site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न– कतिचोटि विश्वासको मत लिनुहुन्छ ?
तस्बिर : रासस ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक विश्वासको मत लिएकामा आपत्ति जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते चौथोपटक संसद्मा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई कतिपटक विश्वासको मत लिने ? भनी प्रश्न समेत गरे । “...म यसो गर्छु, उसो गर्छु त भन्नुहुन्छ, तर उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनु छ,” उनले भने, “कतिचोटि विश्वासको मत लिनुहुन्छ ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ । तीनचोटि त भइसक्यो । र, यही तरिकाले सरकार चल्ने हो भने अझ दुई/चारचोटि सरकार फेरिरहन्छ ।”

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको जिकिर गरे । त्यसलाई परिवर्तन गरेर अघि बढ्ने विषयमा ठूला दल कांग्रेस र नेकपा (एमाले) मिल्नुपर्ने उनले दोहोर्‍याए ।

“...दुईवटा ठूला दल एक ठाउँमा नउभिई दुईतिहाइ बहुमत आउन सक्दैन अहिले । तर, एउटा डर त छ । दुईवटा ठूलो दल एक ठाउँमा उभिँदाखेरि के हुन्छ त भन्दा निरंकुशतातिर देश जान्छ कि भन्ने ठूलो डर छ मान्छेहरूमा र ममा पनि त्यो डर छ,” उनले भने । 

नेता कोइरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढे मुलुकलाई बर्बाद हुनबाट कसैले जोगाउन नसक्ने टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro