site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवकको अवैध धन्दा : ५६ बैंक खाताबाट दुई अर्ब एक करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकमहिनाअघि विभिन्न व्यक्तिको शंकास्पद खाता नम्बर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पठायो । राष्ट्र बैंकले पठाएको पत्रमा भनिएको थियो, “बैंककै खाता नम्बर प्रयोग भएर अवैध कारोबार भएको जस्तो देखिन्छ । त्यसमध्ये अनिल ढुंगानाको नाममा रहेको कुमारी बैंकको खातालगायत अन्य बैंकमा समेत अस्वभाविक रकम ट्रान्जिट भइरहेको देखिन्छ ।”

राष्ट्र बैंकको पत्रपछि कार्यालयको टोलीले अनिलमाथि अनुसन्धान थाल्यो । करिब एक महिना लामो अनुसन्धानपछि प्रहरीलाई नै चकित पार्ने तथ्य खुल्यो ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ का २४ वर्षीय अनिलले विभिन्न व्यक्तिको नामबाट ५६ वटा बैंकमा खाता खोलेर अवैध अनलाइन जुवा (सट्टेबाजी) खेलाउने गरेको खुलेको हो ।

अनिललाई कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार अनिलको आफ्नो र विभिन्न व्यक्तिको खाता नम्बर प्रयोग गरेर एक अर्ब ३४ करोडको कारोबार भएको देखिएको छ । 

अनिलले ५५ वटा बैंक खातालाई ११ वटा कनेक्ट आईपीएसमा जोडेर ४८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको देखिएको छ । त्यस्तै, १५ वटा वालेटमार्फत पाँच करोड ९३ हजार ७८२ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।

त्यस्तै, डाइरेक्ट बैंक खातामार्फत ६१ करोड ६४ लाख ५९ हजार १२० रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । प्रहरीको अनुसन्धानबाट कुमारी बैंकको खाताबाट सात करोड, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको खाताबाट समेत ६/६ करोडको कारोबार गरेको देखिएको छ ।

त्यस्तै, क्रिप्टो करेन्सी गरेर कुल दुई अर्ब एक करोड १८ लाख ४४ हजार १०२ रुपैयाँको अवैध कारोबार गरेको पाइएको हो । अनिलले आफ्ना परिवारका सदस्य तथा आफन्त र साथीहरूको समेत बैंक खाता दुरुपयोग गरेको पाइएको छ ।

यसरी बनाउँथे सट्टेबाजी खेल्ने समूहको निर्माण
म्यानेजमेन्ट अध्ययनरत अनिललाई आईटीसम्बन्धी समेत ज्ञान छ । उनले अनलाइन जुवाका लागि छुट्टै ‘जुवा ३६५’ नामको फेसबुक पेज समेत बनाएका थिए । पेजमा आबद्ध हुनेहरूलाई विभिन्न प्रलोभनमा पारेर बेटिङमा सहभागी गराउने गरेको खुलेको हो ।

Abaidh-dhanda-1715593840.jpg
 

अनिल नेपालमा मात्रै नभएर भारत पुगेर समेत अवैध सट्टेबाजी खेलाउने गरेको प्रहरीको दाबी छ । अनिल ढुंगाना नाम फेरेर भारतबाट उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड बनाएको फेला परेको छ । त्यस्तै, भारतीय एचडीएफसी बैंकमा खाता समेत खोलेको पाइएको छ । त्योबाहेक विभिन्न व्यक्तिको नामको चेकबुक ११ थान विभिन्न कम्पनीको ६ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

के हुन्छ कारबाही ?
प्रहरीले अनिलमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा वा सट्टेबाजी गर्न नहुने कसुर, मुलुकी अपराध संहिता २०७४ को दफा २२६ अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा विदेशी विनिमय ऐन र राष्ट्र बैंक ऐन २०५८ अनुसार अनुसन्धान थालेको छ ।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुर पठाइएको कार्यालयका एसएसपी भट्टराईले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro