site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चेन अफ कमान्ड’ भत्काएर गृहमन्त्री प्रहरीको युनिटमै किन पुग्छन् ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शुक्रबार साँझ एकाएक काठमाडौंका तीनवटा प्रहरी वृत्तको निरीक्षणमा पुगे । जिल्ला प्रहरी कार्यालय काठमाडौं मातहतका १४ वृत्तमध्ये गृहमन्त्री लामिछाने प्रहरी वृत्त बौद्ध, गौशाला र महाराजगञ्ज पुगेका थिए ।

निरीक्षणका क्रममा लामिछानेले प्रहरी वृत्तको समस्याबारे मात्रै चासो राखेनन्, प्रहरी वृत्त महाराजगञ्जलाई त नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना बनाएर पाँच दिनभित्र पेस गर्न निर्देशन दिए ।

rabi--(9)-1717577899.jpg
 

गृहमन्त्री लामिछानेको निरीक्षणलाई प्रहरी अधिकारीहरुले अस्वाभाविक हस्तक्षेपका रुपमा लिएका छन् । ‘चेन अफ कमान्ड’ मा चल्ने संगठनलाई गृहमन्त्री लामिछाने आफूखुसी निर्देशन दिन थालेपछि प्रहरी उच्च अधिकारी असन्तुष्ट छन् ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) ले कमान्ड सम्हालेका प्रहरी वृत्तमा गृहमन्त्री आफैँ जानु पदीय मर्यादा र ‘चेन अफ कमान्ड’ भत्काउनुसरह हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् । उनी भन्छन्, “गृहमन्त्रीको त कुरै नगरौं, उपत्यका प्रहरी प्रमुख एआईजी समेत सीधै डीएसपीको कार्यालयमा जाँदैनन् । यो त सीधा हस्तक्षेप भन्ने कि कमान्ड कन्ट्रोल नबुझेको भन्ने हामी आश्चर्यमा छौं ।”

rabi--(4)-1717577898.jpg
 

डीएसपीले कमान्ड गर्ने हरेक वृत्तहरूले रिपोर्टिङ जिल्ला कमान्ड एसएसपीमार्फत् मात्रै उपत्यका हेर्ने कमान्ड रानीपोखरीलाई गर्छन् । डीएसपी सीधै उपत्यका प्रहरी प्रमुखसम्म जानै सक्दैनन् ।

गृहमन्त्री लामिछानेले आममानिसका गुनासा समाधान तथा प्रहरी संगठन व्यवस्थापनका लागि भए पनि प्रहरी महानिरीक्षक (आईजीपी) मार्फत नै समाधान खोज्ने हो । 

rabi--(6)-1717577898.jpg
 

तर, लामिछानेले आईजीपी मात्रै होइन, उपत्यकाका कमान्डर एआइजी र काठमाडौं प्रहरी प्रमुख एसएसपी समेतलाई ध्यानमा नराखी आफैँ डीएसपीले कमान्ड गर्ने वृत्त पुगे । एक पूर्वआईजीपीले पनि गृहमन्त्रीको शैली ‘चेन अफ कमान्ड’मा गर्ने संस्थाका लागि उपयुक्त नहुने प्रतिक्रिया दिए । 

“गृहमन्त्रीले निरीक्षण नै गर्नु हुँदैन भन्ने चाहिँ हुँदैन । तर, निरीक्षण भ्रमण गर्ने नै हो भने आईजीपी भ्याली कमान्डसहित गर्ने हो, जसले चेन अफ कमान्डलाई बल पुग्छ,” ती आईजीपीले भने ।

rabi--(8)-1717577898.jpg
 

आफूखुसी गर्दा संठगन प्रमुखमाथि भरोसा नभएको जस्तो देखिने उनको तर्क छ । लामिछानेले तीनवटै वृत्तको मुद्दाशाखा, स्टोर तथा उजुरी शाखाको समेत निरीक्षण गरेका थिए । यसरी प्रहरीको चेन अफ कमान्डको ख्याल नगरी प्रहरीको युनिटभित्र निरीक्षणका लागि छिर्ने गृहमन्त्री लामिछाने एक्ला भने होइनन् ।

rabi--(2)-1717577897.jpg
 

यसअघि २०७४ मा गृहमन्त्री बनेका रामबहादुर थापा बादलसमेत ‘छापामार शैलीमा’ सिंहदरबार वृत्तको मेसमा खाना खान पुगेका थिए । बादलले पनि सिंहदरबारको उजुरी शाखा, महिला शाखा, ब्यारेक, थुनुवा कक्षको निरीक्षणसमेत गरेका थिए ।

उनको शैलीले पनि चेनअफ कमान्डमा असर गर्ने सुझाव गृह मन्त्रालयका अधिकारीले गराएका थिए । त्यसपछि थापा कुनै पनि युनिटमा त्यसरी खाना खान मेसमा पुगेनन् । पूर्व गृहमन्त्री भीम रावलले गृहमन्त्री आफैँ युनिटमा पुग्न नहुने बताउँछन् ।

गृहमन्त्रीको यस्तो कामले संगठन र चेन अफ कमान्ड कमजोर बन्दै जाने बताए ।

rabi--(3)-1717577897.jpg
 

‘‘हालका गृहमन्त्रीले के गर्नु भयो मलाई थाहा छैन । तर, सैद्धान्तिक रुपमा कुरा गर्ने हो भने गृहमन्त्रीले आफू मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिने हो । प्रहरी र अन्य सुरक्षा निकायका सानासाना युनिटमा आफैँ पुगेर निर्देशन दिने होइन,” रावलले भने, “किनभने केन्द्रको कमान्डमा चल्ने संगठनमा राजनीतिक नेतृत्व गएर निर्देशन दिन थाले भने त्यसको कमान्डरले दिने निर्देशनको शृङ्खला नै कमजोर हुँदै जान्छ । कुनै ठाउँमा जानैपर्ने परिस्थितिबाहेक राजनीति नेतृत्व आफैँ निरीक्षण र निर्देशनमा जान थाल्यो भने त्यसले संठगनको नेतृत्वले गर्ने निरीक्षण, निर्देशन, सुपरीवेक्षण नै कमजोर भएर जान्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro