site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रण भएन

गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मंगलबारदेखि लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । 

बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको छ भने सयौँ हेक्टर जंगल नष्ट भएको छ । वन्यजन्तु, चराचुरुंगी र वन पैदावर नष्ट भएका छन् ।

मंगलबार दिउँसोदेखि सुरू भएको आगलागीले बेनी–२ बगरफाँट र बेनी–३ भकिम्लीका लरेनी, बिरखानीलगायत आसपासको वनभरि फैलिएको बगरफाँटका तोपबहादुर कार्कीले बताए । “आगो नियन्त्रण बाहिर छ, मानवीय प्रयासमा नियन्त्रणको सम्भावना छैन, धुवाँको मुस्लोले बस्तीमा बस्नै गाह्रो भएको छ,” कार्कीले भने ।

डढेलो फैलिएर बेनी–३ भकिम्लीको तल्लो बस्तीसम्म पुगेको छ । वनबाट बस्तीमा आगो पस्न सक्ने खतरालाई दृष्टिगत गरी भकिम्लीको तल्लो क्षेत्रका बस्तीमा सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । “आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ । कसरी आगो लाग्यो भन्ने कुरा अझै यकिन भएको छैन्”, उनले भने । 

आगलागीले ससाना बिरुवा र बुट्यानहरू नष्ट हुनाका साथै वन्यजन्तु र चराचुरुंगीका बासस्थान नासिएका छन् । म्याग्दी जिल्लामा विभिन्न सामुदायिक वनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि साधनस्रोत र जनशक्तिको अभावले समस्या भएको बताइएको छ । 

जिल्लामा आगलागीले सदरमुकाम बेनीबजारसँगै जोडिएका बराहपाखो सामुदायिक वनसहित जिल्लाभरका सामुदायिक तथा सरकारी वनजंगल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नांगो देखिन थालेका स्थानीय बताउँछन् । 

हरेक वर्ष नयाँ घाँस पलाउने आसमा डढेलो लगाउने गरिएको तथ्यांकले देखाउँछ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन हुने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । आगलागीका घटनामध्ये ७० प्रतिशत मान्छेकै कारण हुने गरेको कार्यालयको ठहर छ । 

वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजंगलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिबाना र दुवै सजाय समेत हुनसक्ने कानुनी व्यवस्था छ । जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेक्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचना नआउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro