site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब उपेन्द्र पटक–पटक सेट छोडेर हिँडे...
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

प्रवीण (खतिवडा) क्लासमा थिए । उनको मोबाइलमा म्यासेजको घण्टी बज्यो । म्यासेज थियो कवि तथा निर्देशक उपेन्द्र सुब्बाको । उनले लेखेका थिए– भाइ, म उपेन्द्र सुब्बा ।

प्रविणको मोबाइलमा उपेन्द्रको नम्बर सेभ थियो । फोन गरे । उताबाट उपेन्द्रले भने– एउटा काम गर्न लागेको, भेटौँ हो भाइ । लोकेसन दिए, झम्सिखेल मोक्षबार । 

भेट भयो । उपेन्द्रले सिनेमाको कुरा गरे । थुप्रैमध्ये एउटा प्रसंग प्रवीणले अहिले पनि भुलेका छैनन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कस्तो प्रसंग ?

मैले लेखेको चरित्र निर्देशकले सिनेमामा देखेनन् हौ, मैले लेखेजसरी ! 

Royal Enfield Island Ad

प्रवीणलाई प्रश्न– कस्तो चरित्र ?

‘...’ 

मोक्षको भेटमा उपेन्द्रले सिनेमाको कथा सुनाए । तर, पूरा सिनेमाको होइन । एउटा पात्रको मात्रै । 

उपेन्द्रले भने– अनि क्या भाइ, मैले यो केटोचाहिँ दुब्लो पो देखेको छु हौ !

‘हुन्छ दाइ, म कोसिस गर्छु ।’ प्रविणको तौल ७६ केजी थियो ।

उपेन्द्र– कोसिस होइन कि तपाईंले सक्नुहुन्छ, आजैदेखि सुरु गर्नु है ।

छायांकनमा जान दुई महिना बाँकी थियो । निर्देशकले भनेपछि मान्नैप¥यो । 

तर, कसरी दुब्लाउने ? मन बेचैन भयो प्रविणको । डाक्टरसँग कन्सल्ट गर्न जाऊँ, खल्तीमा पैसा छैन । बिहान–बिहान घरमै एक्सरसाइज गर्न सुरु गरे ।

एक हप्तापछि उनले फोन गरेर भने– दुब्लाउन डक्टरसँग कन्सल्ट गर्नुपर्ने रहेछ । अस्पताल जानै सकेको छैन ।

उपेन्द्र– आजै आऊ, हाम्रो अफिस ।

उपेन्द्रले डाक्टर र डाइटिङको सेड्युल मिलाइदिन कार्यकारी निर्माता सिजनलाई भनिदिए । त्यसपछि सुरु भयो प्रविनको डाइटिङ प्लान । डाक्टरले खाँदा हुन्छ भनेकै कुरा पनि प्रवीणले छोडे ।

सुरुसुरुमा त खाइरहेको चिज नखानलाई सकस नै भयो । पछिपछि अरूले खाएको ठाउँमा नै जान छोडे । तौल घट्न थाल्यो । ७६ बाट सिनेमाको छायांकन सकिँदासम्म प्रविण ५८ केजीमा झरेका थिए । 

० ० ०

प्रवीण ब्राह्मण समुदायको व्यक्ति, सिनेमाको चरित्र पनि ब्राह्मण पुरुषकै थियो । कस्ट्युम समेत उनले अरू बेलै लगाएको नै हुन्छ भन्ने थियो । तर, चिनेजानेका साथी र नोटिस गर्नेहरूले त यो प्रविण नै हो भन्ने हुन्छ भनेर पूरै कस्ट्युम रिप्लेस गर्ने निष्कर्षमा पुग्यो निर्माण युनिट ।

छायांकनमा जान लामो समय थिएन । काम धेरै बाँकी थियो । प्रविण प्रि–प्रोडक्सन अथवा वर्कसपमा बस्नुपर्छ भन्नेमा सधैँ जोड दिने कलाकार हुन् । त्यसले कलाकारबीच बलियो बन्डिङ त हुन्छ नै, आफ्नो चरित्रमा पनि थप स्पष्ट हुन्छ भन्नेमा उनको सधैँ जोड रहन्छ । तर, उपेन्द्रले स्किप गर्न चाहे । ‘सबै खाईखेली ‘ख्याक’ भएका कलाकार छौ, मलाई समय छैन, त्यसैले पर्दैन’ भने । प्रिलाई स्किप गरे । 

तर, समयक्रममा उनीहरू उपेन्द्रले सुरुमा प्रविणसँग भनेको कुरैमा पुगेर अड्किए । 

कुन कुरा ? 

मैले लेखेको पात्र त निर्देशकले लेखेजस्तो देख्दा रहेनछन् भन्नेमा । 

कसरी ? 

आफ्ना दुइटा र दयाहाङ राईले गरेको एउटा सिन उपेन्द्रलाई बिझाएको प्रवीणलाई अहिले पनि याद छ । 

कस्तो सिन ? 

उपेन्द्रलाई कस्ट्युम बिझाएछ, उनले छायांकन रोकिदिए । दयाहाङको छायांकनको पार्ट आइपुगेको थियो । उनी आफ्नो सिन आएपछि सेटमा पुगेका थिए । दयाहाङ सेटमा पुगेको केही समयमै उपेन्द्र ‘एकछिन’ भनेर सेट छोडेरै घर हिँडिदिए ।

प्रविणले केही समयपछि फोन गरेर ‘दाइ, कहाँ जानुभएको ?’ भनेर सोधे । जवाफमा उपेन्द्रले भने– हे, केटाहरूले कस्ट्युम पनि के ल्याउँछ, ल्याउँछ ! मेरो घरमा एउटा ज्याकेट थियो, त्योचाहिँ सुहाउँछ कि जस्तो लागेर दिन आ’को ।

त्यही ज्याकेट लगाएर दयाहाङले सट दिए । झम्सिखेलमा भइरहेको सट रोकेर उपेन्द्र ज्याकेट लिन नखिपोटस्थित आफ्नै घर पुगेका थिए । 

० ० ०

प्रवीणको छायांकन थियो । प्रविणको कस्ट्युम देखेर उपेन्द्रलाई बिझाएछ । टाउकोमा हात लगाएर बस्छन् । तर, केही भन्दैनन् । सिनेमेटोग्राफर समेत रहेका शैलेन्द्र कार्की एकातिर तनावमा छन्, अर्कोतिर उपेन्द्र ।

“जाडो थियो, भित्र पातलो ज्याकेट लगाएर बाहिर बाक्लो ज्याकेट लगाएर शैलेन्द्र दाइले खिचिरहनुभएको थियो । उपेन्द्रले खोजेको के हो, तनावले शैलेन्द्र दाइले मोटो ज्याकेट फुकालेर छेउमा राखेर घोत्लिरहनुभएको थियो,” प्रविण नोस्टाल्जिक हन्छन्, “उपेन्द्र दाइको नजर शैलेन्द्रको पातलो ज्याकेटमा परेछ । उपेन्द्र दाइले भन्नुभयो– हौ, यो निलो ज्याकेट खोल्नुस् त । उहाँले ज्याकेट फुकालेर उपेन्द्र दाइलाई दिनुभयो । उपेन्द्र दाइले मलाई दिँदै भन्नुभयो– यो लाऊ ।”

प्रविणले शैलेन्द्रको निलो ज्याकेट लगाए । उपेन्द्रले भने– हौ, यो हो नि ! उनको तनाव अझै सकिएन । घोत्लिरहे । 

छेउमै असिस्टेन्ट डाइरेक्टर शान्तिम कोइराला थिए । उपेन्द्रले उनलाई भने– तपाईं यो जुत्ता खोल्नुस त । 

राम्रै ब्रान्डको जुत्ता रहेछ, उनको खुट्टामा । शान्तिम हिचकिचाए ।

प्रविणले शान्तिमलाई भने– लेऊ न त, मैले लाउने हो । त्यस्तो लाग्यो भने तिमीलाई ब्रान्डेड नै रिप्लेस गरौँला ।

शान्तिमले खोलेर दिए । प्रविणले लगाए । उपेद्रको अनुहारमा सन्तुष्टिको आभा देखियो । एक्सनकट् सुरु गरे ।  

अर्को सिन पनि छ प्रविणसँगको, कस्ट्युममा उपेन्द्रलाई चित्त नबुझेको । सेटमा छायांकन भइरहेको थियो । उपेन्द्रलाई चित्त बुझेनछ । उसैगरी सेट छोडेर हिँडे । कहाँ हिँडे ? थाहा छैन ।

भ्याङ्लो स्विटर लिएर फर्किएपछि थाहा भयो, उनी घर पुगेका रहेछन् । प्रवीणलाई त्यही स्विटर लगाउन भने । शैलेन्द्रको क्यामेराले कैद गरिरहेको प्रविणको सिन मोनिटरमा हेर्न थाले ।

उपेन्द्रको यो स्वभावले टिममा चस्का दियो । सानो–सानो डिटेलिङमा जान ध्यान दिन पाठ सिकायो । “पछि दाइले भन्नुभयो– हामीलाई चाहिएको राम्रो सिनेमा हो, सिनेमा राम्रो भयो भने तिमीहरूका सबै डिजाएर म पूरा गर्छु नि,” प्रवीण उपेन्द्रलाई उदृत गर्छन् ।

“एज अ डिरेक्टर उपेन्द्र दाइ पात्रलाई रौँचिरा केलाएर हेर्ने व्यक्तिको रूपमा पाएँ । चरित्रको कलरटोनमा ढाल्न सेट रोक्न पनि तयार निर्देशक कमै छन् जस्तो लाग्छ,” प्रवीण भन्छन्, “अधिकांश निर्देशक ह्या चल्छ, गो अ हेड ! चल्छ भन्छन् ।”

अर्को रमाइलो प्रसंग
मेनुका प्रधानसँगको सिन थियो । सेटमा छायांकन भइरहेको थियो । स्क्रिप्टमा एउटा लाइन थियो– दधिराम सम्भोगरत छ ।

यो सिन कसरी गर्ने ? सट डिजाइन भयो । प्रविणले मात्र प्ले गर्ने भए । पछि प्रविण पल्टँदा दुईजना अर्थात् मेनुका पनि देखिने । यो ब्लकिङ प्रविण आफैँले तयार गरेका थिए । उपेन्द्रले कस्तो मिठो ब्लकिङ भन्दै भने– तपाईं पहिला गर्नुस्, परेछ भने हेरेर म सुधारौँला ।

मिरुना मगर र मेनुकाले पनि बसेर हेर्ने भए । प्रविणलाई अप्ठ्यारो लागिरहेको थियो, तर गर्नैप¥यो ।

मेनुकाले त्यो लाइन बुझेकै रहिनछिन् । उनले कुनै प्रश्न गरेकी पनि थिइनन् ।

जब त्यो सिनका लागि प्रविणले सट दिन थाले, मेनुका चिच्याइन्– आमा ! के गरेको यस्तो ? प्रविण डिस्टर्ब भए, सिन बीचमै रोकियो ।

उपेन्द्रले मेनुकालाई भने– के भयो ? 

मेनुकाले प्रतिप्रश्न गरिन्– स्क्रिप्टमा यस्तो सिन कहाँ छ ?

उपेन्द्रले स्क्रिप्ट पल्टाउँदै पढेर सुनाए– दधिराम सम्भोगरत छ, यो भनेको के हो ? के त यो भन्या ? तिमीले यो पढेर बुझेको के हो, मलाई बुझाऊ त नानी !

मेनुका– बुढाबुढीबीच टसल छ, त्यसैले ऊ कल्पना मात्रै गरिरहेको छ भन्ने बुझेको थिएँ । 

उपेन्द्र– यसरी क्लियर लेखेको छ, कल्पना गरिरहेको छ भनेर बुझेर हुन्छ त नानी !

“यसको अर्थ कुनै शब्दको अर्थ एउटा हुन्छ, तर हामीले अर्कै अर्थ लगाएर गलत बुझिरहेका हुँदा रहेछौँ भन्ने पनि हो । यसरी गलत बुझाइ हुने हो भने हाम्रो अभिनयमा असर गर्छ, त्यसैले मिहिन तरिकाले धेरैपटक बुझेर स्क्रिप्ट अध्ययन गर्नुपर्ने रहेछ भन्ने पनि सिकाइ रह्यो,” प्रविण भन्छन्, “प्रि–प्रोडक्सनमा धेरै समय नदिँदा पनि यो समस्या हुन्छ । त्यसैले म प्रिमा उठेर प्राक्टिस गर्नुपर्छ भन्छु । यसले सिनेमालाई अभिनयबाट बचाउने हो भने गहन अध्ययन गर्नुपर्छ भन्ने एउटा पक्ष हो । अर्को कुरा, जस्तोसुकै कठिन अवस्थामा पनि निर्देशक प्रिबाट भाग्नु हुँदैन भन्ने हो ।” 

० ० ०

प्रविणलाई सेटमा फुक्काफाल बस्न मन लाग्दैन । कारण, फ्री भएर बसेको देखेपछि अरू फुर्सदमा रहेकाहरू बोल्न आउँछन् । त्यसले उनलाई सिनेमा र क्यारेक्टरको जोनबाट बाहिर लैजान्छ । त्यसपछिको सिनमा क्यारेक्टरलाई कन्ट्युनिटी दिन कठिन हुन्छ ।

‘मनसरा’को सेटमा थिए प्रविण । उनको भाँडा माझ्ने ठाउँ थियो । आफ्नो सिन सकिएपछि खाली भए । लगत्तै मिरुनाको बाथरुमको सिन थियो । त्यसका निम्ति बाँस र टिन सारेर मिलाउँदै थिए प्रविण । टिन उठाउँदा प्रविणको हात काट्यो । “शैलेन्द्र दाइले मलाई हेरिरहनुभएको थियो । उहाँको अनुहारको रङ उड्यो । उहाँलाई लागेछ, धेरै काट्यो,” प्रविण भन्छन्, “हात स्वाट्टै काटेपछि मैले तत्काल अर्को हातले रगत थुनेँ । उहाँले मन्जन लिएर आउन भन्नुभयो– धेरै काटेजस्तो छ, हेलचेक्र्याइँ नगर ।” 

प्रविणलाई घाउ लामो भए पनि धेरै गहिरो होलाजस्तो लागेको थिएन । तर, मन्जन लगाउन हेर्दा लफ्रक्कै छाला दुईतिर देखियो । शैलेन्द्रको अनुहारको रङ थप उड्यो । कारण, अब कतिपय सिनमा कन्ट्युनिटी नदेखिने हो कि भन्ने डरले घर गरेछ । शैलेन्द्रले भने– एकछिन ब्रेक लिऊँ । म आफैँ मेडिकल लिएर जान्छु ।

प्रविणले शैलेन्द्रलाई भने– तपाईं अरू सट लिँदै गर्नु, म प्रोडक्सनको कसैलाई लिएर जान्छु । त्यसै गरे ।

घाउ देखिन्छ कि भन्ने डर भयो । कन्ट्युनिटी बिग्रिने त्रास भयो । तर, काम गरिरहने मान्छे घाउचोट लाग्नु त सामान्य हो भन्ने भयो । त्यो दिन उनले पन्चा लगाएर काम गरे । तीन दिन उनले पन्जा लगाएरै सट दिए । 

० ० ०

नाटक नै किन नहोस्, सधैँ सबै सिन दिन सहज हुँदैन । प्रविणलाई पनि त्यस्तै भयो । मिरुनाले नुहाउँदै गर्दा अचानक उनी त्यहाँ पुग्नु थियो । नुहाउँदै गरेको देख्ने सिन थियो । खोजेजस्तै सिन दिँदै थिए । अचानक उनी ड्रप भए । सुक्खा भए । अगाडि बढ्नै सकेनन् ।

उनले आग्रह गरे, “म ड्रप भएँ, अगाडि बढ्नै सकिनँ । बल नगरौँ, अर्को दिन गरौँ । आज अरू सिन लिऊँ ।” शैलेन्द्रले कुरा बुझिसकेका थिए, ओके गरे । भोलिपल्ट बाँकी सट लिए । 

० ० ०

ललितपुरको नखिपोटमा सिनेमाको छायांकन थियो । सुरुकै दिनदेखि दयाहाङ राईलाई खोज्दै स्थानीय आउँथे । दिनकै आउँथे र सोध्थे– दया दाइ कहिले आउनुहुन्छ ?

उनको सिन अन्तिमतिर थियो । स्थानीय दिनकै आउन थालेपछि प्रोडक्सनले भनेको थियो– आएपछि खबर गर्छौँ ।

दयाहाङ छायांकनका निम्ति सेटमा पुगे । स्थानीय झुरुप्प आइपुगे । “हामीले सोचेका थियौँ, दया दाइलाई मन पराउने फ्यान होलान्,” प्रवीण भन्छन्, “तर, त्यहाँ त दया दाइका आफन्त नै आफन्त पो रहेछन् । अधिकांशका दुईतीन पुस्ता थाहा भएका । सबैसँग दोहोरो चिनजान भएका । को कहाँ छ भनेर हरेकसँग नामै लिएर दया दाइले सोधेपछि पो हामीले थाहा पायौँ, किन उहाँको खोजी भइरहेको रहेछ भनेर ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro