काठमाडौं । गत वर्षको फागुन १८ गते रिलिज भएको चलचित्र ‘अगस्त्य च्याप्टर–१’ को सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिँदा लागेको थियो, सिनेमा त गजबै होला ! त्यसअघि, चलचित्र ‘प्रकाश’को पोस्टर रिलिज गरिँदा प्रदीप खड्काको क्यारेक्टर लुक्स पनि कम्ती लोभलाग्दो थिएन । उनकै बुवाआमाले ‘प्रकाश’को पोस्टरको मान्छे आफ्नै छोरो प्रदीप भनेर समेत चिनेनन् । ‘प्रकाश’कै दीया मास्केको क्यारेक्टर लुक्स पनि त्यस्तै थियो ।
अभिनेता विपीन कार्कीको क्यारेक्टर लुक्स हरेक चलचित्रमा भिन्नभिन्न हुन्छ । यसका निम्ति उनी लामो समय मिहिनेत गर्छन् । चलचित्र ‘पशुपतिप्रसाद–२ भष्मे डन’को आफ्नो क्यारेक्टरका लागि सौगातले दुई महिना पशुपति क्षेत्रमा बसेर मधेसी पात्रको अध्ययन गरेका थिए । रिलिजको सँघारमा रहेको चलचित्र ‘पुजार सार्की’मा प्रदीपको क्यारेक्टर कम लोभलाग्दो छैन । उनी क्यारेक्टरमा सर्लक्कै ट्रान्सफर्म (रूपान्तरण) भएको देखिन्छ ।
‘अगस्त्य च्याप्टर–१’ कै नाजिर हुसेनले सोही सिनेमाका लागि ज्यान अजंगको बनाए । सौगातले त्यही सिनेमाका निम्ति झन्डै २० केजी तौल बढाउने र घटाउने काम गरे । अहिले हलमा रहेको चलचित्र ‘मनसरा’का लागि प्रविण खतिवडाले १८ केजी तौल ‘लुज’ गरे । यी त भए केही उदाहरण । चलचित्रको चरित्र निर्माणमा यसरी मिहिनेत गर्ने थुप्रै्र कलाकार छन् । यही क्यारेक्टर लुक्स देखाएर निर्माण पक्षले चलचित्रको सक्दो पब्लिसिटी गरिरहेको हुन्छ । यसको उदाहरणका लागि उनै चलचित्र ‘प्रकाश’ र ‘अगस्त्य च्याप्टर–१’ लाई लिन सकिन्छ । यी दुवै चलचित्रले सौगात र प्रदीपको लुक्सलाई भरपुर बेच्ने प्रयास गरे ।
क्यारेक्टर निर्माणमा जति कलाकारले मिहिनेत गरिरहेका छन्, त्यति नै कडा परिश्रम सिनेमाले उठान गर्ने विषय र मुद्दामा मेकरले गरिरहेका छन् ? सबै चलचित्रमा कलाकारको मिहिनेतअनुसार मेकरले काम नगरेको अभिनेत्री ऋचा शर्माको अनुभव छ । कतिपय मेकर अरूले दिएको सुझाव समेत लिन तयार नहुने गरेको उनी बताउँछिन् । “सबै मेकर एकै खालका हुनु हुन्न, तर कतिपय मेकर कलाकारले दिएको सुझाव पनि लिन तयार हुनु हुन्न,” ऋचा भन्छिन् ।
चलचित्र अभिनय मात्र नभएको भन्दै उनी सिनेमा समग्रमा राम्रो नभएसम्म कलाकारको मिहिनेतको अर्थ नरहने बताउँछिन् । “कलाकारले उसको क्यारेक्टरमा जतिसुकै मिहिनेत गरे पनि समग्रमा सिनेमा राम्रो भएन भने त्यो मिहिनेत खोलामा बगेर जान्छ,” ऋचा भन्छिन्, “कलाकारले आफूलाई दिएको क्यारेक्टर जीवन्त बनाउन मिहिनेत गर्छ । तर, सिनेमा उसले गरेको मिहिनेतले मात्रै राम्रो बन्दैन । सिनेमा भनेको कथा हो, साउन्ड हो, संगीत हो, कलरलगायत धेरै कुराको प्याकेज हो । यी सबै कुरा राम्रो भएमा मात्रै कलाकारले गरेको चरित्र बाँच्ने हो ।”
सिनेमा कन्टेन, कन्टेक्स्ट र क्यारेक्टर भएको भन्दै यसमा मेकरले ध्यान दिन सक्नुपर्नेमा उनी जोड दिन्छिन् । अन्यथा, कुनै व्यक्ति वा पक्षले गरेको मिहिनेत खेर जाने उनको भनाइ छ ।
कलाकारले आफूले निर्वाह गर्न लागेको चरित्रको परिवेश, बडी ल्याङ्ग्वेज, कस्ट्युम, मेकअप, भाषा, लबजलगायत थुप्रै विषयमा मिहिनेत गर्छ । “‘शोले’ हिट भएर गब्बर सिंहको पात्र हिट भएको हो । ‘कबड्डी’ राम्रो भएर नै काजीको पात्र हिट भएको हो । ‘लुट’ राम्रो भएकैले हाकुकाले क्यारेक्टर हिट भएको हो,” ऋचा स्पष्ट पार्छिन्, “मेरै चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ हिट नभएको भए त्यसमा मैले गरेको फुली क्यारेक्टर हिट हुने थिएन । आज पनि मलाई नेपाल मात्रै होइन, जहाँ गए पनि नेपालीले त्यही क्यारेक्टरबाट फुली भनेर चिन्नुहुन्छ । त्यो क्यारेक्टरका लागि मैले केके मात्रै गरिनँ, तर त्यो चलचित्र हिट नभएको भए त्यो क्यारेक्टर कसैले सम्झिने थिएन ।”
‘अगस्त्य च्याप्टर–१’, ‘प्रकाश’मा सौगात र प्रदीपले चरित्रमा ठूलो मिहिनेत गरेको उनी बताउँछिन् । उनी भन्छिन्, “हामी कलाकारले गर्ने भनेको आफ्नो क्यारेक्टरमा मिहिनेत मात्रै हो । अरू केही गर्न सकिँदैन । अपकमिङ केही मुभीमा पनि इन्ट्रेस्टिङ क्यारेक्टर देखिएका छन् । तर, क्यारेक्टरअनुसार मेकरले समग्र सिनेमामा कति मिहिनेत गरिरहेका छन् भन्ने हो ।”
स्क्रिप्ट लेखकको हुने र उसले महिनौँ तथा वर्षौँ लगाएर लेखेको स्क्रिप्ट परिवर्तन गर्न माया लाग्ने कारणले पनि धेरै समस्या हुने गरेको ऋचा सुनाउँछिन् । लेखकका निम्ति स्क्रिप्ट उसको सन्तानजस्तै हुन्छ । निर्देशकका लागि उसले बनाएको सिनेमा पनि आफ्नो ‘बेबी’जस्तै हुने र त्यस्तो अवस्थामा सही मूल्यांकन हुन नसक्ने उनको भनाइ छ ।
“हामीलाई हाम्रो बच्चा राम्रो लाग्छ । यत्तिको त नाक ठिकै छ त, यत्तिको दाँत त ठिकै छ त, चल्छ भन्ने लाग्छ,” उनी अगाडि थप्छिन्, “सयौँचोटि हेरिसकेपछि यसै पनि राम्रो लाग्छ । पोस्ट प्रोडक्सनमा दर्जनौँपटक हेरिसकेको सिनेमा निर्देशकलाई पनि राम्रो लाग्छ । तर, फ्रेस माइन्डलाई देखाउने हो भने एकैपटकमा उसले सिनेमामा रहेका समस्या औँल्याउन सक्छ । त्यसैले अरूको फिडब्याक पनि लिनुपर्छ भन्ने हो ।”
पछिल्लो समय ‘रंगेली’ र ‘अगस्त्य च्याप्टर–१’ २२/२५ मिनेट काट्नुपर्ने कारण पनि यही रहेको उनको बुझाइ छ ।
निर्देशक सुवर्ण थापा कतिपय मेकरले आफूले धेरै मिहिनेत गर्नु नपरोस् भनेर नै अनुभवी कलाकार लिने गरेको बताउँछन् । त्यसले पनि कतिपय अवस्थामा समस्या सिर्जना गरिरहेको उनको भनाइ छ । “केही मेकरमा मैले महँगो पारिश्रमिक तिरेर किन कलाकार हायर गर्ने त भन्दा स्टोरीलाइन भएपछि त्यसमा अनुभवी र दक्ष कलाकारले आफैँ पनि केही कुरा थप्दै जाओस् र आफूले धेरै टाउको देखाउनु नपरोस् भनेर नै हो भन्ने छ,” सुर्वण भन्छन्, “तर, यो प्रवृत्ति राम्रो होइन । आफूले भन्न खोजेको र देखाउन खोजेको के हो भन्नेमा निर्देशक स्पष्ट र स्ट्रिक हुनुपर्छ । आफूले भन्ने खोजेको कथामा तर्कसहित स्पष्ट भएको निर्देशकले कलाकारले इन्ह्यान्स गर्न गरेको काममा सहमत हुन नसके रोक्नुपर्छ ।”
सिनेमा निर्देशकीय माध्यम हो भन्ने तथ्यलाई भुल्न नहुनेमा उनको जोड छ । निर्देशक नै चलचित्रको ‘क्याप्टेन’ भएकाले कहाँ, के र कति देखाउने भन्नेमा स्पष्ट हुनुपर्ने उनी बताउँछन् । अन्यथा, सिनेमा बिग्रिने र भन्न खोजेको कुरा प्रस्ट नहुने सम्भावना उच्च हुने उनी टिप्पणी गर्छन् ।
कलाकारको पनि सीमितता हुने उनी प्रस्ट पार्छन् । “कुशल निर्देशकले चाह्यो भने ढुंगालाई पनि अभिनय गराउन सक्छ भनिन्छ । तर, म यसमा त्यति धेरै सहमत छैन । हरेक सिनेमामा स्क्रिप्ट पढेपछि प्रायः कलाकारले गर्ने काममा उसकै मिहिनेत हुन्छ,” उनी भन्छन्, “उसले क्यारेक्टरबारे अध्ययन गरेर कस्तो अभिनय गर्नुपर्ने हो, त्यसमा मिहिनेत गर्छ । यसमा निर्देशकको त्यति ठूलो भूमिका हुँदैन । तर, मलाई चाहिएको र के हो र कति हो, त्यसमा भने निर्देशक चनाखो हुनुपर्छ ।”
निर्देशक कुशल र स्पष्ट नहुँदा कतिपय सिनेमामा चरित्र एकातिर र अभिनय अर्कैतिर हुने गरेको उनी सुनाउँछन् । “कलाकार हरेक सिनेमामा आफ्नो क्षमता प्रदर्शन गर्न खोजिरहेको हुन्छ । सबै कलाकारलाई अरूको क्यारेक्टर के छ भन्नेमा खासै सरोकार हुँदैन । त्यसैले आफ्नो चरित्रमा ऊ सकेजति मिहिनेत गर्छ,” निर्देशक सुवर्ण भन्छन्, “तर, उसको चरित्र अरू क्यारेक्टरसँग सिंक्रोनाइज हुँदैन, यसले सिनेमा बिग्रिन्छ । यसमा निर्देशक चनाखो हुनुपर्छ । यस्तो अवस्था राम्रो कलाकार हो, काम गर्छ भनेर छोड्दा र निर्देशकले मेरो सिनेमाको होल स्टोरी कसरी अगाडि बढिरहेको छ भनेर ध्यान नदिँदा आउने हो ।”
कलाकारलाई चलचित्रमा अब्बल दर्जाको अभिनय देखाएर अरू सिनेमामा काम पाउने लोभ हुने भन्दै सुवर्ण निर्देशक आफ्नो मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिन्छन् । अन्यथा, सिनेमामा क्यारेक्टर हाबी हुने तर कथा कमजोर बन्ने उनी बताउँछन् । अहिले कतिपय नेपाली सिनेमा यो समस्याबाट गुज्रिरहेको उनको बुझाइ छ ।
चरित्र निर्माणलाई मात्र प्राथमिकता दिने तर स्टोरीमा खासै मिहिनेत नगर्दा मुद्दाका नाममा सिनेमा बिग्रिरहेका स्वयं चलचित्रकर्मी सुनाउँछन् । सिनेमा बलियो स्टोरी र कथ्यशैलीमार्फत चल्छ र चलाउनुपर्छ भन्दा पनि केही फन्डा र सीमित विषयमा हल्ला गरेर चलाउँछु भन्ने मानसिकता मेकरमा हाबी भइरहेको चलचित्रकर्मीको भनाइ छ । यसले मुद्दाका नाममा चरित्रमा मात्र मिहिनेत गर्ने परिपाटी हाबी भइरहेको उनीहरूको निष्कर्ष छ ।