काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितविपरीत अभिव्यक्ति दिनु निन्दनीय भएको बताएका छन् । शनिबार काठमाडौंको टोखामा एक कार्यक्रममा उनले एक सय रुपैयाँमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयका विषयमा राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका हुन् ।
उनले नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिका सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहितका विपरीत अभिव्यक्ति दिनु गम्भीर विषय भएको समेत बताए । नेपालले आफ्नो निर्णय गर्दा अर्को देशलाई टाउको दुख्ने र नेपाललाई हेप्ने विषय स्वीकार्य नभएको उनले उल्लेख गरे । देशको सर्वोच्च संस्था राष्ट्रपतिको कार्यालय मुलुकको अहित कुरा गर्नेको गुँड लगाउने ठाउँ नभएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले नेपालीको देशभक्तिलाई चुनौती दिने अधिकार कसैलाई पनि नभएको बताए । हिमालयन टेली भ्वाइस