site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वर्गद्वारी आश्रमको २०९ बिघा ११ कठ्ठा जग्गा व्यक्ति तथा संस्थाको कब्जामा 
फाइल तस्बिर ।

काठमाडौं । स्वर्गद्वारी आश्रमको नाममा दाङमा रहेको २०९ बिघा ११ कठ्ठा जग्गा व्यक्ति तथा संस्थाले कब्जा गरेको पाइएको छ । स्वर्गद्वारी आश्रमको नाममा दाङको विभिन्न स्थानमा रहेको एक हजार ३४ जग्गामध्ये २०९ विघा ११  कठ्ठा जग्गा व्यक्ति तथा संस्थाले कब्जा गरेका हुन् । 

व्यक्ति तथा संस्थाले स्वर्गद्वारी आश्रमको जग्गा अतिक्रमण गरी कब्जा गरेको कुरा महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ६१औँ प्रतिवेदनमा पनि औंल्याएको छ ।

“स्वर्गद्वारी आश्रमको नाममा दाङको विभिन्न स्थानमा एक हजार ३४ बिघा जग्गा रहेकोमा ७५० बिघा जग्गामा मोही कायम भएको, ७५ बिघा ९ कट्टा जग्गा आश्रम आफैँले प्रयोग गरेको र दाङको रामपुर, लमही एवं घोराहीस्थित २०९ बिघा ११ कठ्ठा जग्गा विभिन्न व्यक्ति तथा संस्थाले कब्जा गरी अतिक्रमण गरेको विवरण प्राप्त भएको छ,” महालेखाले प्रतिवेदनमा भनेको छ ।  

दाङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले मोही कायम भएको जग्गामध्ये १५० बिघा जग्गाको मोहियानी हकको लगत कट्टा गरेको छ । उक्त कार्यालयले अतिक्रमित जग्गा हटाउने कार्यको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । हालसम्म पनि उक्त जग्गा अतिक्रमित अवस्थामा नै रहेको छ ।

मुलकी देवानी संहिता, २०७४ को दफा ३०६ र ३०७ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा आफ्नो कब्जामा राखेमा वा आबाद गरेमा सम्बन्धित मालपोत कार्यालयले जग्गा छुट्याई जग्गाबाट उब्जेको बाली लिई जग्गा खाली गराउनुपर्ने र सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख छ । 

स्वर्गद्वारी गुठी, नेपाल सरकार र गुठी संस्थानबाट संरक्षित विशेष प्रकृतिको निजी गुठी भएको सर्वोच्च अदालतले २०६२ चैत १४ गतेको परमादेशमा उल्लेख गरेको छ । 

यसकारण आश्रमको नाममा दर्ता रहेको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिन आवश्यक संरक्षण प्रदान गर्नु/गराउनु भनी विपक्षीहरू भूमिसुधार तथा व्यवस्था मन्त्रालय र गुठी संस्थानको नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । अदालतले परमादेश जारी गर्दा पनि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कब्जा गरेको स्वर्गद्वारीको जग्गा खाली गराउन सकेको छैन ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro