बेइजिङ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदा/भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।
मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।
उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् ।अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।
अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् । रासस/एएनआई