ देखि जुन एकसम्म सात चरणमा भएको निर्वाचन अवधिभर मोदी र भाजपाविरुद्ध भारतीय युट्युबरका विश्लेषण र भिडियो सामग्रीले व्यापक चर्चा पाए ।
भारतीय आमनिर्वाचनका बेला सामाजिक सञ्जाल र खासगरी युट्युबबाट ठूलो प्रभाव पार्नेमा पहिलो नम्बरमा युट्युबर ध्रुव राठी छन् । चुनावको करिब तीन महिनाअघि उनले ‘के भारत तानाशाह’ बन्दैछ भन्ने शीर्षकमा भिडियो बनाएका थिए, जुन भिडियो २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।
त्यसपछि उनले चरणवद्धरुपमा निर्वाचन अवधिभर भाजपा र मोदीका ‘प्रोपोगान्डा’, ‘कमजोरी’ र यसले जनतालाई भ्रममा राखेर कसरी शासन गर्न खोजिरहेको छ भन्ने किसिमका भिडियो बनाए । जसमा खासगरी प्रमुख मिडिया हाउसमाथि नियन्त्रण गरेको, मोदीलाई ‘भगवान’ बनाउन खोजिएको, धार्मिक द्धेश फैलाउन खोजिएको र सामाजिक सञ्जालको गलत प्रयोग भइरहेका कुराहरु थिए ।
ती भिडियोमा बेरोजगारी, सरकारका कमीकमजोरीलाई खरोरुपमा विश्लेषण गरी उनले लाखौं मतदातालाई सही तरिकाले मतदान गर्न भनेर प्रभावित पारे । लाखौं भारतीय नागरिकले राठीले भनेअनुसार नै मतदान गर्दा ध्यान दिन्नन् भन्ने टिप्पणी उनका सबैजसो भिडियोको कमेन्ट सेक्सनमा गरेका थिए ।
युट्युब मात्रै नभएर, फेसबुक, इन्स्टाग्राम, ट्विटर र विशेषगरी करोडौं भारतीय ह्वाट्सएपमा सक्रिय रहेको भन्दै उनले त्यसको पनि भरपुर प्रयोग गरे । उनले ह्वाट्सएपमार्फत एक अर्ब मतदाताकहाँ आफ्नो भिडियो सन्देश पु¥याउने लक्ष्य राखेका थिए । युट्युबमा मात्रै राठीका २ करोड १० लाखभन्दा बढी सब्स्क्राइबर छन् ।
भारतीय पत्रकार एवं लेखक रविश कुमारले पनि निर्वाचन अवधिभर राम्रो प्रभाव राखे । उनले पनि भाजापाले देशलाई गलत दिशामा लगिरहेको छ भन्ने किसिमका भिडियो बनाउँदै प्रभाव पारे ।
भारतीय निर्वाचन आयोगको कमीकमजोरीको विषयमा समेत उनले भिडियोहरु बनाएका छन् । चुनावका हरेक चरण र विभिन्न राज्यमा निर्वाचनका बेला पत्रकार रविश कुमारले आफ्ना भिडियोहरुमार्फत सरकारका कमीकमजोरीविरुद्ध बोलेका थिए ।
रविशको युट्युब च्यानलमा एक करोडभन्दा बढी सब्सक्राइबर छन् । ‘द देशभक्त’नामक युट्युब च्यानल चलाउने अर्का भारतीय पत्रकार एवं युट्युबर आकाश बेनर्जीले पनि भारतको सन् २०२४ को भारतीय आम निर्वाचनमा राम्रो प्रभाव पारे ।
४४ लाखभन्दा बढी सब्सक्राइबर रहेको युट्युब च्यानलबाट उनले मोदीलाई कसरी ‘भगवानको दूत’ दर्ता दिइएको छ र कसरी प्रोपोगान्डा चलिरहेको छ भन्ने किसिमका भिडियो बनाए ।
भाजपा र मोदीका कमी कमजोरी र निर्वाचन अवधिभर निर्वाचन आयोगको कामकारबाहीबारे समेत उनले भिडियो बताए । उनले चारसयभन्दा बढी सिट जित्ने भाजपाको लक्ष्यमा मोदीलाई हिटलरसमान देखाएर लक्ष्य हासिल नहुँदा ‘पूर्ण आपतकाल’ लगाइदिने टिप्पणी गरेको भिडियो बनाए ।
भाजपा र मोदीले आमनागरिकलाई सधैं धोकामा राख्न नसकिने टिप्पणी उनले गरेका थिए ।
यी युट्युबरहरुका भिडियोहरुलाई करोडौं मानिसले समर्थन गरेका छन् र लाखौंले यीनका पक्षमा टिकाटिप्पणी गर्दै मतदान गर्दा विशेष ध्यान दिन भनेर एकअर्काेलाई भनेका छन् । जसको प्रभाव भारतीय चुनावमा कम या बढी परेको छ ।
सामाजिक सञ्जालबाट शक्ति परिवर्तन
अघिल्ला निर्वाचनमा प्रमुख सञ्चार माध्यमसँगै सामाजिक सञ्जालमा पनि भाजपाकै दबदबा भए पनि यसपटक त्यसो नभएको इन्डियाटाइम्सले लेखेको छ । युट्युबरहरुको प्रभावले कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको पक्षमा बलियो चुनावी नतिजा आएको टिप्पणी गरिएको छ ।
भारतका युट्युबरले बनाएका भिडियोहरुबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत विशेष प्राथमिकताका साथ समाचार छापेका थिए । भारतमा ४७ करोडभन्दा बढी युट्युब प्रयोगकर्ता रहेको तथ्यांक छ । त्यसैले निर्वाचनमा युट्युबरका कन्टेन्टको भूमिका नगण्य हुने देखिन्न ।
युट्युबरहरुले मध्यम वर्गीय र शिक्षित युवाहरुलाई विश्लेषणात्मक र तथ्यगत सन्देश दिँदै मूलधारका मिडियाले खाली छोडेको ठाउँ भरेको भारतीय मिडिया टिप्पणीकारहरुको भनाइ छ । राष्ट्रिय टेलिभिजनले सबैका लागि सबै सूचना नपुर्याउने हुँदा युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालको प्रभाव बलियो छ ।
यी माध्यमबाट प्रसारित भिडियोमा आफ्नो आवाज उठेको महसुस गर्ने व्यक्तिले सोहीअनुसार मतदानमा निर्णय गर्नसक्छन् । राजनीतिज्ञहरु आफैं पनि परम्परागत सञ्चारमाध्यमको तरिकाभन्दा फरक सामाजिक सञ्जालको प्रयोगबाट मतदातासँग पुग्न खोजिरहेका छन् ।
एक व्यक्तिले सामाजिक सञ्जालबाट सजिलै ठूलो प्रभाव पार्न सकिरहेको छ । यसले ठूलो ‘पावर सिफ्ट’को संकेत गरेको छ । भाजपाले चुनावी नतिजामा व्यहारेको घाटा र भारतीय युट्युबहरुका भिडियोले पारेको बलियो प्रवाहले यो कुरालाई पुष्टि गर्न खोजेको देखिन्छ ।
चुनावको नतिजापछि सामाजिक सञ्जाल एक्समा राठीले ‘एक सामान्य मानिसको शक्तिलाई कहिल्यै कमजोर नठान्न’ भनेर लेखेका छन् । चुनावमा भाजपा एक्लैले बहुमत नल्याएपछि रविश कुरमाले अब मोल–भाउको सरकार हुने शीर्षकको भिडियो युट्युबमा राखेका छन् ।
यसरी भारतको निर्वाचनमा भाजपाको विकल्प छान्न भनेर लागेपका युट्युबरहरु केही हदसम्म सफल भएको देखिन्छ । एनडीएका लागि चारसय बढी सिटको लक्ष्य र एकल बहुमत गुमाएको भाजपाका लागि यो निर्वाचन असफल भएको देखिन्छ ।