काठमाडौं । उनलाई बिहीबार साँझ फोन आएको थियो, “भोलि आन्दोलन छ, माइतीघर मण्डला आउनु है ।”
आन्दोलनको लागि तोकिएको समय थियो शुक्रबार बिहान ११ बजे ।
एक्लो ज्यान, बिहान उनलाई खासै हतारो हुँदैन । समयमै खाना खाई उनी आन्दोलनमा सहभागी हुन माइतीघर मण्डला आइपुगेकी थिइन् ।
आन्दोलन हो– सहकारी बचतकर्ताको ।
“विरोधका कार्यक्रम भए भने फोन आउँछ, म आइहाल्छु,” उनी अर्थात् महालक्ष्मी मैनाली भन्छिन्, “पैसा फिर्ता भैहाल्छ कि भन्ने आशा कता कता मनमा छ, त्यही आशाले नआऊँ भन्दा पनि डो¥याउँदै ल्याउँछ ।”
महालक्ष्मीको घर काभ्रेको तेमाल गाउँपालिका–८ मा पर्छ । तर उनी काठमाडौं उपत्यकामा बस्दै आएको दशकौं भयो । कहिले काठमाडौं त कहिले भक्तपुर ।
“मेरो केही छैन । खेती छैन । घर–जग्गा केही छैन,” आँखाभरी आसु बनाउँदै महालक्ष्मीले सुनाइन्, “मजस्तीको पनि पैसा खानेको भलो भगवानले कसरी गर्लान् र !”
उनले वर्षौैँ दुःख गरेको बचत कोटेश्वरस्थित परस्पर सहकारीका पदाधिकारीले खाइदिएपछि उनी अहिले आन्दोलनमा होमिएकी छन् । उनको एउटै माग छ– आफ्नो पैसा फिर्ता पाउनुपर्छ ।
महालक्ष्मीलाई आफ्नो विवाह कहिले भयो ठ्याक्कै मिति याद छैन । उनी सम्झिन खोज्छिन्, “२०२३–२३ सालतिर हुनुपर्छ ।”
विवाह गरेको एक वर्षपछि श्रीमान्को मृत्य भयो । उनी त्यतिबेला मात्र ११ वर्षकी थिइन् । अहिले उनी ६९ वर्षकी भइन् ।
“म एक्लै छु । विवाह गरेको एक वर्षपछि श्रीमान् बित्नु भयो । त्यसपछि विवाह गरिनँ । एक्लै नै बस्दै आएको छु,” आँखाको डिलबाट खस्नै लागेका आँशु पुछ्दै महालक्ष्मीले आफ्नो कथा सुनाइन्, “घरमा कसैले वास्ता गरेनन् । त्यसपछि माइत गएँ । माइतमा कति बस्नु जस्तो लाग्यो अनि काठमाडौं आएको ।”
उनलाई काठमाडौंबाट कसैले बोलाएको थिएन । खोइ उनको मनमा के चल्यो काठमाडौं आइन् । उनको दिदी र बहिनी भने काठमाडौंमा थिए ।
“अब त बुढी भइसकें । भक्तपुरको लोकन्थलीमा बस्छु । एक्ली छु । लोकन्थली बसेको पनि २० वर्ष भइसकेछ,” पीडाका बीच पनि उनी मुस्कुराइन् ।
महालक्ष्मी काठमाडौं आएको ३७ वर्ष भयो रे । २०४४ सालको अन्ततिर काठमाडौं आएकी ।
काठमाडौं आउँदा उनले जानेको केही थिएन । पढाइ पनि थिएन । सुरुको एक दुई महिना दिदीको घरमा बसिन् । त्यसपछि कोठा खोजेर काठमाडौंको धुम्बाराहीमा एक्लै बस्न थालिन् ।
काठमाडौं बाँच्न सहज थिएन । ज्यान त पाल्नैपर्यो । उनले ज्यामी काम गर्न थालिन् । कहिले बालुवा बोक्ने त कहिले गिट्टी । कसैले ईटा बोक्न बोलाए उनी ‘नाइ’ भन्दैन्थिन् । पछि पछि मार्बल घोट्ने काम पनि गर्न थालिन् । मेहनत गर्न उनी न डराउथिन् न लजाउँथिन् ।
“पहिला ज्यामी काम गर्थें, अहिले त काम गर्न सक्दिन,” उनले आफ्नो अवस्था बताइन् ।
महालक्ष्मी धुम्बाराहीमा १६–१७ वर्ष बसिन् । त्यसपछि २०६१ सालमा भक्तपुर लोकन्थली सरिन् । अहिले पनि उनी लोकन्थलीमै बस्दै आएकी छन् । लामो सयम बसेर होला उनलाई लोकन्थली आफ्नै जन्मथलो लाग्छ ।
“लोकन्थली नै रमाइलो लाग्छ । अन्यत्र सर्न पनि मन लाग्दैन,” उनले सुनाइन् ।
लोकन्थलीमा महालक्ष्मी बस्ने घर नजिकै एक जना बहिनी बस्थिन् । उनी कोटेश्वरस्थित परस्पर सहकारीमा काम गर्थिन् । एकदिन तिनै बहिनीले उनलाई सहकारीमा पैसा राख्न अनुरोध गरेकी थिइन् ।
“म यस सहकारीमा काम गरुन्जेल आमाले पिर मान्नु पर्दैन । पैसा चाहिएको बेला म ल्याइदिहाल्छु नि,” ति बहिनीले महालक्ष्मीलाई फकाइन् ।
धेरै करकाप गरेपछि उनले नाइ भन्न सकिनन् । त्यसपछि परस्पर सहकारीमा तिनै बहिनीले खाता खोलिदिइन् । खाता खोल्न महालक्ष्मीलाई सहकारीको कार्यालयमा जानु पनि परेन । सही छाप लगाउने सबै काम कोठामै भयो ।
परस्पर सहकारीमा कहिलेदेखि उनले पैसा जम्मा गर्न थालिन् ठ्याक्कै मिति उनलाई याद छैन । सुरुमा थोरै थोरै पैसा राखेकी थिइन् । कहिले दिनको एक सय रुपैयाँ पनि जम्मा गर्थिन् ।
“धेरै ब्याज आउँछ भनेर लोभ्याएपछि बैंकमा भएको पैसा पनि झिकेर सहकारीमा राखेको थिएँ । आमा तपाईं गरिब मान्छे, दुःखी मान्छे भनेर फकाइन् । मैले पनि हो न हो भनेर पत्याएँ । १४ प्रतिशत ब्याज दिन्छु भनेर खाता खोल्न लगाएका थिए,” महालक्ष्मीले ति दिन सम्झिइन् ।
ति बहिनीले उनलाई ‘आमा’ भनेर सम्बोधन गर्थिन् ।
उनलाई पनि ती छोरीजस्तै लाग्थ्यो । सहकारीमा खाता खोलेर पैसा राख्दा महालक्ष्मीले सहकारीको अफिस धरी देखेकी थिइनन् । सबै विश्वासमा चलेको थियो । महालक्ष्मीले मुद्दती खातामा पैसा राखेकी थिइन् । प्रत्येक वर्ष नवीकरण गर्थिन् । उनले २० वर्षमा दुई लाख रुपैयाँ बचत गरेकी थिइन् । त्यो सबै सहकारीमा थियो ।
“ज्यामी काम गरेर नखाई नखाई जम्मा गरेको पैसा थियो त्यो । दुई चार पैसा ब्याज आउँछ, घरभाडा तिर्न हुन्छ, खान हुन्छ भनेर सहकारीमा पैसा राखेको थिएँ,” महालक्ष्मीले भनिन् ।
२०७९ चैत महिनामा उनले एक वर्षको लागि मुद्दती खातामा राखेको अवधि सकिँदै थियो । उनले ती बहिनीलाई उक्त कुरा सम्झाइन् । पैसा झिकेर ल्याउने कुरा गर्दा बहिनीले राम्रो संकेत गरिनन् ।
त्यसपछि महालक्ष्मीले झसङ्ग हुँदै भनिन्, “के भनेको नानी यस्तो ।”
“खै के हो के हो आमा, पैसा एकैपटक दिँदैनन् रे,” ति बहिनीले भनिन् ।
उनी छाँगाबाट खसेजस्तै भइन् । शरीर काप्न थाल्यो । आफूलाई सम्हाल्दै महालक्ष्मी झोक्किइन्, “त्यसो हो भने मलाई अफिसमा लिएर हिँड ।”
२०७९ सालको चैतमा दुवैजना सँगै परस्पर सहकारीको कोटेश्वरस्थित कार्यालय गए । महालक्ष्मीले सहकारीका अध्यक्ष इन्द्र श्रेष्ठलाई भेटिन् ।
“आमा म एकैपटक त सबै पैसा दिन सक्दिन,” सहकारीका अध्यक्षले भने ।
“त्यसो हो भने दुईपटक गरेर दिनोस्,” महालक्ष्मीले प्रस्ताव गरिन् ।
“दुई पटकमा पनि सकिँदैन,” उनको जवाफ आयो ।
“कति पटकमा दिन सक्नुहुन्छ त ?,” उनले प्रश्न गर्दै भनिन् ।
“प्रत्येक हप्ता २५ हजारका दरले दिन्छु,” महालक्ष्मीले पाएको जवाफ यस्तो थियो ।
महालक्ष्मी र सहकारीका अध्यक्षबीच हप्तामा २५ हजार रुपैयाँका दरले पैसा उपलब्ध गराउँदै जाने सहमति बन्यो ।
२५–२५ हजार रुपैयाँ गरेर पैसा आयो भने पनि दुई महिनामा त आफ्नो सबै पैसा हात पर्छ भन्ने उनलाई लाग्यो । त्यसैले सहमति गरेकी थिइन् ।
“आमा तपाईँ यिनलाई विश्वास गर्नुहुन्छ,” सहकारीका अध्यक्षले ती बहिनीलाई देखाउँदै भने ।
“गर्छु । यिनी मेरो कोठा नजिकै बस्छिन्,” महालक्ष्मीलाई लामो सवाल जवाफ गर्न मन थिएन ।
“त्यो हो भने म यिनै बहिनीसँग २५ हजार रुपैयाँ पठाइदिन्छु,” अध्यक्षले भने । महालक्ष्मीले ‘हुन्छ’ भनेर सहकारीको कार्यालयबाट बाहरिन् ।
यसको केही दिनपछि ती बहिनीका घरभेटी महालक्ष्मीलाई भेट्न आए । उनले महालक्ष्मीलाई बहिनीले दिएको भन्दै १० हजार रुपैयाँ थमाए । “खोइ त ती बहिनी ?,” महालक्ष्मीले सोधिन् ।
“ती बहिनी त कोठा छोडेर अन्तै गइन्,” घरभेटीले भने ।
“कता ?” उनले सोधिन् ।
“त्यो त थाहा भएन,” घरभेटीबाट जवाफ आयो ।
महालक्ष्मीलाई चक्कर लागेजस्तो भयो । चारैतिर चकमन्न अध्यारो छाएजस्तो । भित्ता समाउँदै उनी थुचुक्क बसिन् ।
केही बेरपछि लामो सुस्केरा हाल्दै उनी जुरुक्क उठेर आफ्नो कोठामा छिरिन् ।
अनि ती बहिनीलाई फोन गरिन् । बहिनीले मोबाइल उठाइनन् । त्यसपछि सहकारीका अध्यक्षलाई फोन गरिन् । अध्यक्षले पनि मोबाइल उठाएनन् ।
“संस्थाले तिरेन भने तपाईँको पैसा म तिर्छु,” खाता खोल्नुअघि ती बहिनीले भनेको वाक्य महालक्ष्मीको कानमा गुञ्जीरहेको थियो । उनले फेरि ती बहिनीलाई फोन गरिन् । उनले सन्देश पाइन्, “तपाईँले सम्पर्क गर्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ ।”
के गर्ने कसो गर्ने उनले सोच्नै सकिनन् । पहिलो सहकारीको कार्यालय जाने निधो उनले गरिन् । उनी कोटेश्वर पुगिन् ।
कार्यालयमा कोही थिएन एक जना सेक्युरिटी गार्ड बाहेक ।
गार्डबाटै उनले थाहा पाइन्– सहकारीका सबै पदाधिकारी त सबैको पैसा गोलमाल गरेर फरार भैसकेछन् । अध्यक्ष फरार, उनलाई खाता खोल्न लगाउने बहिनी पनि फरार ।
“म त गरिब मान्छे थोरै पैसा जम्मा गरेको थिएँ । अरुको त करोडौं रुपैयाँ थियो । सबैको खाएर भागेछन्,” महालक्ष्मीका आँखा फेरि रसाए ।
दुई महिना दिनहुँ उनी परस्पर सहकारीको कार्यालय धाइन् । सधैँ सेक्युरिटी गार्ड मात्र भेटिन्थे । एक दिन त तलब नपाएपछि सेक्युरिटी गार्डले पनि छोडेछन् । कार्यालयमा ताल्चा लागेको थियो । त्यसपछि उनी पनि सहकारीको कार्यालय जान छोडिन् ।
“गार्डमात्र हुँदा म दिनकै गएँ, तैपनि कोही भेटिहाल्छ कि भनेर । कोही भेटिएनन् । अफिसका कर्मचारीलाई फोन गर्यो कसैले उठाएनन्,” उनले एक वर्षअघिको घटना स्मरण गरिन् ।
त्यसपछि सहकारीका विरुद्ध उजुरी गर्न उनी धेरै ठाउँ पुगिन् । सहकारी विभागदेखि कोटेश्वरस्थित प्रहरी चौकी, टेकुस्थित प्रहरीमा पनि उनले उजुरी दिएकी छन् । तर पैसा खाएर भागेका सहकारी पदाधिकारी कोही भेटिएका छैनन् ।
अब के गर्नुहुन्छ त ? बाह्रखरीको प्रश्नमा उनले भनिन्, “के गर्नु र, सरकारले दिएछ भने पैसा पाइन्छ होला । नत्र के पाइएला र । सञ्चालकहरु छैनन्, उनीहरुलाई ल्याएर थुन्न सकेको छैन ।”
उनी लोकन्थलीमा भाडाको कोठामा एक्लै बस्छिन् ।
सहकारीमा बचत गरेको पैसा खाएर सञ्चालकहरु भागेपछि उनलाई पिरमाथि पिर थपिएको छ । न भोक लाग्छ न निद्रा नै । खाली मनमा कुरा खेलिमात्र रहन्छ ।
“पुर्ख्यौली सम्पत्ति केही छैन, केही आउँदैन । घरबाट केही लिएको छैन, माइतीतिरबाट पनि केही लिएको छैन । एकल महिला भत्ता महिनाको २६ सय आउँछ । त्यसैले बाँचेको छु । नपुगेको भाई भदाहरुले हेरेका छन्,” उनी सुकसुकाइन् ।
उनीसँग कुनै योजना छैन । उनीजस्तै पीडितहरुले अहिले सञ्चालन गरेको आन्दोलनमा कसैले बोलाए सहभागी हुन आउँछिन् । अन्य समय लोकन्थलीको कोठाभित्रै रमाउँछिन् । पैसा फिर्ता आउला भन्ने उनलाई आशा पनि छैन । तर आन्दोलनमा आउन पनि छोड्दिनन् ।
“पैसा फिर्ता आउला भन्ने आशा त छैन । यहाँ आउँदा झन् एक दुई हजार खर्च बढ्यो । तर के ले डो¥याउँदै यहाँ (माइतीघर मण्डला) ल्याउँछ थाहा छैन । कतै मनमा पैसा आइहाल्छ भन्ने आशा भएर हो कि,” महालक्ष्मीले कुराकानीको बिट मारिन् ।