
काठमाडौं । एक महिनायता उच्च बनेको वायु प्रदूषण मंगलबार केही कम भएको छ । वातावरण विभागको सूचकांकअनुसार मंगलबार बिहान ११ः३० बजे काठमाडौंका विभिन्न स्थानको एयर क्वालिटी इन्डेक्स एक्यूआई ५५ देखि १३० सम्म छ ।
सोमबार बिहान सबैभन्दा बढी (२९२) एक्यूआई रहेको भरतपुरमा मंगलबार सो अंक १७७ मा झरेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार सोमबार काठमाडौं विश्वका १२२ मध्ये प्रदूषित सहरको एक नम्बरमा सूचीकृत थियो ।
चैतयता नेपाल तीन पटक विश्वका प्रदूषित सहरको एक नम्बरमा परिसकेको छ । मंगलबार भने नेपाल सो सूचीमा सातौँ नम्बरमा छ ।
काठमाडौंमा सोमबार रातिबाट पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिदेखि उपत्यकामा हल्का हावाहुरी चलिरहेको छ ।