site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले उद्घाटन गरेको बायोग्यास प्लान्टबाट दुई वर्षयता आपूर्ति ठप्प
फाइल तस्बिर ।

काठमाडौं । सिलिन्डर युग अन्त्य गरेर घरघरमा ग्यास पुर्‍याउने उद्घोषसहित उद्घाटन गरिएको बायोग्यास प्लान्टबाट दुई वर्षयता आपूर्ति ठप्प छ । सडक विस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा ०७५ सालमा डेढ करोड रुपैयाँ लगानीमा निर्मित बायोग्यास प्लान्टबाट आपूर्ति बन्द भएको हो ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘घरघरमा ग्यास पाइप’ भन्ने चुनावी नारालाई सार्थकता तुल्याउन भन्दै बायोग्यास प्लान्टको परिकल्पना गरेका थिए । नवीकरणीय ऊर्जा विस्तार आयोजनाअन्तर्गत निर्मित प्लान्टको ०७५ भदौ ५ गते विराटनगरमा ओली आफैँले उद्घाटन गरेका थिए ।

विराटनगर महानगरपालिका–१४, जतुवामा २२० घनमिटर क्षमताको ग्यास प्लान्ट उद्घाटन गर्दै उनले सिलिन्डर ग्यासलाई प्रतिस्थापन गर्ने उद्देश्यअनुरूप काम गरिएको उद्घोष गरेका थिए ।

तर, सञ्चालनमा आएको तीन वर्ष नबित्दै आपूर्ति बन्द भएपछि उपभोक्ताको उत्साह अहिले निराशामा परिणत भएको छ । एलपी ग्यासको तुलनामा गोबरग्यास सस्तो र गुणस्तरीय थियो । स्थानीय ३२ घरका उपभोक्ता दुई वर्षयता पुनः सिलिन्डर ग्यास किन्न बाध्य बनेका छन् ।

सिलिन्डर ग्यासभन्दा गोबरग्यास नै राम्रो हुने स्थानीय सरिताकुमारी चौधरीले बताइन् । अर्की स्थानीय श्यामाकुमारी यादवले ग्यास राम्रोसँग चलाएको भन्दै अहिले नहुँदा सिलिन्डर किन्नुपर्ने बाध्यता भएको बताइन् ।

विराटनगर–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा पालिएका करिब २०० गाईको गोबरबाट ग्यास उत्पादन हुन्छ । त्यो अहिले पनि रोकिएको छैन । त्यहाँ कार्यरत १८ कर्मचारीले मेसिन बिग्रन नदिन ग्यास उत्पादनको कामलाई निरन्तरता दिएका छन् । तर, पाइपलाइन फुटेका कारण उपभोक्ताको घरसम्म ग्यास पुग्न सकेको छैन । उत्पादित ग्यास त्यत्तिकै खेर गइरहेको छ ।

नाला निर्माणका निम्ति सडक खन्ने क्रममा दुई वर्षअघि जेसीबीले पाइपलाइन नै फुटाइदिएपछि त्यसयता प्लान्टबाट ग्यास आपूर्ति ठप्प बनेको हो । प्लान्ट पुनः सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ लाग्ने र त्यसका निम्ति सरकार स्वयंले तदारुकता देखाउनुपर्ने कर्मचारी बताउँछन् । श्रीकृष्ण गौसेवा सदनका इन्चार्ज सन्तोष यादवले पाइप किन्न २० देखि २५ लाख रुपैयाँ लाग्ने भए पनि चासो नदेखाइएको बताए ।

गोबरबाट उत्पादित ग्यासलाई बेलुनमा राखेर अटोमेटिक प्रेस मेसिनबाट चौबिसै घण्टा उपभोक्ताको घरमा ग्यास पुर्‍याउने काम करिब तीन वर्षसम्म मात्र भयो । त्यसयता भने गोबरग्यास उपभोक्तासम्म नपुर्‍याई बाहिरै फाल्नुपर्ने अवस्था आएपछि त्यसको आम्दानी पनि ठप्प बनेको छ । त्यहाँ कार्यरत कामदारलाई तलब दिनै नसक्ने अवस्थामा गौसेवा सदन पुगेको छ ।

श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शंकर अग्रवालले गोबरग्यासबाट गौशाला सञ्चालनमा सहयोग पुग्ने गरेको बताए । बन्द भएपछि अहिले कठिन भइरहेको उनले उल्लेख गरे ।

संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विश्व बैंक तथा जलवायु लगानी कोषको सहयोगमा सञ्चालित नवीकरणीय उर्जा विस्तार आयोजनाको एक करोड ११ लाख, श्रीकृष्ण गौसेवा सदनको २७ लाख र विराटनगर महानगरपालिकाको १२ लाख गरी कुल डेढ करोडको संयुक्त लगानीमा उक्त प्लान्ट निर्माण गरिएको थियो । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro