site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा नीति तथा कार्यक्रम 'पारित नै नहुने अवस्था', के गर्लान् मुख्यमन्त्री ?

पोखरा । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री बनेका खगराज अधिकारीको सरकारलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरिदियो । त्यतिमात्र होइन, ४८ घण्टाभित्र सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश पनि जारी ग‍र्‍यो । सर्वोच्चको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार ठुलो दलको नेताको हैसियतमा उनी जेठ १६ गते मुख्यमन्त्री बने ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्वसन्ध्यामा सत्ता पाएका पाण्डेले नीति तथा कार्यक्रम पास गर्न सक्लान् ? बजेट पास गर्न सक्लान् ? वा अध्यादेशतर्फ जालान् ? भन्ने चर्चा पनि त्यही दिनदेखि चल्यो ।

यो चर्चा चल्नु स्वभाविक पनि हो । किनभने, ठुलो दलको हिसाबले मुख्यमन्त्री बनेका उनीसँग कांग्रेसका २७ सांसदको मात्र समर्थन छ । उनलाई सरकार टिकाउन थप चार सांसदको समर्थन चाहिन्छ । अर्कातर्फ असार १३ गतेभित्र उनले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यतासमेत छ ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (करबाहेक) पेस भएर छलफल पनि भइसकेको छ । त्यसपछि प्रदेशसभा बैठक नै अनिश्चितकालका लागि स्थगित छ । प्रदेशसभाको अर्को बैठकको मिति र नीति तथा कार्यक्रम कहिले पेस हुन्छ भन्ने अन्योलमा नै छ ।

गण्डकीका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले नीति तथा कार्यक्रम तयार भइसकेको र छिट्टै प्रदेशसभामा पेस हुने बताएका छन् ।

तर, प्रदेशसभामा पेस भइसकेपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेस गर्दा बहुमत नपुग्ने डर कांग्रेस नेतृत्वको सरकारलाई छ ।

नीति तथा कार्यक्रम नै फेल भइसकेपछि सरकारमा बस्ने नैतिकता गुम्ने माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान बताउँछन् ।

“नीति तथा कार्यक्रम पेस गर्ने सरकारको कर्तव्य नै हो, तर पास हुने अवस्था चाहिँ देखिँदैन । नीति तथा कार्यक्रम फेल हुनासाथ नैतिकरूपमा सरकार चलाउन मिल्दैन,” उनले भने ।

माओवादीले जस्तै नेकपा (एमाले)ले पनि नीति तथा कार्यक्रम पास हुने अवस्था नरहेको बताएको छ । 

सोमबार नै एमाले संसदीय दलका नेता खगराज अधिकारीले एक कार्यक्रममा २६ दिनपछि फेरि आफू नै मुख्यमन्त्री बन्ने बताएका छन् । उनले मुख्यमन्त्री पाण्डेले विश्वासको मत नपाउने दाबी पनि गरे ।

असार १ गते बजेट ल्याउनैपर्ने कानुनी बाध्यता त छँदै छ । त्योभन्दा अगाडि नै नीति तथा कार्यक्रम पेस गरेर पारित गर्नुपर्ने बाध्यता पनि मुख्यमन्त्री पाण्डेलाई छ ।

एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली अहिलेको अवस्थामा नीति तथा कार्यक्रम पास नहुने बताउँछन् । उनले त नीति तथा कार्यक्रम नै अध्यादेशबाट आउँछ कि भन्ने आशंका व्यक्त गरे ।

गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल भने कानुनी मान्यताभित्रै रहेर नीति तथा कार्यक्रम आउने र पास हुने दाबी गर्छन् । उनले विभिन्न विकल्पमा पनि छलफल भइहरेको बताए ।

अहिलेको अवस्थामा गण्डकीमा सभामुखबाहेक ५९ प्रदेशसभा सदस्य छन् । उपस्थित सदस्य संख्याको हिसाबले पनि नीति तथा कार्यक्रम पारित गर्न सभामुखलाई नगन्दा ३० सांसदले समर्थन जनाउनुपर्ने हुन्छ । गण्डकीमा दुई सिट रहेको राप्रपा तटस्थ बसेको छ भने स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) कांग्रेससँग टाढै देखिन्छन् ।

यस्तो अवस्थामा केही सांसदहरूलाई नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने दिन अनुपस्थित गराउने र उपस्थित सदस्य संख्याको बहुमतबाट नीति तथा कार्यक्रम पास गर्ने छलफल कांग्रेसले चलाएको छ । तर, त्यसका लागि पनि कम्तीमा ६ जना विपक्षमा रहेको सांसदहरू अनुपस्थित हुनुपर्ने हुन्छ भने कांग्रेसका सबै सांसद सदनमा उपस्थित हुनुपर्ने हुन्छ । तर, यो त्यति सम्भव देखिँदैन ।

अर्कातर्फ नीति तथा कार्यक्रम सदनमा पेस गर्ने, छलफल चलाउने र निर्णयाार्थ पेस नै नगरी सदन स्थगित गर्नेसम्मका चर्चा चलेका छन् । नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेस हुन नदिने र अध्यादेशबाट बजेट आउने आशंका पनि विपक्षी दलहरूलाई छ ।

यसअगाडि २०७८ सालमा लुम्बिनी र कर्णालीमा अध्यादेशबाट बजेट आएको थियो । नीति तथा कार्यक्रम भने पास भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro