site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कबड्डीको बक्सअफिसको प्रेसर छैन, अपेक्षाचाहिँ छ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

(रामबाबु गुरुङ नेपाली चलचित्र उद्योगमा हिट सिनेमा दिने थोरै निर्देशकमध्ये एक हुन् । ‘कबड्डी’का चार सिरिज, ‘पुरानो डुङ्गा’, ‘मिस्टर झोले’, ‘साइँली’, ‘सेन्टी भाइरस’, ‘फूलबारी’लगायत चलचित्र निर्देशन गरिसकेका छन् । उनको अर्को चलचित्र ‘डिग्री माइला’ रिलिजको तयारीमा छ ।

रामबाबु र दयाहाङ राईको समूह नेपाली रजतपटमा फापेको मानिन्छ । यही समूहमा विजय बराल र बुद्धि तामाङ पनि छन् । अक्सर रामबाबुका चलचित्रमा दयाहाङ मात्र होइन, विजय र बुद्धि पनि छुट्दैनन् । त्यसैले उनलाई यो समूहबाट बाहिर निस्कन नसकेको आरोप पनि लाग्ने गरेको छ । ‘डिग्री माइला’को कथा, यसको व्यापारिक सम्भावना, आफैँले सेट गरेको बक्सअफिस रिपोर्टको प्रेसर, प्रायशः आफ्नो समूहइतर काम नगर्नुको कारण, बजारकेन्द्रित हुँदा सिर्जनशीलतामा पर्ने असर, इन्डिपेन्डेन्ट सिनेमा निर्देशनको सम्भावना, उपेन्द्र सुब्बासँगको सहकार्य टुट्दाको प्रभावलगायत विषयमा केन्द्रित रहेर उनै निर्देशक रामबाबुसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सम्पादित अंश)

‘डिग्री माइला’ शैक्षिक बेरोजगारको कथा हो कि दक्ष शिक्षकको अभाव झेलिरहेका स्कुल/क्याम्पसको कथा ? 
गाउँमा अंग्रेजी शिक्षकको अभाव छ । त्यसको कारण व्यक्तिको अहम् हो ।  दक्षता/क्षमताअनुसारको काम मैले पाउनुपर्छ भन्ने मनोविज्ञानले काम गरिरहेको छ । यी दुई कुराबीचको द्वन्द्व सिनेमाको कथामा छ । पढेको क्षमतावान् व्यक्तिले आफूले खोजेजस्तो अवसर पाइरहेको छैन भन्ने नै सिनेमाको कथा हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बेरोजगारीको भयावह अवस्था रहेको समयमा पनि अंग्रेजी शिक्षकको अभाव छ ?
छ, पर्याप्त छ । अहिले हरेक गाउँमा सडक, बत्तीलगायत सुविधा पुगेको छ । तर, मान्छे सहरकेन्द्रित भएको छ । सुविधामुखी हुँदै जाँदा गाउँमा धेरै मान्छे बस्दैनन् । पहिलाको तुलनामा अहिले खेती गर्ने मान्छे कम छन् । खेत छ, तर खेती नगरेर चामल किनेर खाने चलन बढेको छ । यो कल्चरजस्तै बन्दै गएको छ ।

शिक्षण पेसामा रहे पनि सुविधा भएकै ठाउँमा किन नजाने भन्ने मनोविज्ञानले काम गरेको छ । सकेसम्म अधिकांश मानिस गाउँमा बस्न चाहँदैनन् । यो कुरा शैक्षिक बेरोजगारमा पनि लागु भएको छ । शिक्षकको हकमा पनि यो  लागु हुन्छ/भइरहेको छ ।

Royal Enfield Island Ad

यो सिनेमा शैक्षिक बेरोजगारको अहंकारको कथा हो कि सरकारी स्कुल/क्याम्पसको कमजोर अवस्थाको चित्रण ?
शैक्षिक बेरोजगार भनेको सिस्टमले निम्त्याएको समस्या हो । अहंकार भनेको व्यक्तिगत कुरा हो । डिग्री माइला नेपाली समाजको प्रतिनिधि पात्र मात्र हो । यस्ता लाखौँ नेपाली छन् । कुनै संस्था, राज्य, राजदूत र समग्र देश नै चलाउन सक्ने क्षमता मसँग छ, तर मेरो क्षमताअनुसारको काम छैन, मजतिको मान्छेलाई राज्यले खोजेर अवसर दिनुपर्छ भन्ने उसमा अहम् छ ।

अहिले गाउँमा सामुदायिक स्कुल/कलेज धेरै छन् । यो आफैँमा राम्रो पनि हो । तर, त्यसको निगरानी कसरी भइरहेको छ, कसरी चलिरहेका छन्, कसरी टिकिरहेका छन्, आम्दानी कसरी गरिरहेका छन्, कस्तो शिक्षा दिइरहेका छन्, कस्ता विद्यार्थी उत्पादन भइरहेका छन् भन्ने कथा पनि सिनेमामा छ । यी पक्ष व्यंग्यात्मक रूपमा जोडिएर आउँछन् ।

‘कबड्डी’ सिरिजबाट बाहिर निस्किएर सिनेमा बनाउनुभएको छ, ‘कबड्डी’को बक्सअफिसले कति प्रेसर दिन्छ ? 
अरूलाई कस्तो लाग्छ, मलाई थाहा छैन । तर, मलाई यो सिनेमाले पनि कबड्डीकै जस्तो व्यापार गर्नुपर्छ भन्ने लाग्दैन । मेरा अरू सिनेमाको जति बक्सअफिस कलेक्सन हुनैपर्छ भन्ने धारणा मेरो छैन । त्यो दबाब मलाई शून्य छ । तर, आशा भने हुन्छ ।

यो सिनेमा यस्तो बनेको छ, यसमा दर्शकको रुचि यसकारण हुन्छ । त्यसैले कबड्डीजस्तै चल्छ भन्नेचाहिँ हुँदो रहेछ, किनभने कमेडी जानरा नै हो । टिम त्यही हो भन्ने हुँदो रहेछ ।

ब्रान्डको लिगेसीले दर्शकको चाप बढ्ने कुरा फरक हो । तर, नयाँ प्रोजेक्ट भएकाले यसलाई कमर्सियल रूपमा कसरी सफल बनाउने भन्ने दबाब त हुन्छ । यद्यपि, म कबड्डी वा ‘छक्का पञ्जा’सँग तुलना गरेर त्यो प्रेसर लिन्नँ । 

तपाईं एउटा समूहबाट बाहिर निस्कन सक्नु भएन भन्ने आरोप छ । समूहबाट निस्कन नसक्नुभएको हो कि नचाहेकै हो ?
मेरो व्यक्तिगत नेचर के हो भने मलाई जुन व्यक्ति र टिमसँग सहज लाग्छ, त्यही टिमसँग काम गरिरहेको हुन्छु । बाहिरको टिमसँग काम नगर्ने भन्ने हुन्न । मैले जुन काम गरिरहेको छु, त्यसका लागि मेरो टिम अर्थात् सँगै काम गरिरहेका साथीहरू नै पर्याप्त भएर पनि होला ।

कास्टिङ गर्ने जिम्मा हामी अरूलाई दिन्छौँ । यो मात्र कास्टिङ गरौँ अर्थात् हाम्रो टिममा जो जो छौँ, उहाँहरूसँग मात्र काम गरौँ भन्ने छैन । मैले बनाइरहेका सिनेमामा पनि त्यो देखिन्छ । आँचल शर्मा सायद यो सिनेमामा दर्शकले अपेक्षा गर्नुभएको थिएन । साथीहरूसँग छलफल गरेर, आँचलले यो क्यारेक्टर गर्न सक्ने विश्वास गरेर नै कास्टिङ गरेका हौँ । यसले पनि टिम बाहिर जान सकेको छैन भन्ने आरोपको खण्डन आफैँ हुन्छ भन्ने लाग्छ ।

दयाहाङ राई, विजय बराल, बुद्धि तामाङबिना तपाईं अपूरो महसुस गर्नुहुन्छ  ? 
यही सिनेमाका कुरा गर्दा नाटक बनाउँदा नै यो चलचित्र बनाउने योजना थियो । त्यो बेला गरेको प्लानिङले अहिलेसम्म छोडेको छैन । केही एकाध कास्टिङबाहेक बाहिरबाट हेर्दाचाहिँ एउटै समूहमा बसेर काम गरेजस्तो देखिन्छ । तर, नियत राखेर नै यही टिमभित्र मात्रै बसेर काम गरौँ भनेर गरेको होइन ।

तपाईंका चलचित्रमा दयाहाङसँगै विजय र बुद्धिलाई देखाए कथा भन्न सहज हुने हो कि बजारमा सहज हुन्छ भनेर हो ? 
त्यो त अवश्य हो । लामो समयदेखि सँगै काम गर्दा कसले के काम गरिरहेको छ भन्ने थाहा हुन्छ । एकले अर्कोको काममा सहयोग गर्छ । एकले अर्कोलाई केयर र सपोर्ट गर्ने काम लामो समयको संगतले पनि गर्छ । सिनेमाको काम गर्दा जुन जुन डिपार्टमेन्टभित्र बसेर काम गरे पनि समग्रमा सिनेमाकै काम गर्ने हो । यो काम गर्दा एकार्काबीच आत्मीयता नै भएन भने काम गर्ने आत्मविश्वास नै हुँदैन । एकार्कासँग चित्त बुझेको छैन भने काम गर्न समस्या हुन्छ । एकले अर्कोलाई सहयोग गर्दैन । को–एक्टर र को–डिपार्टमेन्टलाई सहयोग गर्दैन भने काम राम्रो हुँदैन । यसले पनि आफ्नो टिमभित्रका साथीलाई विश्वास गरेको हुनसक्छ मैले ।

टिमबाहिर गएर रिस्क मोल्न नचाहेको भन्न मिल्छ ? 
त्यस्तो होइन । रिस्कको कुरा गर्ने हो भने हरेक सिनेमामा हुन्छ । स्थापित भइसकेको कबड्डी सिरिजकै हरेक सिरिज गर्ने बेलामा वितरकबाट, बजारबाट कस्तो डिमान्ड आउने हो भनेर डर लागिरहेको हुन्छ । अन्तिम सत्य दर्शकको प्रतिक्रिया नै हो । दर्शकले मन नपराए त सिनेमा एकै दिनमा सकिन्छ । दर्शकको चित्त बुझाउन सकेन भने सिरिज, स्टार र ब्रान्ड टिम भनेर केही हुँदैन । यसमा म विश्वास पनि गर्दिनँ । काम गरिरहेका साथीभाइसँग काम गर्न सजिलो हुन्छ, त्यति मात्रै हो ।

रामबाबुका सिनेमाको नाम बिर्सिदिने हो भने कुन चलचित्र हेर्दै छु भन्ने थाहै हुँदैन भन्ने आरोप छ नि ?
त्यो होला । यो प्रतिक्रिया मैले पनि पाएको छु । तर, मैले कथा, पात्र, परिवेश केही न केही त फरक गर्न खोजिरहेकै हुन्छु । यस्तो प्रतिक्रियाले मलाई खुसी पनि लाग्छ, किनभने काम मेरोजस्तो देखिनु भनेको त्यही नै मेरो परिचय हो । पहिचान हो । मेरो आफ्नो काम मेरैजस्तो हुनुपर्छ, अरूको भन्दा छुट्टै हुनुपर्छ । त्यही नै मेरो परिचय हो ।

नेपाली बजारमा आफूलाई प्रमाणित गरिसक्नुभयो, इन्टरनेसनल फिल्म फेस्टिभलतर्फ किन रुचि गएन ?
जति बेला म सिनेमा भर्खर पढिरहेको, सिकिरहेको थिएँ, त्यो समय मलाई यसमा बढी रुचि थियो । तर, यो मेरो प्रोफेसन हो भने व्यावसायिक रूपमा पहिला सफल हुनुपर्छ भन्ने लागेपछि म कमर्सियल रूपमा बढी फोकस भएकै हुँ । म बजारमुखी भएकै हो, यसलाई म स्वीकार गर्छु ।

केही सिनेमा बनाएर पैसा कमाएँ र केही रकम बचत भयो भने मैले तपाईंले भनेजस्तो कुरा पनि सोचिरहेको छु । एक दिन कमर्सियल सिनेमाबाट रिटायर्ड पनि हुनुपर्छ होला भन्ने लाग्छ । गाउँ र देशका कुनाकन्दरामा रहेका कथा भन्ने केही साथीसँग पनि मैले संगत गरिरहेको छु । त्यस्ता सिनेमामा लगानी पनि गरिरहेको छु । ती सिनेमाको मलाई छुट्टै माया लाग्छ, लगाव छ ।

एक दिन मैले बजारमुखी सिनेमाबाट बिदा लिउँला र फेस्टिभल ओरियन्टेड सिनेमा बनाउँछु होला भन्ने पनि कल्पना गरिरहेको छु । मलाई काम गर्न मन लागेका, लामो समयदेखि मनभित्र गढेर बसेका केही विषय छन् । ती विषयमा सिनेमा इन्डिपेन्डेन्ट तरिकाले बनाउँछु होला भन्ने लाग्छ । फरक अडियन्समा जान्छु भन्ने मनमा छ ।

कुनै समय फेस्टिभल ओरियन्टेड सिनेमा बनाउँछु भन्नुको अर्थ अहिले कम क्रिएटिभ काम भइरहेको छ भन्ने हो ?
बजारमुखी सिनेमा बनाउँदा क्रिएटिभ नै भइँदैन अथवा क्रिएटिभ काम नै हुँदैन भन्ने होइन । बजारले स्टारडम र मेकरको भ्यालु खोज्छ । एक्सन, कमेडी, थ्रिलर के चलिरहेको छ, कुन जानराको सिनेमाको मास कति र कुन छ भन्ने हुन्छ । अडियन्सलक्षित गरेर सिनेमा बन्छन् । तर, यसमा आर्ट हुँदैन र सिर्जनशील काम नै हुँदैन भन्ने होइन । ढाँचा, कथ्यशैली, मार्केटिङ फरक मात्र हुने हो ।

फेस्टिभलमा पनि त्यही नै हो । फेस्टिभलले कस्तो कथा, कथ्यशैलीलाई प्राथमिकता दिइरहेको छ भन्नेमा मेकर केन्द्रित हुन्छ । फेस्टिभलले पनि कस्तो विषय र कथ्यशैलीलाई प्राथमिकता दिन्छ भनेर नै सिनेमा बन्ने हो । फेस्टिभलमा जाने भन्दैमा आँखा चिम्लिएर सिनेमा बन्ने होइन ।

तपाईंले स्क्रिप्ट राइटर उपेन्द्र सुब्बासँगको सहकार्य टुटाउनुभयो । यसको असर अब तपाईंका सिनेमा देखिन्छ होला नि ! 
देखिँदैन । सर्जकको क्षमताको कुरा उसले गर्ने काममा देखिने कुरा हो । लेखन, निर्देशन वा प्राविधिक कुरामा उसको दक्षता प्रदर्शित हुने हो । सुरुमा उपेन्द्र सुब्बाको स्क्रिप्ट राइटिङमा त्यति धेरै चासो पनि थिएन । उहाँ स्क्रिप्ट राइटरभन्दा मेरो साथी हो । दाइ हो । उहाँ कवि हो । उहाँमा आफ्नो समुदाय र आफ्नो भेगको कथाप्रति जुन क्षमता छ, त्यो उहाँका कविता र कथामा देखेर ‘दाइ, यो कुरामा सिनेमा आउनुपर्छ’ भनेर जबरजस्ती हुटहुटी जगाएको हो ।

उहाँको कुरा धेरैसँग मिल्दैन थियो । तर, हामीचाहिँ मिल्ने साथी भयौँ । त्यसैले हामी कथामा धेरै छलफल गर्थ्यौं । हामीले जति पनि सँगै काम गर्‍यौँ, धेरैजसो क्यारेक्टर र कथामा बहस गर्थ्यौं । यसमा उपेन्द्र दाइले मलाई सहयोग गर्नुभयो । स्क्रिनप्ले राइटिङमा, सबै सिनेमामा मैले नै लेख्ने हो । त्यसका लागि छलफलले सुधार ल्यायो, निखारता ल्यायो र राम्रो काम भयो । त्यो सत्य हो । तर, उहाँले एक्लै काम गर्दा म नभएकाले काममा दखल हुन्छ भन्ने होइन । न उहाँ नहुँदा मेरो काममा दखल पर्छ । किनभने, सबै सर्जकको आ–आफ्नै क्षमता हुन्छ, त्यो उसको काममा देखिन्छ ।

एउटै सिनेमामा धेरै दक्ष व्यक्ति जोडिएर काम गर्ने वातावरण हामी बनाउन सक्दैनौँ ? 
अहिले अडियन्सको हातहातमा विश्वभरका सिनेमा र सिरिज छन् । उनीहरूलाई मेकरलाई भन्दा धेरै सिनेमाका बारेमा जानकारी हुन्छ । कुन लेखकले कस्तो सिनेमा लेखिरहेको छ, कुन निर्देशकले कस्तो सिनेमा बनाइरहेको छ, कुन सिनेमाले के मुद्दा उठाइरहेको छ, त्यो हामीलाई भन्दा अडियन्सलाई बढी थाहा छ ।

यस्तो समयमा हामीले बजेट भएन भनेर हुँदैन । अभावमा राम्रो काम गर्नुपर्छ भन्ने मेरो धारणा छ, किनभने मेकरले अभावमा अप्सन खोज्छ । विषयप्रधान भएर जानुपर्छ भन्ने हो ।

यो कुरा स्क्रिनप्लेमा आउनुपर्छ । हामी जति पनि मेकर छौँ, सबै साहित्यमा निकै कमजोर छौँ । म थुप्रै साहित्यकारसँग बसेको छु, संगत गरेको छु, छलफल गरेको छु, जसले राम्रो साहित्य लेख्नुहुन्छ । जो साहित्यकार राम्रोसँग समाज र राजनीति बुझ्नुहुन्छ, उहाँहरूलाई स्क्रिनप्लेमा समस्या छ । यसमा उहाँहरूलाई गाइड गर्नुपर्छ । सिनेमा फरक हो । स्क्रिनप्ले र साहित्य फरक हो । साहित्य लेखनमा सक्रिय, त्यसभित्र पनि सिनेमाप्रति रुचि राख्नेहरूलाई मैले सिनेमा लेख्न भनिरहेको छु । सिनेमामा तपाईंहरूको खाँचो छ भनेर भनिरहेको छु । उपेन्द्र सुब्बा, राजन मुकारुङ, बुद्धिसागर, यज्ञश पण्डित, अनुप सुवेदीलाई लेख्न भनिरहेको छु । त्यसैले त्यस्तो दिन पनि आउला जुन समय नेपालमा स्क्रिनप्ले राइटरको खाँचो नहोस् ।                

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro