-1732260873.jpg)
काठमाडौं । धनुषामा नेकपा एमालेका दुई पक्षबीच भएको झडपमा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार घाइते हुनेमा धनुषा मिथिला बिहारी–१० का रामेश्वर दास र धनुषा क्षीरेश्वरनाथ–५ का सत्यनारायण महासेठ छन् ।
उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनका क्रममा झडप भएको हो । जनकपुरस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा वैशाख २० गतेदेखि अधिवेशन चलिरहेको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरी परिचालन भएको थियो । प्रहरीले समयमै अवस्था नियन्त्रणमा लिन सफल हुँदा ठूलो क्षति नभएको एसपी रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार एक पक्षले अधिवेशनस्थलमा रहेका सुरेन्द्र भण्डारीमाथि हातपात गरेपछि दुईपक्षीय झडप भएको हो ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचनको प्रक्रिया सुरु गरिएको थियो । एमाले धनुषा जिल्ला अध्यक्षका लागि भोला यादव र लक्ष्मीनारायण यादवले उमेदवारी दिएका छन् ।