काठमाडौं । संसदीय समितिको एक अध्ययनले जलवायु परिवर्तनले नेपालको हिमालय क्षेत्रका समुदायमा गम्भीर असर गरेको निष्कर्ष निकालेको छ ।
राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले तयार पारेको ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ मा उक्त निष्कर्ष निकालिएको हो ।
“विकसित देशका अनेकौं अनियन्त्रित गतिविधिका कारण तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले हिमालय क्षेत्रको वातावरण र त्यसमा निर्भर समुदाय दुवैलाई गम्भीर रुपमा असर पारिरहेको छ,” प्रतिवेदनमा भनिएको छ ।
समितिले स्थलगत अवलोकनको क्रममा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले ल्याएका असरहरूको अवस्थाको जानकारी लिएको थियो । २०८० कात्तिक ३ देखि ७ गतेसम्म सोलुखुम्बुमा अवस्थित उच्च हिमाली भेगमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको अवलोकन समितिले गरेको थियो ।
“हिमालमा हिउँ नपर्ने तथा कम पर्ने र परेको हिउँ पनि तीव्र रुपमा पग्लने एवं हिमनदीहरू समेत तीव्र रुपमा पग्लने अवस्था पाइएको छ,” प्रतिवेदनमा जलवायु परिवर्तनका समस्या तथा चुनौतीबारे भनिएको छ, “हजारौं हिमनदीहरूको घर मानिने हिमाली क्षेत्रमा बढ्दो तापक्रमको कारणले तीव्र रुपमा हिउँ पग्लदै जाँदा भविष्यमा तल्लो भू–भागमा पानीको उपलब्धता नहुने खतरा देखिएको छ ।”
प्रतिवेदनमा जलवायु परिवर्तनका कारण समग्र वातावरण असन्तुलन हुने खतरा पनि त्यत्तिकै रहेको बताइएको छ । हिमालहरू लाखौं मानिसहरूलाई बचाउने नदीहरूका स्रोत मात्र नभएर वातावरण सन्तुलनका प्रमुख आधार मानिन्छन् ।
“हिमालको हिउँ तथा हिमनदीको पग्लाईसँगै कतिपय हिमालहरू काला पत्थरमा परिणत हुँदै गएका, कतिपय नदीहरू क्रमशः सुक्दै गएका तथा कतिपय नदीहरूमा पानीको मात्रा विगतको तुलनामा ज्यादै न्यून हुँदै गएको अवस्थाले एकातिर हिमालय रेन्जको समग्र जीवन पद्धतिमा नै खतराको अवस्था ल्याएको पाइएको छ,” प्रतिवेदनमा उल्लेख छ ।
हिमालमा हिउँ नहुँदा प्राकृतिक सौन्दर्यता गुम्ने, हिमालको देश भनेर अन्तर्राष्ट्रिय जगतमा पाएको पहिचान गुम्ने तथा उच्च हिमाली भूभागका बासिन्दाको प्रमुख पेशा पर्वतारोहण समेत खतरामा पर्ने गम्भीर चुनौती प्रतिवेदनमा औंल्याइएको छ ।
हिमाल पग्लने क्रमले समुन्द्री सतह बढ्दै जाँदा तल्लो तटीय क्षेत्र एवं समुन्द्र आसपासका वस्ती एवं देशहरूको समेत अस्तित्व मेटिने खतरा बढ्दै गएको छ ।
राष्ट्रियसभाअन्तर्गतको समितिले प्रतिवेदनमा भनेको छ, “जलवायु परिवर्तनले हिमालय क्षेत्रमा वर्षाको ढाँचामा नै परिवर्तन भइरहेको छ, जसले गर्दा वर्षा र हिमपातको समय र यसको तीव्रतामा पनि परिवर्तन आएको देखिन्छ ।”
जलवायु परिवर्तका कारण अनियन्त्रित वर्षा हुने, कतै वर्षा नै नहुने जस्ता समस्याले खेतीपातीमा समेत असर गरेको छ ।
त्यतिमात्र होइन हिमताल फुट्ने, अनियन्त्रित वर्षा हुने गरेकाले हिमालय क्षेत्रमा ठूला ठूला पहिरो जाने र तल्लो भूभागमा बाढी आउँदा खोलानाला आसपासका वासिन्दाले गर्ने खेतीपाती जोखिममा पर्ने गरेको छ ।
जलवायु परिवर्तनले गर्दा हिमाली क्षेत्रका समुदायले अनेकौं विपद्को समाना गर्नुपरेको छ । यस्ता विपद्का कारण मानवीय क्षति हुने गरेकाले जलवायु परिवर्तनले मानव र इकोसिस्टम दुवैलाई गम्भीर रुपमा असर गरेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ ।
तापक्रम वृद्धिले कृषि तथा वनस्पति क्षेत्रहरूमा पनि परिवर्तन ल्याइरहेको छ । “मौसम अनुरूप हुने वनस्पति नहुने, वनस्पतिहरू ढिलो फुल्ने, फल नलाग्ने, फल लागे पनि किरा पर्ने, कुहिने तथा विगतमा हुने फलफूल तथा बालीनालीहरू नहुने जस्ता समस्याहरू देखा पर्न थालेका छन्,” प्रतिवेदनमा उल्लेख छ ।
वनस्पति क्षेत्रमा आएको परिवर्तनले कृषि प्रणालीमा गम्भीर असर गरेको ठम्याई समितिको छ । यसले हिमालयमा वनस्पति र प्रजातिहरूको बसोबासलाई समेत असर गरिरहेको छ ।
जंगली जनावरहरूले खाने गरेका कैयन् वनस्पतिहरू समेत आजकाल उपलब्ध नहुने कारण विगतमा हिमाली क्षेत्रमा पाइने केही प्रजातिहरूका जीवजन्तु तथा वनस्पतीहरू लोप भैसकेको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनमा स्पष्ट शब्दमा लेखिएको छ, “अर्कोतिर जीवनजन्तुहरू वस्ती तथा बालीनालीतिर आकर्षित हुनाले खेतीपातीको विनास एवं मानव जीवनमा क्षति हुने गरेको तथा जीवजन्तुका जीवनशैलीमा हुने परिवर्तनले मानव समुदायमाथि खतरा उत्पन्न हुने गरेको पाइएको छ ।”
जलवायु परिवर्तले अनेकौं सम्सया ल्याउँदा भविष्यमा बाँकी प्रजातिहरू पनि लोप हुने खतरा देखिएको प्रतिवेदनमा जनाइएको छ । यसले मानव समुदायमाथि नै गम्भिर चुनौती सिर्जना गरेको ठहर प्रतिवेदनमा गरिएको छ ।
हिमालय क्षेत्रका धेरै समुदायहरू आफ्नो जीविकोपार्जनका लागि पर्वतारोहण, कृषि र प्राकृतिक स्रोतहरूमा निर्भर छन् । जलवायु परिवर्तनको असरका कारण पूर्वानुमान नै गर्न नसिकिने किसिमका प्राकृतिक प्रकोपहरूको सिर्जना हुने गरेकाले माथिल्लो भेगका वासिन्दाको प्रमुख पेशा पर्वतारोहणमा चुनौती सिर्जना हुन थालेको छ ।
“जलवायु परिवर्तनले बाली उत्पादन, सिँचाइका लागि पानीको उपलब्धता र परम्परागत जीविकोपार्जनको समग्र दिगोपनलाई असर गर्न थालेकोले विगतको परम्परागत जीवन निर्वाह प्रणालीमा गम्भीर चुनौती सिर्जना हुन थालेको पाइएको छ,” प्रतिवेदनमा भनिएको छ ।
जलवायु परिवर्तनले कृषि प्रणाली, पानीको उपलब्धता र परम्परागत जीविकोपार्जनको समग्र दिगोपनमा गम्भीर असर गरेको ठहर समितिको छ ।
जलावयु परिवर्तनको असरका कारण वातावरणमा असन्तुलनको अवस्था, हिमालहरू काला पत्थरमा परिणत, हिमालको पग्लाईले तल्लो तटीय क्षेत्रका वस्तीको अस्तित्वमाथि खतराको अवस्था सिर्जना गरेको छ ।
“मानव र इकोसिस्टम दुवैलाई असर गरी गम्भीर चुनौती सिर्जना भएकाले नेपालमा जलवायु परिवर्तनले ल्याएका असरको अध्ययन गरी त्यस्ता असरलाई न्यूनीकरण गर्ने उपायहरूको अबलम्वन गर्ने,” प्रतिवेदनमा सुझाइएको छ ।
प्रकृतिको संरक्षण गर्ने उद्देश्यले नेपालमा २२ वटा संरक्षित क्षेत्रहरू स्थापना भएका छन् । जसमध्ये १२ वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षित क्षेत्र, २ वटा आरक्ष र २ वटा प्राणी उद्यान छन् ।
देशमा रहेका २२ वटा संरक्षित क्षेत्रमध्ये समितिले कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको अध्ययन गरेको थियो ।
समितिले पहिलो चरणमा २०८० असोज १९ र २० गते कोशी टप्पु वन्यजन्तु आरक्ष, दोस्रो चरणमा गत कात्तिक ३ देखि ७ गतेसम्म सोलुखुम्बुमा अवस्थित उच्च हिमाली भेगमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज, तेस्रो चरणमा गत मंसिर १५ देखि १७ सम्म चितवन राष्ट्रिय निकुञ्ज र गत पुस २४ गते शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन गरेको थियो ।
अध्ययनको उदेश्य राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूको वस्तुगत अवस्थाबारे जानकारी लिने, मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्थाबारे जानकारी लिने र संरक्षित क्षेत्रका समस्या र द्वन्द्व व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि सुझाव दिने रहेको थियो ।
२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज युनेस्कोमा सूचीकृत नेपालको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्र विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा र यसको अद्धितीय पर्वतीय पारिस्थितिकी प्रणालीका लागि प्रख्यात छ । यो क्षेत्रमा ७ हजार १६१ जनसंख्या रहेको प्रतिवेदनमा उल्लेख छ ।