
काठमाडौं । फिफाको कारबाही फुकुवापछि अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले दशरथ रंगशाला पुगेर फुटबल म्याच हेरेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको १० वर्षे प्रतिबन्ध फुकुवापछि थापा म्याच हेर्न पुगेका हुन् ।
थापाले बिहीबार नेपाल सुपर लिगअन्तर्गत धनगढी एफसी र चितवन एफसीको खेल हेरेका हुन् । थापाले आफू अब एन्फाको जिम्मेवारीमा नफर्कने बताएका छन् ।
थापालाई ०७२ सालमा फिफाले आर्थिक लेनदेनको विषयमा दोषी ठहर गर्दै १० वर्ष फुटबलका कुनै गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध गरेको थियो ।
बिहीबार निलम्बन फुकुवा भएसँगै थापाले अब आफू एन्फाको जिम्मेवारी नआउने तर बाहिरै रहेर नेपाली फुटबललाई सहयोग गर्ने बताएका थिए ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)को उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष र फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।