
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालले आफ्नो मृत्युपछि पार्टीको झण्डा नओढाउनू भनेकाले श्रद्धाञ्जलीका लागि नेकपा (एमाले)को कार्यालय च्यासलमा राख्ने तयारी रोकिएको छ ।
मंगलबार नर्भिक अस्पतालमा निधन भएपछि एमाले कार्यालय राख्ने भन्नेबारे नेताहरुबीच छलफल भएको थियो ।
तर, पार्टीको झण्डा नओढाउनू र श्रद्धाञ्जलीका लागि नराख्नू भनेपछि सिधै पशुपति आर्यघाट लैजाने तय भएको एमालेका एक नेताले जानकारी दिए ।
“कुनै पनि पार्टीकरण नगर्ने र झण्डा नओढाउने भनेपछि श्रद्धाञ्जलीका लागि नराख्ने कुरा भएको हो,” उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली नर्भिक अस्पताल आउने तय भएको थियो । तर, मृत्युपूर्वको नेपालकै इच्छा परिवारले जानकारी गराएपछि उनी रोकिएका हुन् ।
“प्रधानमन्त्री जाने कुरा भएको थियो । मृत्युपछि श्रद्धाञ्जली नगर्ने भन्ने उहाँको इच्छा रहेको जानकारी पाएपछि नजानुभएको हो,” उनले भने ।
यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता पनि नर्भिक आउने तयारीमा थिए ।
अस्पतालमा भीडभाड हुने र श्रद्धाञ्जलीका लागि पनि नराखिने भनेपछि नेताहरु रोकिएका हुन् ।
प्रदीप नेपालले केहीअघि दिएको इन्टरभ्युमा नै आफूलाई पार्टीको झण्डा नओढाउन र मृत्युपछि भिडभाड नगर्न आग्रह गरेअनुरूप पार्टी कार्यालयमा लैजाने, पार्टीको झण्डा ओढाउनेसहितका कार्यक्रम नगरिदिन आग्रह गरेको परिवारका सदस्यले जनाएका छन् ।