site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोखिममा बालबालिका, अस्पतालमा बिरामीको चाप 

काठमाडौं । गर्मी बढेसँगै काठमाडौंका प्रमुख अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । त्रिवि शिक्षण अस्पताल, कान्ति बाल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललगायतमा मौसमी समस्या तथा लामखुट्टेजन्य संक्रमणका बिरामी बढेको तथ्यांक छ ।

गर्मीयाममा बालबालिकामा विभिन्न मौसमजन्य स्वास्थ्य समस्याहरू देखिने र त्यसमा गर्मीका कारण थप जटिलता हुन सक्ने भन्दै विज्ञहरूले सजग हुन सुझाव दिएका छन् ।

कान्तिमा बढ्यो बिरामी बालबालिकाको संख्या

गर्मी बढेसँगै बालबालिकामा खानपानजन्य स्वास्थ्य समस्या र लामखुट्टेको टोकाइबाट हुने संक्रमण बढेको छ । कान्ति बाल अस्पतालमा इमर्जेन्सीसहित दैनिक दुई हजारको हाराहारीमा बिरामी आउने गरेको अस्पताल निर्देशक डा. पंकज राय बताउँछन् ।

गर्मीयाममा ओपीडीमा एक हजारदेखि १२ सयजना बालबालिका हुने गरे पनि जेठयता इमर्जेन्सीसमेत गरी दुई हजार बिरामी आइरहेको उनले बताए ।

“गर्मी महिनामा अरू वर्ष पनि बिरामी बढ्छन् । तर यसपटक भने अलि धेरै नै चाप थपिएको छ, अधिकांश बालबलिकामा खानपानसँग जोडिएका र डेंगी, मलेरियाजस्ता समस्या देखिएको छ,” डा. रायले भने ।

टिचिङका इमर्जेन्सी बेडमा बिरामी खचाखच

त्रिवि शिक्षण अस्पतालमा पनि जेठयता बिरामीको संख्या बढेको छ । इमर्जेन्सी कक्षमा एउटै बेडमा दुईजना बिरामीसमेत राख्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

ओपीडीमा समेत दैनिक बिरामीको संख्या दुईहजार ७०० पुगेको अस्पतालको तथ्यांक छ । जुन सामान्य अवस्थामा दुई हजारदेखि २२ सयसम्म हुने गरेको छ ।

भाइरल ज्वरो, डेंगीलगायतका बिरामी बढेको र हाल ७०० जना बिरामी उपचाररत रहेको अस्पतालका मेडिकल रेकर्डर रामकुमार कार्कीले जानकारी दिए ।

“भाइरल फिभर र अन्य मौसमी रोगका बिरामी धेरै नै बढेका छन् । इमर्जेन्सीमा डबल गरेर पनि राख्नुपरेको छ,  पछिल्लो साता इमर्जेन्सीमा एकैपटक १५० जनासम्म आउन थालेका छन्,” कार्कीले भने ।

देशभर बढ्दो गर्मी, जोखिममा बालबालिका स्वास्थ्य

नेपालमा वर्ष २०२३ सन् २००० पछिको एक तातो वर्षको रूपमा सूचीकृत भएको छ । जल तथा मौसम विज्ञान विभागको वार्षिक जलवायु प्रतिवेदनअनुसार सन् २०२३ मा नेपालको वार्षिक अधिकतम तापक्रम औसतमा २७.९ डिग्री सेल्सियस पुग्यो, जुन अघिल्लो वर्षको औसत अधिकतम तापक्रमभन्दा ०.६ डिग्रीले बढी हो ।

सन् २०२४ योभन्दा तातो वर्ष बन्ने विज्ञहरूको आकलन छ । जल तथा मौसम विज्ञान विभागले अधिकतम तापक्रम अघिल्ला वर्षहरूभन्दा यो वर्ष बढ्ने अनुमान गरेको छ ।

विभागले तराईका जिल्लाहरूमा तातो हावा चल्न सक्ने भन्दै पटकपटक सजग गराउँदै आएको छ । मौसमविद् प्रतिभा मानन्धर अधिकतम तापक्रम ४० डिग्री नाघेसँगै हावा पनि तातो नै चल्ने बताउँछिन् । तातो हावा चल्दा दिनमात्रै होइन रातको समयमा पनि उच्च गर्मी हुने उनको भनाइ छ ।

तराईका केही जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । बुधबार काठमाडौंको अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष हालसम्मकै सबैभन्दा बढी काठमाडौंको तापक्रम जेठ ११ (मे २४) मा ३४.४ मापन गरिएको थियो ।

तापक्रम वृद्धिको प्रत्यक्ष असर जनजीवनमा परेको छ । विशेष गरी स्कुले बालबालिकाको स्वास्थ्य उच्च जोखिममा रहन्छ । तराईका कैलाली, चितवन, दाङलगायतका जिल्लाहरूमा अत्यधिक गर्मी बढेपछि एक साताका लागि विद्यालयहरू बन्द गरिएका छन् ।

बालबालिकामा गर्मीका कारण समस्या भएको कसरी थाहा पाउने, कसरी जोगाउने ?

अत्यधिक गर्मीका कारण बालबालिकाहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असररहरू देखिन सक्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ ।

मन्त्रालयका अनुसार यदि सामान्य असर देखिएमा यस्तो किन भइरहेको छ भन्नेबारे प्रस्ट बुझाएर नआत्तिन र नडाराउन प्रेरित गर्नुपर्छ । गर्मीमा बालबालिकालाई हलुका र फिक्का रंग भएको कपडा लगाइदिनुपर्छ ।

बालबालिकामा असर हुन नदिन बेलाबेलामा पिसाब गरे/नगरेको ख्याल गर्नुपर्छ । गाढा पहेँलो पिसाब भए पानी नपुगेको भन्न सकिन्छ । यस्तो अवस्थामा उनीहरूलाई पर्याप्त पानी र झोलिलो खाने कुरा खुवाउनुपर्छ ।

अत्यधिक गर्मीको असरबाट जोगिन सबै उमेर समूहका व्यक्तिमा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, अधिक टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या देखिन सक्छन् । यस्ता 0लक्षण देखिए तत्काल बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ ।

गर्मीयाममा पर्याप्त पानी पिउने, कागती पानी, नरिवलको पानी तथा फलफूलको रस, काँक्राजस्ता खानेकुरा खानु स्वस्थकर हुन्छ । चिया, कफी, सोडाजस्ता खानेकुरा गर्मीमा नखान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव  छ ।

जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती घाममा बालबालिकालाई सकेसम्म घर बाहिर खेल्न नपठाउन र खाली पेटमा कोही पनि घरबाहिर ननिस्कन सुझाव दिन्छिन् ।

यस्तो गर्मीमा मही, फलफूलको जुस, कागनी र सख्खर मिसाई बनाइएको सर्बत, सातुजस्ता खानेकुरा बालबालिकालाई दिइरहन र गर्मीबाट हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन डा. उप्रेतीको अनुरोध छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro