काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मंगलबार संसद्को सयुक्त सदनमा करिब एक घण्टा ५६ मिनेट लगाएर प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा करिब डेढ सय ‘गरिनेछ’ भन्ने शब्द पाइएको छ । ५६ पेजमा समेटिएको सो नीति तथा कार्यक्रममा रहेका २१७ बुँदा मध्ये धेरैजसो बुँदा टुंगिने शब्द नै ‘गरिनेछ’ भन्नेछ । १४१ बुँदा सोही शब्दको प्रयोग गरेर टुंग्याइएको छ ।
यो संख्या अघिल्लो वर्ष २०८० जेठ ५ गते राष्ट्रपति पौडेलले नै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अहिलेको भन्दा केही कम हो । अघिल्लो वर्ष पनि सरकार प्रमुखमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै थिए । त्यतिबेला ७२ पेजमा १८८ बुँदा रहेकोमा १२३ ‘गरिनेछ’ भन्ने शब्दबाट बुँदा टुंगिएका थिए । त्यतिबेला ११ नम्बर बुँदाबाट ‘गरिनेछ’ भन्ने सुरू भएको थियो भने यसपालि १७ नम्बरबाट सो शब्द प्रयोग गरिएको छ । बुँदा टुंग्याउन प्रयोग गरिएका अन्य शब्दमा ‘गर्दछु, बनाइनेछ, लगिनेछ, ल्याइनेछ, बढाइनेछ, गराइनेछ, मिलाइनेछ, गाभिनेछ, मनाइनेछ, खोजिनेछ, तुल्याइनेछ’जस्ता पहिला र अहिले उस्तै उस्तै पाइएका छन् ।
पहिलाको तुलनामा यसपालि ‘गरिनेछ’ भन्ने शब्द बढे पनि पहिलाका अलि कम ‘गरिनेछ’को कार्यान्वयन कस्तो रह्यो भन्ने बारेमा कतै जवाफ मिल्दैन । बरु पहिलाकै कुराहरू यसपालि पनि दोहोरिएर ‘गरिनेछ’ भनेर आएका छन् ।
पछिल्लोपटक सरकारको गठबन्धन फेरिएपछि गठबन्धनमा सामेल दलहरूको तर्फबाट पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भन्ने प्रस्तावना ल्याइएको थियो । ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ भन्ने आकर्षक स्लोगन समेत माथिल्लो भागमा राखेर ल्याइएको सो संकल्प आठ पेजमा ल्याइएको थियो ।
जसमा धेरैजसो बुँदा ‘गर्ने’ भन्ने शब्दबाट टुंगिएका थिए । त्यहाँ रहेका बुँदा मध्ये ५८ बुँदा गर्ने भन्ने शब्दको प्रयोगबाट टुंगिएका छन् । तर, गठबन्धन अहिलेसम्म ‘के गर्ने गर्ने’को अवस्थामा देखिएको छ । अर्थात् अहिलेको नीति तथा कार्यक्रममा पनि त्यस्तै कुरा आएका छन् ।
२०८० चैत ६ गते पाँच राजनीतिक पार्टीका तर्फबाट ल्याइएको सो संकल्पमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।
नीति तथा कार्यक्रम भनेको पछि गर्ने योजना नै हो, त्यसैले ‘गरिनेछ’ वा ‘गर्ने’भन्दा त्यति अनौठो नहोला । तर, सधैं त्यस्तै कुरा मात्रै आउने र परिणाम भने ‘नगरिनेछ’ वा ‘नगर्ने’ भन्नेमा मात्रै आउँदा सर्वसाधारणमा असन्तोष पाइएको छ ।