site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले विरासत फर्कायो, गठबन्धन टुट्दा कांग्रेसलाई नोक्सान !

काठमाडौं । बझाङमा एमालेले विरासत फर्काएको छ ।  बझाङ–१ ‘क’ को उपनिर्वाचन जित्दै एमालेले अघिल्लो चुनावको नतिजा उल्ट्याएको हो । नेपाली कांग्रेसले ०७९ मंसिर ४ को निर्वाचनको परिणाम जोगाउन सकेन । 

उपनिर्वाचनको मतगणनाअनुसार, एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका अभिषेक सिंहलाई २६७ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६१३ मत ल्याउँदा सिंहले ११ हजार ३४६ मत पाए । 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका पृथ्वीबहादुर सिंहको ०८० असार ५ गते दुर्घटनामा परी निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । 

यो उपनिर्वाचनमा भने दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिए । फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको गठबन्धन तोडी एमालेसँग नयाँ गठबन्धन बनाए । गठबन्धन फेरिए पनि दलहरूको मतएक्यैता हुन सकेन । 

इलाम–२ मा एमालेलाई सघाएको माओवादीले बझाङमा छुट्टै उमेदवार उठायो । सत्ता साझेदार एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले पनि आ–आफ्नै उमेदवार बनाएका थिए । उक्त क्षेत्रमा ११ उमेदवार प्रतिस्पर्धामा थिए । 

अरु कसले मत ल्याए ?
 

माओवादीकाका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का किशोरकुमार खड्काले २४२ मत पाएका छन् ।

जसपाका उमेदवार रामबहादुर जाग्रीले ४४ मत पाएका छन् । राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५ मत प्र्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च दीपबहादुर खड्काले २८, जनमतका शुसिलादेवि विष्टले २६ मत ल्याए । 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खगेन्द्रबहादुर शाहीले २४ मत पाउँदा नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याए । 

विगत : जता माओवादी उतै निर्वाचित 

विगतमा यो क्षेत्र जित्न माओवादी निर्णायक देखिएको छ । ०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । दुई दलबीच तालमेल हुँदा यो क्षेत्र एमालेको भागमा परेको थियो । त्यतिबेला एमालेका अर्जुनबहादुर थापा ४ हजार ६७१ मतान्तरले निर्वाचित भएका थिए । थापाले १७ हजार ८६८ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १९७ मत ल्याएकी थिइन् ।

०७९ को चुनाव पुग्दा गठबन्धन पनि फेरियो र नतिजा पनि । ०७४ मा एमालेलाई साथ दिएको माओवादी ०७९ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनमा थियो । 

यहाँ तत्कालीन गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । उनले १७ हजार ११२ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए । उनीहरूबीचको मतान्तर ३ हजार ६७६ रहेको थियो ।

प्रतिनिधिसभातर्फ भने बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका थिए । संंसदीय निर्वाचनमा बझाङमा २०४८ र २०५६ सालमा मात्रै बझाङमा कांग्रेस निर्वाचित भएको छ । बझाङमा एमालेले २०५१, २०६४, २०७० र २०७४ को निर्वाचन जितेको थियो । प्रदेशतर्फको यो उपनिर्वाचनमा भने गठबन्धन नहुँदा एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी बने र मतान्तर पनि थोरै रह्यो ।

कांग्रेस भन्छ– गठबन्धन नहुँदा हारियो

कांग्रेसले यो क्षेत्रमा नेता एनपी साउदलाई चुनावी कमान्डर बनाएको थियो । साउदले चुनाव हार्नुको मुख्य दुई कारण रहेको विश्लेषण गरे । पहिलो, मत डाइभर्ट भएको आशंका उनले सुनाए । 

“सबै साथीहरूले कोसिस गर्नुभएको हो । कोसिस गर्दागर्दै पराजित भइयो । अरु दल चुनाव त लडे तर प्रमुख शक्ति भएको दाबी गरे बमोजिमको भोट ल्याएको देखिन्न । केही भोट डाइभर्ट भए कि भन्ने आशंका छ,” साउदले बाह्रखरीसँग भने ।

चुनाव हार्नुको दोस्रो कारण गठबन्धन नहुने रहेको ठम्याइ साउदको छ । 

“गएको चुनावमा हाम्रो भन्दा बढी एमालेको समानुपातिक मत थियो । हामीले यो क्षेत्रमा माओवादी र एकीकृत समाजवादीको संयुक्त मतले जितेका थियौं,” उनी भन्छन्, “गठबन्धनको मत ९ हजार अगाडि थियो । त्यसको असर परेको हुनसक्छ । गठबन्धन हुँदा सहज हुन्थ्यो भन्ने लागेको छ ।”

साउदले पार्टीका कमकमजोरी भने औल्याउन चाहेनन् ।  “पार्टीका कमीकजोरीबारे स्थानीयतहमै समीक्षा नगरी मैले केही भन्ने अवस्था छैन,” उनले भने । 

पराजित सिंह यसअघि निर्वाचित भएका पृथ्वीका छोरा हुन् । यो क्षेत्रमा उमेदवार चयनको विवाद पनि चुनाव हार्नुको कारण भएको विश्लेषण अरु दलको छ । 

‘जनताको आशा एमाले’

एमालेले भने एक्लाएक्लै लड्नु नै चुनाव जित्ने आधारका रुपमा लिएको छ । एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले दलहरू एक्लै चुनावमा जाँदा सहज भएको बताए ।
 
“पहिले गठबन्धन थियो । एक्लाएक्लै भयो । हाम्रो पार्टी एकताबद्ध रुपमा चुनावमा होमियो । गठबन्धन नुहुँदा पार्टीको मत पनि सुरक्षित भयो,” उनी भन्छन् ।  जैसीले चुनावी परिणामले जनताको आशा एमाले रहेको देखाएको बताए । 

“अरु दलप्रति सहानुभूति रहे पनि जनताको आशा एमाले रहेको यो नतिजाले देखाएको छ,” उनी भन्छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro