काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय छानबिन समिति बनाउने प्रतिबद्धता जनाएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेको र संसदीय छानबिन समिति बनाउन प्रतिबद्धता जनाएको बताए ।
संसदीय समिति नबनेसम्म संसद् चल्ने नदिने उनको भनाइ छ ।
"प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोसिस गर्दछु भन्ने प्रतिबद्धता गर्नुभएको हो । समिति बनाउने काममा लाग्छु भन्ने प्रतिबद्धता गर्नुभएको हो । जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ," उनले भने ।
उनले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे ।
– न्युज एजेन्सी नेपाल