
पोखरा । पोखरा महानगरपालिका–४ को कार्यालयअगाडि पन्थी गल्लीका व्यवसायी मंगलबार नाराबाजीमा उत्रिए । वडाध्यक्ष देवकृष्ण पराजुलीविरुद्ध असभ्य शब्दमा नाराबाजी गरिरहेका उनीहरूले व्यवसायी कुटेको आरोप लगाए ।
अध्यक्ष पराजुलीले कस्मेटिक पसल सञ्चालक लेखनाथ सुवेदीलाई हातपात गरेको आरोप व्यवसायीहरूले लगाएका छन् भने जाहेरी दिन जिल्ला प्रहरी कार्यालय समेत गएका छन् । तर, वडाध्यक्ष पराजुलीले भने अनुगमनमा जाँदा आफूमाथि नै हातपात भएको बताए ।
उनको भनाइ संक्षिप्तमा :
म आज अनुगमनमा गएको थिएँ । ममाथि हातपात गरे । व्यवसायको नवीकरण गर्न भनियो । तर, मैमाथि अपशब्द बोले । मेयर हाम्रा हुन्, हाम्रो पार्टी छ भन्दै धाक लगाए । नगरप्रहरीकै अगाडि मेरो नाकमा घोचे, त्यही हात हटाउँदा उसको घाँटीमा लागेको हो ।
उसको व्यवसाय दर्ता छैन, स्थानीय तह मातहत दर्ता हुनुपर्ने हो त्यो छैन, कर तिरेको छैन । कस्मेटिक पसल छ, तर दर्ता छैन उल्टै सडकपेटीमा सामान बेच्ने गरेको छ । केके सामान बेच्ने भन्ने पनि अनुमति छैन । कुन कुन बेच्ने हो, त्यो केही छैन ।