site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
उज्याला झकिझकाउ दृश्य नै सिनेमेटोग्राफी हो ?

काठमाडौं । सिनेमाभित्रका उज्याला र झकिझकाउ सिन नै सिनेमेटोग्राफी हो ? अथवा ड्रोनबाट खिचिएका सिन सिनेमेटोग्राफी हो ? सुकिलामुकिला दृश्य खिचेर त्यसलाई नै सिनेमेटोग्राफी भनेर भ्रम छर्ने प्रयास भइरहेको भन्दै यसबाट मुक्त हुनुपर्ने चलचित्रकर्मी बताउँछन् । सिनेमेटोग्राफी त्यो शिल्प हो, जसले सिनेमालाई उज्यालो र चम्किलो मात्र होइन, कथा भन्न भरपुर सहयोग गर्छ । पात्रको मुड र परिवेशअनुसारको दृश्य देखाउँछ ।

सिनेमा भन्नेबित्तिकै त्यसमा कथा हुन्छ, कथा भन्न दृश्य हुन्छ । त्यो दृश्यको मुडअनुसार क्यामेरा चल्नुचाहिँ सिनेमेटोग्राफी हो । “दृश्यको मुडअनुसार खिचिनुपर्छ । त्यसले विभिन्न लेयरमा अर्थ दिनुपर्छ । सिनको एक्सप्रेसनलाई पक्रिन सक्नुपर्छ,” निर्देशक नवीन सुब्बा भन्छन्, “सिनले भन्न खोजेको कुरा के हो त्यसलाई क्यामेराले इनह्यान्स गरिदिनुपर्छ । यसका लागि क्यामेराले लाइट, कलर, लेन्सको सहयोग लिन्छ । यो सबै कुरा भयो भने मात्र त्यसलाई राम्रो सिनेमेटोग्राफी मानिन्छ ।”

यसभन्दा अझ माथि उठेर सिनले फिलोसफी र मेटाफोर पनि दृश्यले बोक्नुपर्छ भन्ने गर्न थालिएको नवीनको भनाइ छ । “नयाँ कति काम गर्‍यो र सिनेमाको अहिलेसम्मको भाषामा कति ब्रेक गरेर अगाडि बढ्यो भन्ने कुराले पनि अर्थ राख्छ,” नवीन स्पष्ट पार्छन्, “एउटै सटमा सुरुदेखि अन्त्यसम्म खिचेको देखिन्छ । अहिले कति लेटेस्ट क्यामेरा आइसके, त्यसको क्षमताअनुसार भिन्न तरिकाले कति प्रयोग गरियो भन्ने हो ।”

Dabur Nepal
NIC Asia

प्रयोग गरिरहेको भन्दा भिन्न लेन्सले क्लोजअप सट लिँदा त्यसले फरक साइकोलोजिकल मिनिङ जन्माउने नवीन बताउँछन् । “झकिझकाउ सिन त अपरिपक्व सिनेमेटोग्राफरले मोबाइलबाट उज्यालो देखाउनुपर्‍यो भनेर खिच्छन् । तर, त्यो सिनेमेटोग्राफी भएन,” नवीन अगाडि थप्छन्, “दृश्यलाई लाइट, कलर, लेन्स, फ्रेमिङ, कम्पोजिसनले जे भन्न खोजेको हो त्यसलाई एक्सप्रेस गर्छ ।”

निर्देशक मीन भाम ब्युटीफुल सर्टले सिनेमा सिनेम्याटिक नहुने बताउँछन् । ब्युटीफुल सटले भिजुअललाई राम्रो मात्र बनाउने उनको बुझाइ छ । यो म्युजिक भिडियोमा धेरै काम लाग्ने उनी सुनाउँछन् ।

“कथा र चरित्रको मनोदशाअनुसार खिचिएको छ भने त्यो नै सिनेम्याटिक हो । ब्युटीफुल फ्रेम लगाउँदैमा त्यो सिनेम्याटिक हुने होइन । पहिलो थिम्सका लागि वाह, कस्तो राम्रो फोटो ! कस्तो सुन्दर हिमाल, कस्तो मनमोहक फूल भनेर पहिलो झिल्कोका लागि राम्रो फ्रेम वा सुकिला तस्बिर सिनेम्याटिक हुनसक्छ । इमेजका रूपमा त्यो सिनेम्याटिक हुनसक्छ,” उनी भन्छन्, “तर, सिनेमा त पहिलो झिल्को मात्रै होइन । यसमा त दृश्य चल्दै जान्छ । एउटा इमेजले मात्रै पुग्दैन । त्यसले पार्ने प्रभाव, त्यसले छोड्ने छाप, जगाउने भाव कति छ त्यसका आधारमा कति सिनेम्याटिक छ अथवा छैन मूल्यांकन गर्न सकिन्छ ।”

क्यामेराको ल्यांग्वेज, दृश्यको भाषा के बनाएको छ त्यसले सिनेमेटोग्राफी कस्तो छ भन्ने निर्धारण गर्ने उनी बताउँछन् । चलचित्र ‘रेड सुटकेस’ धेरै हदसम्म सिनेम्याटिक रहेको उनी उदाहरण प्रस्तुत गर्छन् । यसको राम्रो उदाहरणका रूपमा ‘सेतो सूर्य’को दयाहाङ राईको एउटा सिन सम्झिन सकिने मीन बताउँछन् ।

“सेतो सूर्यमा दयाहाङको क्यारेक्टर गाउँबाट माथि उकालो जाँदै गर्दा उसलाई बच्चाले पछ्याएको क्यामेराको दृष्य भाषा साँच्चै राम्रो सिनेम्याटिक छ । त्यसले दर्शकलाई कौतूहल पनि बनाएको छ । फिल पनि गराउँछ,” मीन भन्छन्, “बच्चाको पोइन्ट अफ भ्युबाट खिचाइएका हिसाबले त्यो कति अर्थपूर्ण छ ।”

डाइलगले मात्र एकोहोरो कथा भनिरहन खोजे सिनेमा सिनेम्याटिक हुनबाट फुत्किने उनको तर्क छ । चलचित्रमा डाइलगले भन्ने विषय नै भिजुअल ल्यांग्वजले भन्ने हो । यसमा धेरै ध्यान नदिँदा नेपाली चलचित्र सिनेम्याटिक हुनबाट चुकिरहेको उनी टिप्पणी गर्छन् । “हाम्रा लागि मानक के हो भन्ने कुरा मुख्य हो । कसैले सिनेम्याटिक सिनेमा धेरैले बुझ्दैन, चल्दैनन् अथवा दर्शक छैनन् भन्छन् । बजारको डरले अड्काइरहेको छ । बजारको त्रासमा राम्रो सिनेमेटोग्राफी भएका चलचित्र बनिरहेका छैनन्,” मीन भन्छन् ।

तर, राम्रा सिनेमा खोजीखोजी हेरिन्छ भन्ने तथ्यलाई भुल्न नहुनेमा उनको जोड छ । चलचित्र रिलिजको बीसौँ वर्षपछि पनि हेरिने गरेको मीन बताउँछन् । “२० वर्षअगाडि बनेका चलचित्र अहिले पनि हामी खोजेर हेरिरहेका हुन्छौँ । आफू सन्तुष्ट कसरी भइन्छ र मेरो मानक के हो भन्ने कुराले निर्धारण हुन्छ,” उनी भन्छन्, “मेरो बेस्ट मानक के हो भनेर राखेपछि बल्ल त्यसलाई प्राप्त गर्नतर्फ लागिन्छ होला । आफूले राखेको मानकमा पुग्न नसके त्यसको आधाउधीमा त पक्कै पुगिन्छ होला ।” 

अन्तिम उद्देश्य नै थानकोट पुग्ने छ भने कसरी पोखरा पुग्न सकिन्छ ? उनको प्रश्न छ । पोखरा पुग्ने उद्देश्य भए त्यहीअनुसारको तयारी गर्नुपर्नेमा उनी जोड दिन्छन् । “पोखरा जान्छु भन्ने तर गाडीमा तेलचाहिँ थानकोट मात्रै पुग्ने हाल्ने हो भने कसरी पोखरा पुगिन्छ र ? यो हाम्रो मुख्य समस्या हो,” उनी भन्छन् ।

निर्देशक नरेशकुमार केसी सिनेमेटोग्राफी पात्र र संवेदना भएको बताउँछन् । बिहे र म्युजिक भिडियोजस्तो उज्यालो लाइट, फ्रेमिङ र सटलाई सिनेमेटोग्राफी भन्न नमिल्ने उनको बुझाइ छ । “बिहेको फोटोलाई राम्रोलाई झन् राम्रो बनाउने हो । म्युजिक भिडियोलाई उज्यालो र चमकदमक सुहाउँछ । सड डिजाइन र ड्रोन सट राखेर त्यसलाई सिनेमेटोग्राफी भनियो भने त्यो गलत हो,” केसी स्पष्ट पार्छन्, “सिनेमाको पात्रको मनोभावना र संवेदनाअनुसारको सट डिजाइन र ब्लकिङ सिनेमेटोग्राफी हो । सिनेमाको पात्र नमिठो अनुुभूति गरिरहेको छ, तर चमकधमक देखाएर खिचियो भने त्यसको के अर्थ भयो र ? पात्रको मनोभावना र संवेदना फ्रेम, कलर, सटमा देखिनुपर्छ ।”

चलचित्रमा संवाद साहित्य भएकाले त्यसले एकखालको म्यासेज दिने र त्यो कथा अथवा सन्देशलाई अझ प्रभावकारी बनाउने काम नै सिनेमेटोग्राफी भएको उनी बताउँछन् । पात्र र कथाको मुडअनुसारको सिनेमेटोग्राफी हुनुपर्ने उनको धारणा छ । अन्यथा, त्यसलाई सिनेमेटोग्राफीभन्दा पनि फोटोग्राफी भन्न सकिने उनी टिप्पणी गर्छन् ।

नेपालमा उज्याला, चम्किला र हेवी प्रोडक्सनलाई अगाडि सारेर त्यसैलाई सिनेमेटोग्राफी भन्नेहरूको संख्या ठूलो छ । यो भ्रम मात्र भएको उनी बताउँछन् । “विवाहका तस्बिर उज्याला र आकर्षक हुन्छन् । स्टिल फोटोग्राफी पनि झकिझकाउ हुन्छ । ड्रोन सट पनि हेर्दा राम्रो लाग्छ । त्यसो भए त्यसलाई सिनेमेटोग्राफी भन्ने ?,” उनको प्रश्न छ, “हरेक सर्ट, फ्रेम, कम्पोजिसन र एंगलको आ–आफ्नै अर्थ हुन्छ । सिनेमामा देखाइने सबै कुरा सिनेमेटोग्राफी होइन । कमजोर साहित्य छ अथवा कमजोर कथा छ भने त्यो कमजोरीलाई ढाकछोप गर्न पनि सिनेमामा झकिझकाउ दृश्य र सट राखेर सिनेमेटोग्राफी भन्ने गरिएको छ, जुन आफैँमा गलत हो ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro