खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदै छन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुंगा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालको भजाइ छ ।
मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने बताइएको छ ।
निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुनेछन् ।
जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन् । जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको सहकार्यमा निर्माण हुनेछन् । रासस