काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि भइरहेको अनुसन्धान रोकिएकाले संसदीय समिति चाहिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समग्र सहकारी समस्या छानबिनका लागि संसदीय समिति बनाउने प्रस्ताव स्वीकार्य नभएको भन्दै महामन्त्री शर्माले अनुसन्धान नै गृहमन्त्रीका कारण रोकिएकाले उनैमाथि छानबिन गर्न संसदीय समिति चाहिएको बताएका हुन् ।
प्रधानमन्त्रीले बिहान बालुवाटारको बैठकमा संसदीय समिति अघि बढाउने प्रस्ताव राखेको भन्दै त्यसमा रास्वपाको टालटुले प्रस्ताव आएको बताए । उनले प्रधानमन्त्रीले सहकारीमा भएको अपचलन, ठगीको सम्बन्धमा छानबिन गर्न संसदीय समिति बनाउने प्रस्ताव रास्वपाले ल्याएको जानकारी दिए ।
उनले रास्वपाले ल्याएको प्रस्तावमा गृहमन्त्रीको नाम नतोकी समग्र छानबिन अघि बढाउने प्रस्ताव राखेकोमा कांग्रेसले अस्वीकार गरेको बताए । “नेपाली कांग्रेसले उठाएको विषय के हो त भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँ गृहमन्त्री बन्नुभन्दा पहिले अघिल्लो सरकारले उहाँमाथि छानबिन अघि बढाएको थियो । केही सहकारीको ठगी र अपचलनमा उहाँको संलग्नतामा सीआईबीले नै अनुसन्धान गरिरहेको विषय यो सरकार बनेपछि रोकियो,” महामन्त्री शर्माले भने, “राज्यका निकायले गर्दै गरेको काम रोकिएका कारण उहाँको संलग्नतामाथि छानबिन गर्न संसदीय समितिको आवश्यकता परेको हो ।”
उनले सूर्यदर्शन, स्वर्णलक्ष्मी, सुप्रिम जस्ता सहकारीको नाम उल्लेख भएर त्यहाँको छानबिन रोकिएको बताए । त्यससँगै जोडिएर गोरखा मिडिया नेटवर्कमा भएको विवरणमा पनि छानबिन गर्नुपर्ने आवश्यकता परेको बताए ।
“अहिले छानबिन हुँदै गर्दा रवि लामिछानेजी कुनै टेलिभिजनको सञ्चालक हुनुहुन्थ्यो । र, जीबी राईको पार्टनर गगन थापा हुनुहुन्थ्यो भने टेलिभिजनबाट उहाँले के भन्नुहुन्थ्यो ? अथवा रवि लामिछाने गृहमन्त्री नै हुनुहुन्थ्यो र जीबी राईको पार्टनर विश्वप्रकाश हुन्थ्यो भने विश्वप्रकाश यहाँ उभिएर बोलिरहेको हुन्थ्यो होला ?,” प्रश्न गर्दै शर्माले भने, “हामी व्यक्तिमा गएकै छैनौँ । सहकारीको यत्ति ठूलो, रकम अपचलन भएको छ, राष्ट्रमा यति धेरै सहकारी क्षेत्रको बेथिति छ, त्यो बेथिति भएका कुराहरूको समग्र छानबिन गरेर बचतकर्ताको बचत सुरक्षित गरेर पैसा फिर्ता हुने प्रक्रियाको सुरुआत गर्दै गर्दा टाउकोबाटै हुनुपर्छ ।”
उनले ठूलालाई छुट दिएर साना सनालाई छानबिन तान्दैमा समस्या समाधान नहुने बताए । उनले रवि दोषी नभएको भन्दै प्रश्न उठेका विषयमा छानबिन मात्र माग गरेको बताए । “हामीले तपाईं नै दोषी हो भनिरहेका छैनौँ । यति मात्रै के भनिरहेका छौँ– गोरखा मिडियामा सहकारीबाट पैसा आएको हो कि होइन छानबिन गरौँ न, सहकारीको पैसा कम्पनीमा ल्याउन मिल्छ कि मिल्दैन छानबिन गरौँ न । गोर्खा मिडियामा पैसा आएको बेला तपाईं सञ्चालक हुनुहुन्थ्यो छानबिन गरौँ न । गोर्खा मिडिया चलेको छ कि तालाबन्दी छ छानबिन गरौँ न । जम्मा यत्ति त भनेको हो ।,” शर्माले भने ।