
काठमाडौं । भारतले जम्मू कश्मीरको चेनाब नदीमा सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । यसका कारण पाकिस्तान जाने चेनाब नदीको पानीको बहाव रोकिएको छ र पानीको सतह १५ फिटमा झरेको छ ।
पाकिस्तानमा चेनाब नदीको पानीको सतह २२ फिट थियो जुन २४ घण्टामा ७ फिटले घट्यो । चेनाब नदीको निरन्तर संकुचनका कारण २४ महत्वपूर्ण सहरका तीन करोडभन्दा बढी मानिसलाई आगामी चार दिनपछि पिउने पानीको हाहाकार हुन सक्ने देखिएको छ ।
पाकिस्तानका फैसलाबाद र हाफिजाबादजस्ता घना बसोवास भएका सहरको ८० प्रतिशत जनसंख्या पिउने पानीका निम्ति चेनाबको सतही पानीमा निर्भर छन् ।
सिन्धु जल प्राधिकरणले भारतको यो कदमले बालीका लागि आवश्यक पानीमा २१ प्रतिशत कमी आउने चिन्ता व्यक्त गरेको थियो । पाकिस्तानी संसद्ले भने भारतको उक्त कदमलाई युद्ध छेड्ने कार्यको रूपमा वर्णन गरेको छ ।
पहलगाम आतंकवादी हमलापछि भारतले सिन्धु जल सन्धिलाई रद्द गरेको छ । १९ सेप्टेम्बर १९६० मा भारत र पाकिस्तानबीच ६ नदीको पानी बाँडफाँड गर्न सिन्धु जल सन्धिमा हस्ताक्षर भएको थियो ।
सम्झौताअनुसार भारतले रावी, ब्यास र सतलज गरी तीन पूर्वी नदीहरूको पानी प्रयोग गर्ने र पाकिस्तानले तीन पश्चिमी नदीहरू सिन्धु, झेलम र चेनाबको पानी प्रयोग गर्न पाउने सर्त थियो ।
पाकिस्तानको ८० प्रतिशत कृषि सिन्धु, झेलम र चेनाब नदीको पानीमा निर्भर छ । भारतले यी नदीहरूको पानी रोकेपछि पाकिस्तानमा पानीको संकट गहिरिँदै जाने निश्चित छ ।
यिनै नदीको पानीबाट पाकिस्तानले धेरै बाँध र जलविद्युत् परियोजना सञ्चालन गरेर बिजुली उत्पादन गर्ने गरेको छ । पानीको अभावसँगै अब विद्युत् उत्पादनमा गिरावट आउन सक्छ । विद्युत् उत्पादन घटेसँगै पाकिस्तनको आर्थिक र औद्योगिक गतिविधिमा असर पर्नेछ ।