काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–८ का ५४ वर्षीय शनि भण्डारी रहेका छन् ।
उनलाई आज काठमाडौंको टोखा नगरपालिका–८ सुन्दरबस्तीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार शनिको मोबाइलबाट जीएमटी, यूएसडीटी, बीएसडब्लू, एसओएल, यूटीसीलगायतका क्रिप्टो करेन्सीको कारोबार भएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत क्रिप्टो करेन्सीबाट वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।