site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

सर्लाही । राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्यांकअनुसार तीन हजार ७९७ जना बालिका र चार हजार ४८० जना बालक गरी आठ हजार २७७ जना विद्यालय उमेरका बालबालिका विद्यालय बहिर रहेका हुन् । विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिए ।

तथ्यांकअनुसार जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो । सबैभन्दा कम पर्सा गाउँपालिकाका बालबालिका विद्यालय बाहिर छन् । बरहथवा नगपालिकामा पाँचदेखि १२ वर्ष उमेर समूहका ३६९ जना बालिका र ४६३ जना बालक गरी ८३२ बालबालिका विद्यालय बाहिर छन् । 

यस्तै, सबैभन्दा कम पर्सा गाउँपालिकामा ११५ जना बालिका र १२७ जना बालक गरी २४२ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका–१, स्थित प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताए । यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना अभियान मार्फत् विद्यालयमा ल्याइने शिक्षक रायले बताए । 

अन्य पालिकामा पनि विद्यालय उमेरका बालबालिका अझै विद्यालय बाहिर रहेको तथ्यांकले देखाएको छ । विशेष गरेर गरिबी तथा चेतनास्तरको कमीका कारण बालबालिकालाई अभिभावकले विद्यालय नपठाउने गरेको पाइएको छ । धेरै अभिभावक इँटाभट्टालगायत स्थानमा मौसमी कामदारका रुपमा जाने गर्दा पनि बालबालिका विद्यालय बाहिर रहने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताए ।

यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन जिल्लामा यतिबेला भर्ना अभियान चलिरहेको छ । विद्यालयका शिक्षक शिक्षिका व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थितिमा र्याली तथा घर दैलो कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । अधिकांश पालिकाले यस वर्ष विद्यालय उमेरका बालबालिकालाई शतप्रतिशत विद्यालय भर्ना गरिने बताएका छन् । रासस

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro