site stats
बाह्रखरी :: Baahrakhari
देश
‘ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता गर्न बाध्य भयौँ’

काठमाडौं । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालले ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको छ ।

ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्ना मागका बारेमा नेपाल सरकारले बेलायतसँग कूटनीतिक पहल नगरेको गुनासो गर्‍यो । सोही कारण ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता गर्न बाध्य भएको बताइयो । बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपाल आन्दोलनरत छ ।

Argakhachi Cement Island Ad

ब्रिटिस गोर्खामाथि भएको विभेदको अन्त्य, त्रिपक्षीय सन्धिको मर्म र भावनानुसार समान पेन्सन, १९४७ को त्रिपक्षीय सन्धिको समयसापेक्ष परिमार्जन नभएसम्म ब्रिटिस सेनामा भर्तीप्रथा स्थगन वा रोक्नुपर्ने भन्दै सर्वोच्चमा रिट निवेदन गर्न बाध्य भएको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके–नेपालका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । ब्रिटिस गोर्खामा भर्ती भएका नेपालीलाई दासका रूपमा हेरिएको र सेवा सुविधामा विभेद गरिएको भन्दै उनले पटक–पटक ध्यानाकर्षण गराए पनि सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भएको जिकिर गरे ।

उनले यसअघि ६ पटक सरकारसँग भएको वार्ताबाट पनि कुनै सहमति नभएकाले बेलायतमा आमरण अनशन बस्ने घोषणा गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्