काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बुधबार आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोअन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा छलफल कार्यक्रममा मन्त्री चौधरीले नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको बताइन् । जस कारण विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको उनको भनाइ छ ।
हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै उनले सात मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताइन् ।
मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताइन् । ऊर्जा बेचेर नेपाल समृद्ध हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताइन् ।