site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर ग्रुपका सुलभ र मुकुन्दबीचको सेयर विवाद पुग्यो अदालत, दुवै जनालाई झिकाउन आदेश

काठमाडौं । दुई व्यावसायिक घरनाबीच हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर किनबेच विवाद बढेर अहिले उच्च अदालत पाटन पुगेको छ ।  हिमालयन रि–इन्स्योरेन्सको सेयर किनबेच विवाद आपसी समझदारीबाट किनारा नलागेपछि कम्पनी रजिष्ट्रार कार्यालयमा पुगेको थियो । 

रजिष्ट्रार कार्यालबाट विवाद निरुपण हुन नसकेपछि शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल उनकी श्रीमती सुभी अग्रवाल र व्यवसायी मुकुन्दप्रसाद तिमिल्सिनाबीचको सेयर विवाद रजिष्ट्रार कार्यालय हुँदै अहिले उच्च अदालतसम्म पुगेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले सुलभ र उनकी श्रीमती सुभीलाई उपस्थित गराउन आदेश जारी गरेको छ ।  हिमालयन रि–इन्स्योरेन्सको कबुल गरेको सेयर सुलभले नदिएको र बढी मूल्य लिएको दाबी गर्र्दै मुकुन्दले कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । 

कम्पनी रजिष्ट्रारको कार्यालयले म्याद गुुज्रिसकेको भन्दै  दुई लाख २५ हजार कित्ता सेयर बिक्रीको विषयमा सुलभ र सुभी अग्रवालको पक्षमा निर्णय गरेपछि तिमल्सिना उच्च अदालत पाटन पुगेका हुन् । 

पाटन उच्च अदालतले सुलभ र सुभी अग्रवाल दुवै जनालाई झिकाउन आदेश दिएको तिमल्सिनाले बाह्रखरीलाई बताए ।  उजुरीकर्ता तिमिल्सिनाले कामाख्या फिनकोर्प प्रालिको संस्थापक सेयरधनी जगदम्बा फ्लोर एन्ड एग्रो प्रालिको सबै सेयर जफत गर्नुका साथै कबुल गरेको सेयरको रकम बैंक खातामा जम्मा नगरी बिक्री गरेको बताएका छन् ।

हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर जफत र खरिद बिक्री मिलेमतोमा भएको र एकलौटी जफत गरिएको दाबी तिमल्सिनाको छ । 

तिमल्सिनाले दुई लाख २५ हजार कित्ता सेयर नपाएपछि रजिष्ट्रार कार्यालयले गरेको निर्णयविरुद्ध गत माघ २४ मा सबै निर्णय बदर गरी दाखिला भएको ३४ करोड ८० लाख र सोको ब्याजसहितको क्षतिपूर्तिसमेत दिलाइ पाउँ भनी सुलभ, सुभी अग्रवालका साथै कामाख्या फिनकोर्पका विरुद्धमा अदालतमा निवेदन दर्ता गराएका हुन् ।

हिमालयन रिको प्रतिकित्ता एक सय रुपैयाँमा सेयर दिन सहमति भएकोमा पछि शंकर ग्रुपका उपाध्यक्ष सुलभ ले ४१७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ५१७ रुपैयाँ रुपैयाँ कायम गरी झन्डै २९ करोड रुपैयाँ बढी लिएको जिकिर तिमल्सिनाको छ । 

पटक–पटक छलफल हुँदा पनि बढी लिएको प्रिमिय रकम भुक्तानी दिन सुलभ नमानेको उनको भनाइ छ । तिमल्सिनाले अरुलाई एक सय रुपैयाँमा संस्थापक सेयर बेचेको तर आफूलाई ४१७ रुपैयाँ बढी लिएको दाबी गरेका छन् ।  

कामाख्या फिनकर्पले कबुल गरेको हिमालयनको नौ लाख कित्ता संस्थापक सेयरमध्ये दुई लाख २५ हजार कित्ता सेयर जफत गरी बाँकी ६ लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता ५१७ रुपैयाँमा बेचेको आरोप तिमल्सिनाको छ । 
यसअघि जफत गरिएको सेयर सुभीलगायत तिमल्सिनाले लिने सहमति भएको थियो । 

तर, सुभीले आफ्नो नाममा रहेको सेयर बढी मूल्य लिएर मुकुन्दलाई २०७८ असार १६ गते बढी मूल्यमा बिक्री गरेको दाबी गरिएको छ ।

यता प्रथम वार्षिक साधारणसभा नभएसम्म संस्थापकले सेयर बिक्री गर्न नपाउने प्रावधानलाई छल्न सेयर जफत गर्न सुभीमात्र बसेर हिमालयन रि–इन्स्योरेन्सको सेयर छाड्ने र विनाआधार हिमालयन रिको सेयरमा ४१७ रुपैयाँ प्रिमियम थपेर सुलभ अग्रवालले संस्थापक सेयर बिक्री गरेको आरोप लगाइएको छ । 

हिमालयन रि–इन्स्योरेन्समा सेयर लगानी गरेको कामाख्याको प्रबन्धपत्र नियमावली संशोधन हुनुपर्नेमा सो नभएको पाइएको कम्पनी रजिष्ट्रारको कार्यालयले उल्लेख गरेको छ । 

कम्पनीको प्रबन्धपत्र नियमावली संशोधन नहुँदै कम्पनीको एकल अध्यक्ष तथा सञ्चालक भनी वैठक बसेर निर्णय गरेको आरोप सुभी अग्रवालमाथि लागेको छ ।

यस्तै २०७८ जेठ २५ गते सुभीको उपस्थिति भइ बसेको बैठकले हिमालयन रि–इन्स्योरेन्सको कामाख्याले लिन कबुल गरेको नौ लाख कित्तामध्ये दुई लाख २५ हजार कित्ताको हक छाडी छ लाख ७५ हजार कित्ता मात्र लिने निर्णय अवैधानिक भएको जिकिर गर्दै सुभीले आफ्नो नाममा रहेको सबै सेयर प्रिमियम मूल्य राखेर २०७८ असार १६ गते दुई व्यवसायीलाई प्रतिकित्ता ८ सय रुपैयाँमा बिक्री गरेको दाबी तिमल्सिनाको छ । 

प्रिमियम मूल्यमा सेयर बेचेपछि २०७८ असार १७ गते विशेष साधारणसभाबाट नियमावली संशोधन गरी एकल कामाख्या फिनकर्प बहुल सेयरधनीमा परिणत भइको र सोको स्वीकृति तथा अभिलेख २०७८ भदौ १३ गते मात्र भएको जिकिर तिमल्सिनाको छ । 

एकल सेयरधनी कायम रहेको कम्पनीमा बहुल सेयरधनी कायम भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत अभिलेख नहुँदै गरेको काम कारबाहीको कानुनी वैधतामा प्रश्न उठेको छ ।

यस विषयमा सुलभ अग्रवाल खुलेर बोल्न चाहँदैनन् । बाह्रखरीसँग कुरा गर्दै ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।

बोर्डको स्वीकृतिबिना प्रिमियमा सेयर बिक्री 

हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक सुलभ र सुभी अग्रवालले नेपाल धितोपत्र बोर्डको स्वीकृतिवेगर ४१७ रुपैयाँ प्रिमियम थपेर तिमल्सिनालाई ५१७ रुपैयाँमा संस्थापक सेयर बेचेको पाइएको छ । 

धितोपत्र बोर्डको स्वीकृतिबेगर नै प्रिमियम मूल्य लिएर सेयर बेच्न नपाइने व्यवस्था छ ।  तर, सुलभ अग्रवालले बोर्डको स्वीकृतिविनै भित्रभित्र संस्थापक सेयर बिक्री गरेको तिमल्सिनाको आरोप छ । धितोपत्र निष्कासन नियमावलीअनुसार बोर्डको स्वीकृति बेगर बढी मूल्य लिएर सेयर बेच्न पाइँदैन ।   

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्रिमियममा आईपीओे निकाल्ने भन्दै अग्रिम रुपमा बढी मूल्य लिएर सेयर बिक्री भइरहेको उजुरी आइरहेको स्वीकार गरेका छन् । 

केही दिनअघि बाह्रखरीसँग कुरा गर्दै बोर्ड अध्यक्ष श्रेष्ठले भनेका थिए, “प्रिमियममा सेयर बिक्री भएको उजुरीको अध्ययन भइरहेको र यदी पुष्टि भएमा त्यस्ता कम्पनीका सञ्चालकलाई कारबाही हुनेछ ।”

साढे चार प्रतिशत बोनस सेयर प्रस्ताव 

हिमालयन रि–इन्स्योरेन्सले आर्थिक वर्ष २०८०८१ सम्मको वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ४.७४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीले सेयरधनीलाई ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

कम्पनीले ४६ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव नियामक नेपाल बिमा प्राधिकरणमा गरेको  हो । 

उक्त प्रस्ताव बिमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर प्राप्त गर्नेछन् । कम्पनीको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि हिमालयन रि–इन्स्योरेन्सको पुँजी बढेर १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुग्नेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro