site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बाबा, यल्ले के भन्दै छे !

यौनकथाहरू धेरै बिकिरहेछन् । लेखकको नाताले मलाई यो धेरै चिन्ताजनक लाग्यो । मतलब यो थियो, यौनकथा मैले लेखेँ भने त्यसले बजार पाउन गाह्रो छ । अब कस्ताकस्ता यौनकथा लेखिए र लेखिँदै छन्, म त हैरान छु ।

हैरान भएर भएन, आफूले पनि ट्राई मार्नुपर्‍यो नयाँ खालको यौनकथामा भनेर एउटा सुरु गरेँ ।

एउटी केटी थिई, मानसी । अरे बाबा, केटी त कहीँ पनि हुन सक्छन्, मानसी होस् वा मनीषा ! त्यो पनि एउटी मात्र किन, अनेक केटी हुन सक्छन् । होइन, अगाडि पढ्दै जाऊँ न । (साहित्यमा श्लीलता खोज्नेहरूलाई अगाडि नपढ्न अनुरोध छ ।) 

Dabur Nepal
NIC Asia

त केटी थिई मानसी । एउटा घरमा काम गर्थी । मालिक थियो कुलप्रसाद । मालिक्नी पनि थिई, उर्मिला । छोराछोरी पनि थिए । दिदीको बिहे भएर गइसकी । पात्र केटो वरुणले सोच्थ्यो— धन्न, बिहे गरेर घरगृहस्थी सम्हाल्न गई, नत्र यै केटीले बिगार्न सक्थी ।

कुन रूपले बिगार्थी त्यो वरुणले व्याख्या गर्न सकिरहेको थिएन । ‘दिदी, तिमी बच्यौ’ – केटो मनमनै यही भन्थ्यो । भीरबाट खस्न लागेकी दिदीलाई मौकामा हात तानेर बचाएको सपना पनि देख्थ्यो ।

तर, दिदीको बिहे उसका आमाबाबुले समयमै गरिदिएका थिए । केटाको भीरको सपना – जसमा उसले दिदीको पाखुरा समातेर अतलतिर खस्नबाट बचाएको थियो, त्यसको खासै प्रासंगिकता रहँदैनथ्यो । 

तर, केटी मानसी थिई अलग्गै किसिमकी । कथाको पुछारमा पढिने मालिकको छोरो वरुणलाई हाँस्दै आङ मस्काउँदै भनेकी कुरो, ‘बाबालाई भनिदिने ? तिम्रा बाबाले तिम्रो कुरा सुन्लान् ?’

यसअगि एउटा गोप्य कुरो यो थियो, मालिकको छोरो वरुण पन्ध्र नाघेको थियो, कहिलेकाहीँ त्यसै पनि भनिदिन्थ्यो केटीलाई, ‘तँ राम्री छेस् ।’

यो उसले कसैले सुन्ने गरी भन्दैनथ्यो, त्यसैले गोप्य राख्थ्यो भनेको । अँगालो मारूँमारूँ पनि गर्थ्यो । मानसीले थाहा नपाएजस्तो गर्थी । उसको मनमा पनि वरुणको निकटताको लालसा हुँदो हो ।

वरुणले तिमी राम्री छौ भन्दा केटीले आँखा सन्काएर भन्थी, ‘राम्री मात्रै ?’

‘अरू के त ?,’ केटोभित्र जिज्ञासा जाग्थ्यो ।

‘अरे लाटा ! अरू के नि, चोलीके पीछे क्या है ? जान्दछौ ?’

यो गीत केटी गुगुनाइरहन्थी । बैँसले कुतकुत्याएर मानसीले यस्तो गीत गाएकी हो भन्ने मान्थ्यो वरुण । गीतका शब्दले उसमा पनि जिज्ञासा उमार्थ्यो, उत्तेजित पनि पार्थ्यो । अगाडि बढेर उसले मानसीको जिउ स्पर्श गर्ने आँट आफूमा पाउँदैनथ्यो ।

केटो केटी प्रस्ट वक्ता भएकोमा डरायो । कतै चोली के पीछे हेर्न नलगाए पनि छाम्न लगाउने पो हो कि ! अचेल बिग्रेकीहरूकोे धन्दै यै छ ।

केटो दैनिक ब्रडसिट अखबार पढ्थ्यो, चाट्थ्यो । समाचारको नाममा डिटेल दिइएको हुन्थ्यो । सशंकित भयो । मेरै घरमा काम गर्छे र मैलाई फसाउन खोजिरहेकी छे ।

तर, उसले यो बिर्सेको थिएन, केटी राम्री छे । उसको चालमा वरुण मोहित हुन्थ्यो पनि ।

केटीले भनी, ‘तिम्रो धेरै सोच्ने बानी छ । सिकार अगाडि छ, पन्जा हानिहाल !’

यो के भन्दै छे मानसी ? केटोलाई यस्तो निमन्त्रणा स्वीकार्य थिएन, डर लाग्थ्यो । धेरै घटना–दुर्घटना भइरहेका छन् समाजमा । राम्री केटीहरू अचेल चलाख भएका छन् । हनी ट्र्याप हो वा केमा फसाएर ब्ल्याकमेल गर्छन् ।

केटी हेर्दा अरू बेला सोझो देखिन्छे । तर, एकान्तमा केटोलाई हेरेर मसक्क मस्किन्छे । बोल्ड छे ।

वरुणले धेरै मनन गर्‍यो । बिहानै उठेर नुहाइधुवाइपछि मन्दिर जाने पनि गर्थ्यो । अलि वरै थियो शिवमन्दिर । तह परेमा शनिबार पशुपतिनाथको दर्शन गर्न पनि धाउँथ्यो ।

पढाइमा कमजोर थिएन, तर पास भइराख्नु जरुरी थियो । बाबाआमाले सचेत गराइराख्थे, पढ्न छाडेर यताउता बरालिने होइन । केटोलाई बरालिन मन त लाग्थ्यो, खै केले हो, छेकिराख्थ्यो ।

केटी उसलाई बराल्न खोज्दै थिई र ऊ पनि केटीको चढ्दो बैँस र रूप देखेर केहीकेही चिप्लिन खोज्दै थियो ।

केटीले भनी, ‘पढ्नतिर लागेर मात्र के हुन्छ ? किताब हेर्ने आँखाले मलाई हेरेर हुँदैन के !’ 

केटोलाई लाग्यो— केटीभित्र भूत पसेको छ । अरू बेला त्यस्ती सोझी देखिने केटीले यस्तायस्ता सांकेतिक भाषा बोल्दै छे । केटो केटीको नजिक जान खोज्दै त थियो, तर एउटा डर उसभित्र जमेको थियो, उसको बाबा कुलप्रसादको कडा स्वर, ‘खबरदार ! पढाइभन्दा ध्यान यताउता गयो भने खालास् फुच्चे मेरो हातको पाँच औँलाको डामको झ्यापु ! क्लासमा सधैँ फस्ट हुने, बुझिस् !’

बाबा यो पनि भन्नुहुन्थ्यो माया गरेको स्वरमा, ‘पढाइमा अर्जुनदृष्टि ! अनि यूएस वा अस्ट्रेलिया, जहाँ भन्छस्...।’

वरुणलाई बाबु अत्यन्त अनुशासनप्रिय लाग्नुहुन्थ्यो । केटीसित यै घरमा एकान्त पारेर केही बोलिरहेको थाहा पाए भने आमाबाबुले केटीलाई घरबाट लखेट्ने हुुन् र उसलाई केरकार गरेर दुईतीन लबटा दिने हुन्, ‘पढेर ठूलो मान्छे बन्ला भनेको अहिलेदेखि केटीको पछाडि लाग्न थालिस् ? तँलाई त...!’

तर, केटोलाई अर्को शंका थियो– आमा र बाबाबीच कुनै न कुनै किसिमको मौन द्वन्द्व चलिरहन्छ । कहिले आमा अनुहार अँध्यारो बनाएर रुनरुन खोजेको देखिनुहुन्छ, कहिले रिसले फुसको छाप्रोमा आगो लागेझैँ निभाउनै नसकिने गरी झ्वारझ्वारी बलिरहेकी हुनुहुन्छ ।

कहिले एकान्तमा बसेर रुमालले आँसु पुछेर झ्यालबाहिर टाढाटाढा हेरिरहनुहुन्छ । गाला र आँखामा नीलडाम पनि हुन्छन् ।

यसमा केही न केही रहस्य त छ भन्ने केटो ठम्याउँथ्यो, तर ऊसँग समाधान थिएन । आमालाई के भनेर सान्त्वना दिने ? यो त अनुमान गर्थ्यो— बाबाले आमालाई यातना दिने मात्र होइन, शारीरिक आक्रमण पनि गर्नुहुन्छ ।

एक दिन असह्य भएर भनि पनि हेरेको हो, ‘आमा, तपाईं बिरामी हुनुहुन्छ कि ? किन ओइलाएको देख्छु । कहिले रुनुहुन्छ कहिले खानै छाड्नुहुन्छ, किन ?’

आमाले त्यस बेला तटस्थ भावले भन्नुभएको थियो, ‘पढ्नतिर लाग्, यो तेरो काम होइन । जा आफ्नो कोठामा । ठूलाहरूको चियोचर्चो गर्ने काम तेरो होइन !’

आमाबाबा त उसका हुन् भने थाहा गर्ने उसको काम नभएर कसको ?

आमाको जवाफ स्वाभाविक तालको थिएन । उबडखाबड बाटोजस्तो थियो । केके नपुगेजस्तो । धेरै कुरा लुकाउने प्रयासमा असंगत तरिकाले जवाफ दिएजस्तो । मानौँ, बिजुलीको खाँबोमा बेतोडले कुदेको बस अनियन्त्रित भएर ठोकिएपछि तार, खाँबो र यात्रीहरू तितरबितर र घाइते भएजस्तो ।

त्यसपछि ऊ बोलेन । तर, थाहा पाइराख्थ्यो, आमाभित्र गुह्य व्यथा छ भन्ने । 

अहिले यस बेला केटी थिई, ऊ थियो । मौका जुरिरहेको थियो ।

केटीले एउटा प्रयास यो गरी, केटो भएतिर एक पाइला अघि सारी ।

केटो तर्सियो । अचेल केटीहरूले नै बोल्ड भएर पहल गर्न थाले कि ? यस्तो लाग्यो । कुनैकुनै फिलिममा यस्तो त देख्थ्यो, हिरोइनले हिरोलाई गम्लङ्ङ अँगालो मारेको ।

कुनै गाउँको दृश्य हुन्थ्यो र धान काटेर झाँटेको परालको थुप्रोमा हिरोइनले हिरोलाई अँगालोमा बेरेर लडाउँथी । अहिले त सिन अर्कै हुन्छ । कस्तो भने कारभित्र वा होटेलको कोठामा । रिसोर्टमा, नगरकोटतिरको वा जताको होस् । जे होस् ।

केटोले आफूलाई त्यस्तो सिन सोचेर उत्तेजित हुनबाट जोगाउँदै केटीबाट अलि दूरी राख्न एक पाइला पछाडि सर्‍यो । 

केटीले भनी, ‘आफूलाई कस्तो प्यास लागेको छ ।’ 

केटोले झर्केर भन्यो, ‘घर तेरै हातमा छ, फ्रिजबाट चिसो झिकेर खा न त ! के फिलिममा झैँ प्यासप्यास भनेर रटेकी ?’ 

केटीले उसका कुरामा हाँस्दै आङ मर्काएर भनी, ‘हैन के, त्यो प्यास भनेको हैन । कस्तो नबुझेको !’

केटोले केही निश्चय गरेझैँ भन्नै खोजेको थियो, ‘बाबालाई भन्दिछु, अनि मर्काइराख्नु जिउ !’

तर, एउटा कुरा जब्बरको छ है, मोरी जिउ मर्काएर हाँस्दा कत्ति राम्री देखिएकी ! त्यसैत्यसै भित्रैबाट उर्लेर आउने गराउँछे ।

बाबालाई सम्झेपछि केटोभित्र एउटा आँट आएको हो— मलाई अभिभावकले सही बाटो देखाएका छन् । बाबाको खराबी एउटा त्यही मात्र छ, रातिराति घर फर्कंदा रक्सीको तेज हस्को आइरहन्छ ।

नजिक परेपछि मात्र थाहा पाइने होइन, टाढैबाट पनि थाहा पाइन्छ – बाबा मातेर आउनुभा’छ । बाबाको यही एउटा बानी सारै नराम्रो । खराब बानी । तैपनि, एउटा निश्चय केटोभित्र हुर्कंदै थियो— बाबालाई नभनी भएन, केटी उत्ताउली छे ।

बाबाले ‘कस्ती उत्ताउली ?’ भनेर सोधे कस्ती उत्ताउली भन्ने ? त्यहाँनिर केटो अड्कियो ।

अनि, सँगै अर्को प्रश्न पनि आउन सक्छ, ‘तैँले कसरी थाहा पाइस् ? तैँले नै केही गरिस् र हो कि !’

उसले जवाफमा भन्ने त छ, ‘मैले के गर्ने ?’ तर, अगाडि गाँसेर भन्न सक्ने छैन, ‘उसैले गरी !’

तर, गरी के ? भनि त रहिछे, ‘चोली के पीछे...।’ 

यत्ति कुराले प्रमाण त पुग्दैन, घरैभरिलाई रिझाएर राखेकी छ । आफू नोकर भइएको छ, ऊचाहिँ मालिककी प्यारी छोरी ! तर, साहस बटुलेर भनिहाल्यो, ‘बाबालाई भनिदिन्छु, अनि थाहा पाउलिस् !’

‘कसलाई रे ?,’ केटीले आँखा च्यातेर आश्चर्यको भाव देखाउँदै भनी ।

‘बाबालाई,’ केटोले छाती तन्काएर भन्यो ।

‘बाबालाई ? बाबालाई के भन्छौ ? बाबालाई भन्ने रे, बिचरा !’

केटी हाँस्दै उसको नजिकनजिक अझ नजिक आउन खोज्दै थिई ।

‘कहिले भन्छौ त बाबालाई, हँ ? बाबालाई थाहा छैन र ?’

केटाको पालो थियो यसपटक आश्चर्य मान्ने, तर मुखबाट प्रश्न फुत्किहाल्यो, ‘के ?’

केटीले एकपटक आफ्नो छातीतिर आँखाले इसारा गर्दै भनी, ‘यै के, चोली के...!’

केटो पानीपानी भयो । यसतिर उसको शंका गएकै थिएन ।

ऊ त्यहाँबाट आफ्नो कोठातिर लागिहाल्यो, पछाडि नफर्की । मनमनै गनगन गर्दै, ‘हेर्नोस् त बाबा, के भन्दै छे यल्ले ?’

केटी उखरमाउलोसँग हाँस्दै थिई । उसको ढाडमा केटीको मादक हाँसो चिप्लेकीराझैँ टाँसिएर सकसकाइरहेको थियो ।     
                 
   
   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro