काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’मा कलाकार इशान राउत प्रवेश गरेका छन् । हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रूपमा ‘जिरे’ भएर अभिनय गरेका उनी ‘ज्वाइँ साब’मा अनुबन्ध भएका हुन् ।
चलचित्रको शीर्ष भूमिकामा जितु नेपाल छन् । जितुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए ।
वसन्त निरौलाको निर्देशनमा ‘ज्वाइँ साब’को अहिले मकवानपुरको चित्लाङमा छायांकन भइरहेको छ । २० दिन चित्लाङ छायांकन गरेपछि निर्माणपक्ष बाँकी सुटिङका लागि सौराहा र इलाम पुग्नेछ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
चलचित्रमा जितुको अपोजिटमा नीति शाहले अभिनय गरिरहेकी छिन् । चलचित्रमा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायत कलाकारको अभिनय छ ।