काठमाडौं । चलचित्र दृश्य भाषा हो, भनिरहनै परेन । दृश्यसँग जति खेल्न सक्यो त्यति सिनेमा राम्रो हुन्छ, धेरैले जाने÷बुझेकै कुरा हो । तर, यही कुरा नेपाली मेकरले किन बुझेनन् ? अथवा, बुझेर पनि प्रयोग गरेनन् ?
चलचित्र भिजुअल मिडियम भए पनि त्यसलाई नजरअन्दाज गरेर सिनेमा बनाइँदै छ । भिजुअल मिडियमलाई बेवास्ता गर्दै नेपाली सिनेमा डाइलगमा केन्द्रित भएका छन् । दृश्य भाषामा जोड नदिँदा चलचित्र रेडियो नाटकजस्ता बन्ने गरेका छन् ।
नबुझेर होस् वा बुझेर पनि प्रयोगमा नल्याएर होस्, नेपाली सिनेमा भिजुअल अथवा दृश्यसँग कमै खेल्ने गरेको निर्देशक फिडेल देवकोटा बताउँछन् । कतिपय सिनेमा हेर्दा चलचित्र दृश्य भाषा नै हो भन्ने तथ्यलाई नै भुल्ने गरेको महसुस हुने उनको भनाइ छ ।
“सिनेमामा कलाकारले म हिँडे है भनेर संवादमा पनि भन्छ र उठेर पनि हिँड्छ । दृश्यमा नै देखिन्छ भने किन संवाद चाहियो भन्ने हो,” फिडेल भन्छन्, “मैले भनेको कुरा सबै ठाउँमा लागु नहोला, तर जहाँ लागु गर्न सकिन्छ, त्यहाँ दृश्यबाटै भन्न सकिन्छ अथवा दृश्यले नै बोलिरहेको छ भने किन संवाद आवश्यक रह्यो ?” भलै, यसमा मेकर स्वतन्त्र रहेको उनी बताउँछन् । कारण, आर्ट आफैँमा स्वतन्त्र हुन्छ ।
मेकरले क्यामेरा आफैँ बोल्छ भन्ने कुरा भुल्न नहुनेमा उनको जोड छ । कतिपय संवाद क्यामेराले नै बोलिरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न सकिने उनको धारणा छ । “क्यामेराको फ्रेम र क्यामेरा एंगल पनि आफैँ बोल्छ । साउन्ड र ब्याकग्राउन्ड स्कोर पनि बोलिरहेको हुन्छ,” फिडेल भन्छन्, “कलर, लाइट र समयले पनि धेरै कुरा बोलिरहेको हुन्छ । हाइ एंगल र लो एंगलको अर्थ हुन्छ । अब्लिक एंगल कुन इमोसनका लागि प्रयोग गरिन्छ भन्ने कुराले पनि त अर्थ राख्छ ।”
क्यामेराको मुभमेन्ट केका लागि गरिन्छ भन्नेमा ध्यान दिन आवश्यक रहेको उनी बताउँछन् । यी विषयमा ध्यान दिन सके सिनेमामा धेरै संवाद आवश्यक नपर्ने उनको ठहर छ ।
तपाईंको सिनेमा ‘रेड सुटकेस’मा कति डाइलग छ ? “मैले लेख्दा २७ वटा डाइलग लेखेको हो । ब्रेकडाउन गर्दा केही बढ्यो होला,” जवाफमा उनी भन्छन् । संवाद छोट्ट्याउने क्रममा केही बढेको उनको भनाइ छ ।
“मेकरले नबुझ्नुभएको भन्ने त लाग्दैन, थेउरीको ज्ञान नै नभएर हो भन्ने पनि लाग्दैन,” उनी भन्छन्, “तर अनुभव र प्रयोग भने कम देखिन्छ । मेरो बुझाइमा प्रयोग गर्न डराएको हुनुपर्छ ।”
सिनेमा निर्माणको सुरुदेखि नै संवाद होइन, दृश्यमा खेल्नुपर्छ भन्ने मनोविज्ञान र तयारीअनुसार काम गरे धेरै कमजोरीलाई लुकाउन सकिने उनको बुझाइ छ ।
नेपाली सिनेमामा डाइलग हाबी भएको आजदेखि होइन, सुरुआती समयदेखि नै हो । अधिकांश सिनेमामा लेखक नै हाबी भइरहेका हुन्छन्, जबकि सिनेमा निर्देशकको हो । निर्देशकीय माध्यम हो । यो महसुस फिडेलले पनि गर्दै आएका छन् । दूरदराजको गाउँमा खेतीकिसानी गर्ने व्यक्तिले सिनेमामा भव्य साहित्यिक डाइलग बोल्ने गरेको उनलाई बिझाउँछ । “डाइलग पनि यति हेवी हुन्छ, बिझाउने गरी प्रयोग भइरहेको हुन्छ,” फिडेल भन्छन्, “तपाईं हामी बोल्दा जति सहज तरिकाले बोल्छौँ, सिनेमामा आउँदा त्यति सहज पनि आउँदैन ।”
नेपाली सिनेमाका संवादमा पात्र होइन, लेखक बोल्छन् । लेखकले सिनेमामार्फत भन्न खोजेको के हो त्यसलाई संवादमा लेख्छन् र त्यही नै पात्रले बोल्छन् । यो नेपाली सिनेमाको कमजोर पक्ष हो । चलचित्रमा लेखक होइन, पात्र बोल्नुपर्छ ।
निर्देशक मीन भामलाई नेपाली सिनेमा रेडियो नाटकजस्तो लाग्छ । सिनेमामा ननस्टप कलाकार बोलिरहेको सुन्दादेख्दा उनलाई नेपाली सिनेमालाई रेडियो नाटकजस्ता चलचित्र भनेर टिप्पणी गर्न मन लाग्छ । “यसो भनिरहँदा मचाहिँ यसबाट अछुतो छु भन्ने होइन । म पनि जवाफदेही छु,” मीन भन्छन्, “तर, समग्रमा भन्दा हाम्रा सिनेमामा संवाद हाबी छ, जबकि हाम्रो ध्यान दृश्यमा जानुपर्ने थियो ।”
नेपाली सिनेमाको मुख्य कमजोरी नै यही भएको उनी औँल्याउँछन् । भइरहेको र गरिरहेको भन्दा बाहिर गएर नेपाली मेकरले काम नगरेको उनको बुझाइ छ । “म अरूलाई मात्र दोष दिन्नँ, मेरो आफ्नै चलचित्र ‘कालोपोथी’लाई फर्किएर हेर्दा त्यो लाग्छ । हामीले सिनेमाका नाममा के रेडियो नाटक पो बनाइरहेका छौँ कि !,” उनी भन्छन् ।
सिनेमा बनाइरहँदा भिजुअल माध्यममा काम गरिरहेको छु भनेर बिर्सिनु नै कमजोरी भएको उनको टिप्पणी छ । सकेसम्म कसरी संवादलाई दृश्यमा देखाउने भन्नेमा पर्याप्त काम हुन नसकेको उनी बताउँछन् ।
स्क्रिप्ट लेखनमा हुने कमजोरी पर्दामा देखिने गरेको छ । स्क्रिप्ट नै कमजोर भएपछि पर्दामा त्यसको असर देखिने मीनको बुझाइ छ । कमजोर स्क्रिप्टको जगमा त्यस्तै सिनेमा बनिरहेका उनी सुनाउँछन् ।
“हामीले स्क्रिनप्ले होइन, स्क्रिप्टका नाममा निबन्ध लेख्यौँ भन्ने लाग्छ । मेरो आफ्नै काम, अनुभव र भोगाइसहितको आत्मसमीक्षा पनि हो यो,” मीन भन्छन्, “यो हामी लेखक र निर्देशकको समस्या हो । यहाँ हरेक निर्देशकलाई लेखक बन्नैपर्नेछ, यो अर्को समस्या हो ।” मीन भिजुअलमा राम्रो काम गर्न त्यतिकै राम्रो स्क्रिनप्लेको आवश्यकता औँल्याउँछन् ।
लेखक नै छैनन् के गर्ने त आफैँले नलेखेर भन्दै निर्देशक पन्छिने गरेको उनी स्मरण गर्छन् । तर, निर्देशक यसरी पन्छिन नमिल्नेमा उनी जोड दिन्छन् । अहिले जस्ता सिनेमा बनाइँदै छ, त्यस्तै बनाउँदै र प्रदर्शन गर्दै आउँदा यही नै मानक बनेको मीन बताउँछन् । नेपाली सिनेमा भनेकै यस्तै हुन् भन्ने भइसकेको मीनको गुनासो छ । यो मानकलाई तत्काल भत्काउन आवश्यक रहेको उनी टिप्पणी गर्छन् ।
“कहीँ रेडियो नाटक हुँदै गयो । कहीँ डाइलगले पन्चिङ हानेर इन्टरटेन गराउने काम भइरहेको छ । पन्चिङ लाइन लिएर कथा न्यारेट गर्ने चिजले दर्शकलाई मनोरञ्जन दिने अभ्यास गर्दै छौँ,” उनी भन्छन्, “भिजुअल ल्यांग्वेज मिडियमले भिजुअल लिट्रेसी बढाउनुपर्ने थियो होला भनेर म आफैँलाई पनि लाग्छ ।”
मीन आफैँले थुप्रै गल्ती गरेको महसुस भएको भन्दै अहिले त्यसलाई कम गर्ने प्रयास गरेको बताउँछन् । त्यसैले ‘कालोपोथी’को भन्दा ‘साम्बाला’को स्क्रिप्ट लेख्न आफूलाई कठिन भएको उनी सुनाउँछन् ।
डाइलगबाटै सिनेमा बुझाउन खोज्नु नै गल्ती भएको मीनको धारणा छ । “दोस्रो सिनेमा पनि रेडियो नाटक नै हुने अवस्था भयो, भिजुअलमा काम कहिले गर्ने भनेर मलाई साह्रै तनाव भयो, त्यसैले मलाई ‘साम्बाला’को स्क्रिप्ट लेख्न समय लाग्यो,” उनी भन्छन् ।
मीन मात्र होइन, अरू मेकर पनि नेपाली सिनेमामा भिजुअल ल्यांग्वेजमा काम गर्न नसकिएको स्वीकार गर्छन् । भिजुअलमा काम गर्न नसकेपछि डाइलगको सहारा लिइरहेको मेकर बताउँछन् । मेकिङमा कमजोर हुँदा पन्चलाइन प्रयोग गर्ने र दर्शकलाई हँसाउने प्रयास गर्दै सिनेमा बनिरहेका स्वयं निर्देशकको भनाइ छ । हरेक सिनमा हँसाएर मेकरले मेकिङको कमजोरी लुकाइरहेको निर्देशक नै उल्लेख गर्छन् ।