काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही भागमा केही गर्मी हुने जनाएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार आज धनगढी, नेपालगञ्ज र भैरहवामा तीसदेखि ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहने छ । शनिबार केही स्थानमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको उनले जनाए ।
काठमाडौंमा भने आज २९ देखि ३१ डिग्री सल्सियससम्म तापक्रम हुनेछ । पुडासैनीले गएराति पनि काठमाडौंमा वर्षा भएको र आज दिउँसो समेत चट्याङसहित वर्षाको सम्भावना रहेको जानकारी गराए । उनले हिजो काठमाडौंमा वर्षकै सबैभन्दा बढी ३३ दशमलव ६ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएकोमा आज केही घट्ने अनुमान गरिएको जनाए ।
हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टा कोसी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।