काठमाडौं । भारतीय फुटबल टिममा करिब दुई दशक नियमित सदस्य रहँदै आएका कप्तान सुनिल क्षेत्रीले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे ।
३९ वर्षीय सुनिलले सामाजिक सञ्जालमार्फत फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत जुन ६ मा हुने कुवेतविरुद्धको खेलपछि फुटबल बुट झुन्ड्याउने घोषणा गरे ।
बुबा खड्गबहादुर क्षेत्री र आमा सुशिला क्षेत्रीका दुई सन्तानमध्येका जेठो छोरा हुन् सुनिल । सन् २००५ मा पाकिस्तानविरुद्ध भारतीय सिनियर टिमबाट ‘डेब्यु’ गरेयता सुनिलको फुटबल करियरले पछाडि हेर्नुपरेन । सन् २०१२ मा भारतीय टिमको कप्तान बनेका सुनिल अहिले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने चौथो फुटबलर हुन् ।
उनले भारतीय टिमबाट १५० खेल खेल्दा ९४ गोल गरेका छन् । सुनिलभन्दा अघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो (१२८), इरानका दाइ अली (१०९) र अर्जेन्टिनाका कप्तान लियोनल मेसी (१०८) मात्र अघि छन् ।
आमाको फुटबल संस्कारमा हुर्किएका सुनिल
सानोमा सुनिल निक्कै चकचके स्वभावका थिए । घरका भित्ता र अरु सामान पनि खुट्टाले हानिराख्ने, खेल्दा खेल्दै घरका धेरै समान फुटाउँथे सुनिल । त्यसैले उनले बा–आमाको कुटाई पनि धेरै खानु परेको थियो । आमाले गाली गर्दा घरबाट भागिहाल्थे । कुनै समय फुटबलको मायाले गर्दा गरेका कामहरूबाट आमा पनि खुसी नभएको किस्सा सुनिल आफैँ सुनाउँछन् ।
“कुनै समय फुटबलको मायाले गर्दा गरेका कामहरूबाट आमा पनि खुसी हुनुहुन्थेन । म सधैँ बाहिर हुन्थे । आफ्नो छोरासँगै नहुँदा आमालाई पनि कता गयो भन्ने चिन्ता हुन्थ्यो । आमा २५ वर्षको हुँदा म र बहिनी थियौँ । बुबा घरबाहिर हुनुहुन्थ्यो । आमालाई हिन्दी पनि राम्रोसँग आउँदैन थियो । त्यसबेला उनलाई निकै गाह्रो थियो ।”
मावलीमा सुनिलका पाँच मामा थिए, सबैजना फुटबल खेल्ने । बुवा आर्मीमा भएकाले स्वभाविकै रेजिमेन्टमा फुटबल खेल्थे । आर्मीका खेलकुद भनेको नियमित थियो ।
सुनिलका आमा आफैँमा एक प्रखर एथलिट थिइन् । पूर्वी नेपालबाट भारतीय सैनिकमा रहेका खड्गसँग बिहे गरेपछि भारत पुगेकी सुशिलाले नेपाली राष्ट्रिय महिला टिमबाट पनि फुटबल खेलेको दाबी भारतीय मिडियाले गर्दै आएका छन् । तर, यसको आधिकारिक पुष्टि भने कतैबाट भएको छैन । जे होस्, पूर्वी नेपालको फुटबल माहोलमा हुर्किएकाले पनि उनले सुनिललाई खेलाडीमा हुनुपर्ने अनुशासन र संयमता सिकाइन् ।
फुटबल खेल्न नपाउँदा सुनिल ढोकामा आफ्नो टाउको बजार्थे । आमा आफूसँगै फुटबल खेल्न जानैपथ्र्यो । आमा सुशिला दुई–तीन घण्टासँगै फुटबल प्रशिक्षणमा बिताउँथिन् । साथीहरू आएपछि मात्रै सुनिल आमालाई बहिनीसँग जानु भन्थे । सँगै खेल्दा आमालाई सधैँ पछि पार्न चाहन्थे । १३ वर्षसम्म सुनिलले आमालाई जित्न सकेनन् । त्यसबेलासम्म सुनिलको एकमात्र लक्ष्य आमालाई जित्नु हुन्थ्यो ।
घरमा बुवा नहुँदा आमाले सबै व्यवहार सम्हाल्नुपर्ने अवस्था सुनिलले सानैदेखि बुझेका थिए । यसैकारण उनले आमासँग कहिल्यै पनि कुनै कुरा चाहियो भनेर जिद्दी गरेनन् ।
“सानैदेखि उसले कुनै पनि कुरा चाहियो भन्दैनथ्यो । उसले मलाई कहिल्यै पनि यो चाहियो भनेन,” सुशिला भन्छिन्, “सानैदेखि फुटबल वा क्रिकेट खेलेर आफैँ पैसा जम्मा गरेर आफूलाई चाहिने समान ल्याउँथ्यो ।”
सुनिल आफैँ सानैदेखि परिवारको अवस्था बुझ्ने भएकोले आमासँग कुनै कुराको माग नराखेकोमा गर्व गर्छन् । “हाम्रो नेपाली संस्कृतिमा जब आमाले आफ्नो छोरालाई भाई भनेर बोलाउँछन् । त्यसबेलादेखि आमाको मनमा छोरो ठूलो भइसक्यो भन्ने हुन्छ । मैले यो उपनाम सानैदेखि पाए र यसमा म गर्व गर्छु,” सुनिल भन्छन् । प्लस फिफाको सहयोगमा
तस्बिरहरू : हरिशजंग क्षत्री/बाह्रखरी