काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सहमतिका आधारमा टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सर्वसम्मत बनाउन सरकारले पहल गरिरहेको बताए ।
“शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्मानित सदनमा दर्ता भएको अवगत नै छ,” प्रधानमन्त्रीले भने, “त्यसमा सर्वसम्मत होस् भन्ने उदेश्यका साथ सरकारको तर्फबाट पहल भइरहेको छ । अब छिट्टै नै राष्ट्रिय सहमतिका आधारमा टुंग्याउँछौँ भन्ने मेरो विश्वास छ ।”
प्रधानमन्त्री प्रचण्डले संसद्मा गरेका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताए । भूमिहीन, सुकुम्बासी लगायतका समस्या समाधानका लागि निवेदन संकलन र तथ्यांक प्रविष्टिलगायत क्षेत्रगत तयारी करिब सम्पन्न भएको जानकारी दिए ।
जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमिसम्बन्धी तथा वनसम्बन्धी ऐनमा केही संशोधन आवश्यक देखिएकोले यी कानुनमा सुधारका लागि संशोधन भई संसदमा पेस गर्ने कार्य अन्तिम चरणमा रहेको बताए । उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी दिने कार्य सुरु भइसकेको उनले सुनाए ।