कोलकाता । भारतको पश्चिम बंगालका राज्यपाल सीबी आनन्द बोसविरुद्ध यौन उत्पीडनको आरोप लागेको छ । अंग्रेजी अखबार द हिन्दुका अनुसार कोलकातामा राजभवनमा एक महिला कर्मचारीले बिहीबार पश्चिम बंगालका राज्यपालमाथि यौन उत्पीडनको आरोप लगाएकी हुन् ।
तर, राज्यपाल बोसले आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै खण्डन गरेका छन् । महिलाले भने कोलकाताको हेयर स्ट्रिट प्रहरी स्टेसनमा उजुरी दर्ता गरेकी छन् । द हिन्दुका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार राजभवनमा एक रात रोकिन पुगेका थिए । योभन्दा केही घण्टा पहिला घटना भएको जनाइएको छ । राज्यपालले ‘यसरी बनाइएको कथाबाट डराउने छैन’ भनेका छन् ।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ, “सत्यको जीत हुन्छ । म यसरी बनाइएका कथाबाट डराउनेवाला छैन । यदि मलाई यसरी बदनाम गरेर कोही चुनावी फाइदा लिन चाहन्छ भने भगवानले उनको भलो गरून् । तर, यो बंगालमा भ्रष्टाचार र हिंसाविरुद्धको मेरो लडाइँलाई कसैले पनि रोक्न सक्दैन ।”
त्रिणमूल कांग्रेस (टीएमसी)ले यो घटनाले राजभवनको गरिमामा धक्का लागेकोप्रति प्रतिक्रिया दिएको छ । सामाजिक सञ्जाल एक्समार्फत् टीमएसीले भनेको छ, “भयावह र अकल्पनीय । हाम्रो संविधानका प्रतीक राजभवनको पवित्रता धुमिल भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी राति राजभवन पुग्नुभन्दा केही घण्टा पहिला राज्यपालले जागिरको आश देखाएर एक महिलासँग कथित छेडछाड गरेका छन् ।”
सो पार्टीले यो मामिलामा चाँडोभन्दा चाँडो टुंग्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ । हिन्दुका अनुसार ती महिला सन् २०१९ देखि करारमा राजभवनमा काम गर्र्दै आएकी थिइन् । उनले राज्यपालमाथि दुईपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनका अनुसार पहिलो पटक गएको अप्रिल २४ मा उनीमाथि यौन दुर्व्यवहार भएको थियो ।
उनलाई बिहीबार पनि बोलाएर यौन दुर्व्यवहार गरेकाे जनाइएको छ । त्यसपछि उनले प्रहरीसमक्ष उजुरी गरेकी थिइन् । कोलकाता प्रहरीका अनुसार अधिकारीहरु यो मुद्दामा कानुनी राय लिइरहेका छन् । पूर्व कर्मचारी बोसलाई २०२३ को नोभेम्बरमा राज्यपाल नियुक्त गरिएको थियो ।
राज्यपाल र ममता बनर्जी सरकारबीच आपसी सम्बन्ध राम्रो मानिँदैन । दुई पक्षबीच विगतमा विभिन्न विषयमा टकराव उत्पन्न भएको थियो । हालै भाइस चान्सलर पदका सम्बन्धमा राजभवन र ममता सरकार आमुने–सामुने भएका थिए । हालै कर्णाटकाबाट सांसद पदका उम्मेदवार प्रज्ज्वल रेभन्ना यौन काण्डसम्बन्धी भिडियो सार्वजनिक भएपछि उनी देश नै छोडेर जर्मनीतिर भागेका थिए । बीबीसी