
काठमाडौं । नेपाल आर्मी क्लब र गण्डकी प्रदेश मंगलबार राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
ललितपुरको च्यासल फुटबल मैदानमा मंगलबार सम्पन्न सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै आर्मी र गण्डकी फाइनलमा पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा काशीराज राईको ह्याट्रिकमा आर्मीले एपीएफलाई ६–० ले हरायो । राजेन्द्र कार्कीले दुई र प्रदीप राजवंशीले एक गोल गरे । आर्मीका देवसिंह धामी प्लेयर अफ द म्याच भए । आर्मीले खेलको पहिलो हाफमा नै चार गोल गर्दै दबाब बनायो । दोस्रो हाफमा भने आर्मीले दुई गोल थप्दै रबाफिलो जित निकाल्यो ।
दोस्रो सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई सुटआउटमा २–१ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो । निर्धारित ६० मिनेटको खेलमा गोलरहित बराबरीमा नै सकियो ।
पेनाल्टी सुटआउटमा गण्डकीका संगम घर्ती र अशिम बाहिकले गोल गरे । पुलिसका लागि भने सुरज बोहराले मात्र गोल गर्न सफल भए ।
गण्डकी र आर्मीबीच उपाधि भिडन्त बुधबार हुनेछ । सेमिफाइनलमा पराजित पुलिस र एपीएफ भने तेस्रो स्थानको लागि बुधबार नै प्रतिस्पर्धा गर्नेछ ।
पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । महिलामा भने आर्मीले जितेको थियो ।