site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बेला बेला सरकारमाथि किन खनिन्छन् बालेन शाह ? 

काठमाडौं । सोमबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को एउटा फेसबुक स्टाट्स क्षणभरमै भाइरल भयो । बालेनको स्टाट्स यसरी भाइरल भएको यो पहिलो पटक भने होइन ।

नौ महिनाअघि सुत्केरी जाँचका लागि अस्पताल जाँदै गरेकी आफ्नी श्रीमती सवार महानगरपालिको सरकारी गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको झोकमा सिंहदरबार नै जलाउने धम्कीसहितको स्टाट्स पनि यस्तैगरी भाइरल भएको थियो । 

सरकारी गाडी शनिबार विदाका दिन चलाएपछि ट्राफिक प्रहरीले रोक्दै जाँचेको थियो । शनिवार पूर्वअनुमतिबेगर सरकारी गाडी चलाउन मिल्दैन ।

यसबाहेक पनि बालेनले लेखेका अन्य स्टाट्ससमेत प्रायः विवादित बन्दै आएका छन् ।  सिंहदरबार जलाउने स्टाट्सलाई अराजक ठान्दै सरकारले मेयर बालेनलाई पक्राउ गर्ने तयारी समेत गरेको खुलासा भएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै प्रहरी प्रमुख र सेना प्रमुखलाई बोलाएर पक्राउ गर्न निर्देशन दिएको बताएका थिए ।  

तर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘लोकतन्त्रमा बोल्ने छुट भएको’ भन्दै पक्राउ गर्न नहुने अडान लिएपछि सरकार पछि हटेको उनको दाबी थियो ।

सोमबार पनि बालेनले फेरि उही प्रकृतिको स्टाटस लेखे । घटना क्रममा पनि करिब–करिब मिल्दो जुल्दो देखिन्छ ।

सोमबार महानगरकै फोहोर बोक्ने गाडीबीच बाटोमा रोकिएको भन्दै प्रहरीले नियन्त्रणमा लियो । त्यही झोंकमा बालेनले स्टाटस लेखिदिए, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बाक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले ।’

बालेन यत्तिमै रोकिएनन् अगाडि थपे, ‘जबसम्म स–सम्मान चालक रिहा हुँदैनन्, सिंहदरबारलगायत सबै पार्टीका कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को–को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिँदैन ।’

मंगलबार १२ बजेसम्म बालेनको उक्त स्टाटसमा एक लाख ९७ हजार मानिसले रियाक्ट गरेका छन् । २९ हजार आठ सय जनाले कमेन्ट तथा ११ हजार एक सय जनाले सेयर गरेको देखिन्छ ।

उक्त स्टाट्स लेखेको एक घण्टाभित्रै फेरि अर्को स्टाट्स लेख्दै प्रहरीले समातेका चार जनालाई छोडेको खबर पाएको भन्दै, ‘आफ्ना कुनै कर्मचारी माथि अनाहकमा अपमान महानगरले सहँदैन ।’

यस्तो थियो घटना ?

सोमबार बिहान फोहोर बोकेका महानगरपालिकाका चारवटा टिपर माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा जाने उकालो बाटोको छेउमै पार्किङ गरिएको थियो । लामो समयसम्म फोहोरका गाडी पार्किङमा राखिएपछि स्थानीयले प्रहरीलाई खबर गर्दै फोहोरका गाडी हटाइदिन आग्रह गरे ।

स्थानीयको खबरपछि बानेश्वर प्रहरी र कोटेश्वर प्रहरी टोली फोहोरको टिपर पार्किङ गरिएको ठाउँमै पुग्यो । तर, चालक नदेखेपछि प्रहरीले खोजी गर्यो । पछि ती चालकलाई नियन्त्रणमा लिएर पार्किङ गरिएको स्थानबाट टिपर हटाउन लगायो ।

चारवटा टिपरलाई प्रहरीले टेकुस्थित वातावरण विभाग पठायो । टिपरमा प्रहरी पनि सँगै गएका थिए । काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त रजौरेले टिपर चालकलाई नियन्त्रणमा भने नलिइएको बताए ।

“टिपर चालकलाई पक्राउ गरिएको होइन । बीच बाटोमा फोहोरका टिपर पार्किङ गरिएको खबर स्थानीयले गरेपछि त्यहाँबाट हटाउन लगाएका हौं,” एसएसपी रजौरेले भने ।

स्रोतले दिएको जानकारीअनुसार नुवाकोटको बन्चरेडाँडा ‘ल्यान्डफिल्ड’ साइटको व्यवस्थापनमा सरकारले चासो नदिएपछि काठमाडौं महानगरपालिकाले माओवादी पार्टी कार्यालयअगाडि फोहोर जम्मा गरेर सांकेतिक विरोध जनाउन खोजेको बताए ।

घटनाबारे महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले घटना सबै छताछुल्ल भएकाले थप कुरा गर्न आवश्यक नरहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro