काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् । आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै आक्रोश पोखेका छन् ।
उनले चालकलाई रिहा नगरे सिंहदरबारसहित सबै पार्टी कार्यालयको फोहोर नउठाउने चेतावनीसमेत दिएका छन् । उनले नेताहरूको घरको समेत फोहोर नउठाउने बताएका छन् ।
"भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन," उनले लेखेका छन् ।
बालेनले चालक नियन्त्रणमा लिइएको विषयमा थप विवरण खुलाएका छैनन् ।